+
+

औसतमा दैनिक पर्यटक आगमन साढे १३ सय

नेपालमा पर्यटक आगमन औसतमा दैनिक साढे १३ सय बढी पुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १९ गते १९:३६
फाइल तस्वीर

१९ साउन, काठमाडौं । नेपालमा पर्यटक आगमन औसतमा दैनिक साढे १३ सय बढी पुगेको छ । कोभिड–१९ महामारीका कारण लगातार दुई वर्ष (सन् २०२० र २०२१ ) झन्डै शून्यमा झरेको पर्यटक आगमन सन् २०२२ पछि भने सुधारोन्मुख रहेको छ ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेकाअनुसार जुलाई २०२२ मा ४४ हजार ४६२ जना पर्यटक नेपाल आएका छन् । यससहित सन् २०२२ को ७ महिनाको अवधिमा कुल २ लाख ८५ हजार ३६३ जना पर्यटक नेपाल आएका छन् । यो तथ्यांक अनुसार दैनिक पर्यटक आगमन औसतमा १,३५९ जना पुगेको हो ।

कोरोना महामारी आउनु अगाडि सन् २०१९ को ७ महिनाको अवधिमा ६ लाख १२ हजार ७६४ जना पर्यटक आएका थिए । सो तथ्यांक अनुसार उक्त वर्ष दैनिक पर्यटक आगमन औसतमा २,९१८ थियो । यसले कोभिडबाट प्रभावित पर्यटन क्रमशः सुधारको बाटोमा देखिएको छ ।

भारतीय पर्यटकका कारण अफसिजनमै उत्साह

वर्षायामको समयलाई नेपालमा पर्यटनको अफसिजन मानिन्छ । तर भारतीय पर्यटकको आगमनले यस सिजनमै पर्यटनमा उत्साह थपेको छ । जुलाई २०२२ को एक महिनामा भित्रिएका कुल ४४ हजार ४६२ मध्ये ३८.९ प्रतिशत भारतीय छन् । अर्थात एक महिनामा १७ हजार २९९ जना भारतीय पर्यटक नेपाल आएका छन् ।

नेपालले हवाईमार्गबाट आएका भारतीयहरुलाई मात्र पर्यटक मान्छ । सन् २०१९ को जुलाईमा कुल ५८ हजार ८११ जना पर्यटक आएका थिए ।

बढ्न थाले चिनियाँ पर्यटक

कोभिड-१९ महामारीपछि चीन सरकारले आफ्ना नागरिकलाई समेत विदेश भ्रमणमा कडाइ गरेको थियो । तर, पछिल्लो समय यस्तो कडाइ खुकुलो बन्दै गएपछि चिनियाँ पर्यटकको समेत आगमन बढ्न थालेको छ ।

जुलाईमा मात्र चीनबाट १५ सय ९३ जना पर्यटक आएका छन् । यो कोभिड-१९ यता एक महिनामा आएका चिनियाँ नागरिकको सबैभन्दा ठूलो संख्या हो । यद्दपि यो संख्या साविकको जत्ति भने होइन ।

सन् २०१९ मा जुलाईमा १० हजार ८०८ जना चिनियाँ नागरिक आएका थिए । जुलाईमा भारतीयपछि अमेरिकाबाट बढी पयर्टक आएका छन् । अमेरिकाबाट मात्र ५ हजार २२८ जना पर्यटक यस महिनामा नेपाल आएका छन् ।

सन् २०२२ जुलाईमा बढी पर्यटक आएका ५ मुलुक

  • भारत : १७ हजार २९९
  • अमेरिका : ५ हजार २२८
  • बेलायत : ३ हजार ९५३
  • बंगलादेश : १ हजार ८७४
  • चीन : १ हजार ५९३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?