+
+

क्रिकेट केन्याका अध्यक्ष भन्छन् : दुई देशको सम्बन्ध बनाउन चाहन्छौँ

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ साउन १९ गते १७:३१

१९ साउन, काठमाडौं । यही अगष्ट अन्तिम साता नेपाल र केन्याबीच दुईपक्षीय क्रिकेट शृंखलाको मिति पक्का गर्न क्रिकेट केन्या बोर्डका अध्यक्ष मनोज पटेल नेपालमा छन् ।

क्रिकेट केन्याले नेपाली क्रिकेट टिमलाई बोलाएर घरेलु मैदानमा दुईपक्षीय शृंखला खेल्न लागेको हो ।

नेपाल क्रिकेट संघ क्यानसँग छलफलका लागि काठमाडौँ आइपुगेका क्रिकेट केन्याका अध्यक्ष पटेलले क्रिकेट मार्फत दुई देशको सम्बन्ध विस्तार गर्न चाहेको बताए ।

कुनै समय नियमित विश्वकप खेल्ने र टेष्ट राष्ट्रलाई समेत हराउने केन्या क्रिकेट अहिले धेरै तल छ । तर केही समयअघि अध्यक्ष निर्वाचित भएका पटेलले केन्या क्रिकेटको विकास गर्नका लागि योजना सहित अघि बढेका छन् । त्यसकै तयारी स्वरुप पनि केन्याले नेपाललाई आतिथ्यता प्रदान गर्न लागेको हो ।

‘क्रिकेटमार्फत नेपाल र क्रिकेटको सम्बन्ध बनाउन चाहन्छौँ,’  बिहीबार अनलाइनखबरसँगको कुराकानीमा पटेलले भने । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको साधारण सभाका बेला बर्मिङघहममा क्यानका अध्यक्ष चतुरबहादुर चन्दसहितको टोलीसँग भेट्ने तय भए पनि व्यस्तताका कारण आफू त्यहाँ जान नसकेकोले भेटका लागि नेपाल आएको पटेलले बताए ।

उनले नेपाली क्रिकेटको व्यवस्त क्रिकेट तालिका रहेकोले क्यानसँग छलफल गरेर दुई पक्षीय शृंखलाको मिति तय गर्ने जानकारी दिए । उनले भने, ‘हामी दुईपक्षीय शृंखलाको तयारीमा छौँ । सकरात्मक रुपमा कुरा अघि बढिरहेको छ । भोलिसम्म तय हुन्छ होला ।’

अगष्ट तेस्रो साता नेपालले केन्या भ्रमण गर्ने सम्भावना देखिएको छ ।

पटेलले सन् २००२ को यू-१९ विश्वकपका बेला नेपाली खेलाडीहरुसँग भेट भएको र नेपाल भारतको छिमेकी पनि भएकोले नेपाली टिम शृंखलाको लागि छनोट गरेको बताए ।

नेपालको केन्या भ्रमणको सम्पूर्ण खर्च क्रिकेट केन्याले नै बेहोर्ने अध्यक्ष पटेलले बताए । त्यसका लागि स्पोनसर खोजिसकेको उनले जानकारी दिए ।

नेपाल र केन्याबीच पाँच टी-२० आई र तीन एकदिवशीय खेल खेल्ने प्रस्ताव छ । क्यानसँग छलफल गरेपछि मिति र खेल संख्या तय हुने उनले बताए ।

केन्या क्रिकेट छिटै राम्रो हुन्छ

पटेलले राम्रो इतिहास रहेको केन्या क्रिकेट पुरानै लयमा फर्कने विश्वास पनि व्यक्त गरे । ‘नेपालको क्रिकेट अहिले केन्या भन्दा अगाडि छ । केन्याको इतिहास राम्रो छ । ५ पटक विश्वकप खेलेको छ । दुर्भाग्यवश अहिले त्यस्तो छैन । यो नै क्रिकेट हो । उतारचढाव भइराछ ।’

सन् २००३ को एकदिवशीय विश्वकपमा केन्या सेमिफाइनलसम्म पुगेको थियो । ‘केन्या छिटै बाउन्स ब्याक गर्छ र हाम्रोमा ट्यालेन्ट छ । त्यसैले राम्रो गर्ने आशा छ’ पटेलले भने, ‘अहिले हाम्रो ग्रासरुट राम्रो छ । धेरै देशमा यो छैन । केही वर्षपछि नै केन्या क्रिकेट माथि आउने अपेक्षा छ ।’

२००३ को विश्वकपमा केन्याले टेष्ट राष्ट्रहरुलाई हराएर शनसनी मच्चाउँदै सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो । तर सेमिफाइनलमा भारतसँग पराजित भयो ।

सन् २००० को दशकमा खेलेका केन्याका लेजेण्ड खेलाडीले एकैपटक खेल्न छाड्दा समस्या भएको पटेललको बुझाइ छ । ‘हाम्रो लेजेण्डहरुले एकै पटक खेल्न छाडे । ६-७ जना एकै पटक रिटायर भएपछि त्यसको रिप्लेसमेन्ट चाहियो । जुन भएन । भारतमा धोनी रिटायर हुँदा अन्य खेलाडी आए । हाम्रोमा त्यो भएन, अनी क्रिकेट डाउन भयो,’  पटेलले केन्या क्रिकेट ओरालो लाग्नुको तर्क दिए, ‘अहिले राम्रो के छ भने ती लेजेण्डहरु बोर्डमा छन् । जुन राम्रो कुरा हो ।’

केन्याको ग्रासरुट देखि क्रिकेट संरचना राम्रो पटेलले बताए । ‘अहिले हाम्रो क्रिकेट संरचना राम्रो छ । ‍हामी भाग्यमानी छौँ कि दक्षिण अफ्रिका बाहेक अप्रिकामा हाम्रो क्रिकेट संरचना छ । जिम्बावे भन्दा पनि राम्रो छ । चार अन्तर्राष्ट्रिय स्टेडियम छ । अरु लोकल ग्राउण्डहरु छन् ।’

केन्या सन् २०१७ मा आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपको दुई खेल खेल्न नेपाल आएको थियो ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?