+
+

‘पटक–पटक पीडा पोखें, रोएँ; तर केही पाइनँ’

सत्य निरुपण तथा मेलमिलाप आयोगमा पटक–पटक आफ्नो पीडा पोखें, रोएँ । उनीहरूले छिट्टै न्याय दिन्छौं भनेर टारिरहे । अहिलेसम्म उपचारका लागि ४० हजार रुपैयाँ बाहेक मैले अरू केही पाइनँ ।

हरिराम रैदास, द्वन्द्वकालका यातना पीडित हरिराम रैदास, द्वन्द्वकालका यातना पीडित
२०७९ साउन २३ गते ९:२२

म त्यतिबेला जनप्रतिनिधि थिएँ । तत्कालीन डुरुवा गाविस वडा नं. १ को वडा सदस्य । २०५४ सालदेखि नै माओवादीहरू राजिनामा दिनुपर्‍यो भनेर धम्क्याउन आइरहन्थे । मैले गल्ती काम गरेको छैन, किन राजिनामा दिने भनेर टारिरहें । बेला–बेला माओवादीहरू घरमै आएर धम्क्याउने गरिरहन्थे । मलाई उनीहरूसँग केही लिनु पनि थिएन ।

यो क्रम रोकिएन । २० भदौ २०५७ को कुरा हो, साँझको समय थियो । म घरको भान्साकोठामा थिएँ । केही माओवादीहरू घरमै आएर मलाई बाहिर निकाले । घरदेखि केही तल लगेर ममाथि हातपात गर्न खोजे । मैले किन यस्तो गरेको भनेर प्रतिवाद गरें । उनीहरू मलाई कुट्न थाले, म एक्लो मान्छे के गर्न सक्थें ? ममाथि बन्दुकको कुन्दा र लात्तीहरू बज्रिन थाले । मैले धेरै रोईकराई गरें, बिन्ती भाउँ बिसाएँ तर उनीहरू मानेनन् । मलाई मरणासन्न हुने गरी कुटिरहे । कुट्दा कुट्दै उनीहरू मरेको छ कि छैन भनेर हेर्थे र फेरि कुट्थे ।

त्यसदिन मलाई कुट्ने मात्र काम गरेनन्, चरम यातना पनि दिए । त्यो सम्झँदा अहिले पनि शरीर जिरिङ्ग हुन्छ । उनीहरूले मेरो दाहिने खुट्टा ढुंगामाथि राखेर माथिबाट ढुंगाले नै बजारिदिए । त्यसपछि म बेहोश भएर पल्टिएछु । मलाई मर्‍यो भनेर उनीहरूले छोडेका रहेछन् ।

त्यसको केही दिनसम्म मेरो होश आएन । होश खुल्दा म अर्धमूर्छित अवस्थामा थिएँ । दाहिने खुट्टा सुन्निएर ठूलो भएको थियो । सहनै नसक्ने गरी दुखिरहेको थियो । त्यसको तीन महिनासम्म त म हलनचल भएँ । ओछ्यानमै दिसा, पिसाब गर्थें । बाहिर जाँदा पनि अरूको सहारा चाहिने भयो । दुई वर्षसम्म म अरूको सहाराले मात्र हिंड्न सक्ने भएँ ।

त्यो घटनाका कारण मैले धेरै नै दुःख पाएँ । खुट्टामा लागेको चोटले जिन्दगीभर निको नहुने घाउ भयो । केही वर्ष त म पागल जस्तै भएँ । मनमा के–के कुरा सोचेरै बस्थें । टेन्सन धेरै हुन्थ्यो । एउटा संस्थाले मनोपरामर्श पनि दियो । त्यसले केही सञ्चो भयो तर घाउ जस्ताको तस्तै थियो ।

पैसा जति उपचार गर्दागर्दै सकियो । अहिलेसम्म दुई कट्ठा पाँच धुर जग्गा उपचारमा सकियो । अहिले पनि नियमित औषधि खाइराख्नुपर्छ । महिना–दुई महिनामा नेपालगञ्ज जानुपर्छ । एकपटक जाँदा ७/८ हजार रुपैयाँसम्म खर्च हुन्छ ।

द्वन्द्वकाल सकिए पनि मेरा दुःख सकिएनन्, झन् बढे । त्यो घटना सम्झेर म बिरामी भइरहन्थें । पछि सत्य निरुपण तथा मेलमिलाप आयोगमा निवेदन दिएँ । मलाई त्यसरी यातना दिने गाउँकै माओवादी कमाण्डर प्रसु चौधरी विरुद्ध पनि उजुरी दिएँ ।

त्यसपछि म न्याय पाइन्छ भन्ने आशले धेरै वर्ष भौंतारिएँ । आयोगले कार्यक्रममा बोलाउँथ्यो, त्यहाँ जान्थें । कति पटक मैले आफ्नो पीडा उनीहरूसामु पोखें, रोएँ । उनीहरूले छिट्टै न्याय दिन्छौं भन्दै टारिरहे । यतिका वर्ष बितिसक्यो । उपचारका लागि ४० हजार रुपैयाँ बाहेक मैले अरू केही पाइनँ ।

त्यही घटनाले आज पनि मेरो शरीर सद्दे छैन । खुट्टाको यो घाउ हरबखत चहराइरहन्छ । धेरै चिसो र गर्मीमा खुट्टा सुन्निएर ठूलो हुन्छ । पीडा सहनै नसक्ने हुन्छ । तर घाउभन्दा मलाई यातना दिने व्यक्ति खुलेआम हिंडेको देख्दा धेरै पीडा हुन्छ ।

ऊ अहिले पनि मेरा अघि निर्धक्क हिंड्छ । आफूमाथि अन्याय गर्ने मान्छेले उन्मुक्ति पाएको देख्दा मन एकदमै पोल्छ । यही कुराले गर्दा पनि म डिप्रेसनको शिकार भएँ । यतिका वर्ष भइसक्यो दोषीलाई अहिलेसम्म कारबाही किन भएन भनेर चिन्ता गरेर बस्छु ।

यो देशमा सरकार छ कि छैन ? छ भने मेरो दुःख किन देख्दैन ? किन सुन्दैन ? मलाई अरू केही चाहिएको छैन, मलाई यातना दिने दोषीलाई सजाय हुनुपर्‍यो । र, मैले उपचार खर्च पाउनुपर्‍यो। जुन दिन दोषीलाई सरकारले जेल पठाउँछ, त्यो दिन मैले न्याय पाएको ठान्नेछु ।

(द्वन्द्वकालमा माओवादी कार्यकर्ताबाट यातना पाएका दाङ तुलसीपुरका हरिराम रैदाससँग अनलाइनखबरकर्मी आभास बुढाथोकीले गरेको कुराकानीमा आधारित ।)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?