+
+

ब्याज आम्दानी वृद्धिसँगै बढ्यो सिद्धार्थ बैंकको नाफा

पूँजी बढ्दा नाफा बढेपनि बढेन प्रतिसेयर आम्दानी

गत आर्थिक वर्ष २०७८/७९ मा सिद्धार्थ बैंकले ३ अर्ब रुपैयाँभन्दा बढी मुनाफा आर्जन गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १८ गते १४:१९

१८ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा सिद्धार्थ बैंकले ३ अर्ब रुपैयाँभन्दा बढी मुनाफा आर्जन गरेको छ । खुद ब्याज आम्दनी वृद्धिसँगै र सम्भावित कर्जा जोखिम वापतको प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) घट्दा बैंकको नाफा उल्लेख्य रुपमा बढेको छ ।

बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार तीन अर्ब २१ करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा दुई अर्ब ८५ करोड ८५ लाख नाफा कमाएको बैंकको नाफा गत आर्थिक वर्षमा १२.७८ प्रतिशतले नाफा बढेको हो ।

गत आर्थिक वर्षमा खुद ब्याज आम्दानी २७.७३ प्रतिशतले बढाएर सात अर्ब तीन करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी पाँच अर्ब ५१ करोड दुई लाख रहेको थियो ।

गत आर्थिक वर्षमा बैंकको निक्षेपमा ५.८७ प्रतिशतले वृद्धि भएर एक खर्ब ९१ अर्ब ५५ करोड ६ लाख पुग्दा कर्जा १२.७२ प्रतिशतले बढेर एक खर्ब ७८ अर्ब ७५ करोड ४३ लाख पुगेको छ । व्यवसायमा सामान्य वृद्धि हुँदा पनि कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड दर) बढाउँदा खुद ब्याज आम्दानी बढेको हो ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ३.७ प्रतिशत रहेको बैंकको स्प्रेड रेट बढेर आर्थिक वर्ष २०७८/७९ मा ४.३७ प्रतिशत पुगेको छ । जसले बैंकको खुद ब्याज आम्दानी बढेको छ ।

यस्तै बैंकले गत आर्थिक वर्षमा सम्भावित कर्जा नोक्सानी वापतको प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) घटेको छ । अघिल्लो आर्थिक वर्षमा ७९ करोड ३१ लाख प्रोभिजन गरेको बैंकले गत आर्थिक वर्षमा ४४ करोड ६९ लाख मात्रै प्रोभिजन गरेको छ । खुद ब्याज आम्दानी बढेको र प्रोभिजन घट्दा बैंकको कर्मचारी खर्च बढेपनि नाफा बढेको हो ।

बैकको कर्मचारी खर्च दुई अर्ब ३६ करोड ८२ लाखबाट बढेर दुई अर्ब ७२ करोड ३७ लाख पुगेको छ । बैंकको सञ्चालन मुनाफा १३.१६ प्रतिशतले वृद्धि भएर चार अर्ब ७१ करोड ५० लाख पुगेको छ । अघिल्लो आर्थिक वर्ष ०७७/७८ मा बैंकले ४ अर्ब १६ करोड ६७ लाख सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

नाफा बढेपनि गत आर्थिक वर्षमा बोनस सेयर मार्फत पूँजी बढाउँदा बैंकको प्रतिसेयर आम्दानी र नेटवर्थ घटेको छ । अघिल्लो आर्थिक वर्षमा २५ रुपैयाँ ८७ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी गत आर्थिक वर्षमा २५ रुपैयाँ ७१ पैसामा झरेको छ ।

यस्तै बैंकको प्रतिसेयर नेटवर्थ भने १८६ रुपैयाँ ११ पैसाबाट घटेर १७४ रुपैयाँ ९८ पैसामा झरेको छ । अघिल्लो आर्थिक वर्षमा १० अर्ब ९६ करोड २३ लाख चुक्ता पूँजी रहेको बैंकको गत आर्थिक वर्षमा बोनस सेयर मार्फत चुक्ता पूँजी १२ अर्ब ५२ करोड ४४ लाख रुपैयाँ पुर्‍याएको छ ।

यस्तै बैंकको आधार ब्याजदर (बेस रेट) ७.१६ प्रतिशतबाट बढेर ९.४५ प्रतिशत पुगेको छ । निष्क्रिय कर्जा १ प्रतिशतबाट बढेर १.०३ प्रतिशत पुगेको छ । यस्तै पूँजी कोष अनुपात १३.३६ प्रतिशतबाट घटेर १३.१३ प्रतिशत कायम भएको छ ।

कर्जा–निक्षेप अनुपात ८७.२१ प्रतिशत रहेको बैंकले गत आर्थिक वर्षमा सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा भने दुई अर्ब १० करोड ६८ लाख रुपैयाँ रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?