+
+

डीएसपी बढुवाविरुद्ध सर्वोच्च पुगे इन्स्पेक्टर भारती

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २३ गते १९:२३
फाइल तस्वीर

२३ साउन, काठमाडौं । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायब उपरीक्षक (डीएसपी) बढुवाविरुद्ध एकजना दाबेदार सर्वोच्च अदालत पुगेका छन् ।

डीएसपी बढुवाका आकांक्षी विशाल भारती बढुवा सिफारिसविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् । सोमबार न्यायाधीश नहकुल सुवेदीको इजलासले उनको रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । साथै, अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले २ असोजमा नेपाल प्रहरीका ३४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा गर्ने निर्णय गरेको थियो । थप १४ सिट रिक्त हुँदा हुँदा आफूलगायतलाई छुटाएको भन्दै भारती सर्वोच्च अदालत गुहारेका हुन् ।

भारतीले अदालतमा दिएको रिट निवेदनमा आफूलाई छुटाएर जुनियर प्रहरी निरीक्षकहरुलाई बढुवा दिइएको भनिएको छ । निवेदन अनुसार हाल बढुवा भएकामध्ये ६ जना मात्रै उनीभन्दा पुरानो ब्याचका हुन्, बाँकी २७ जना ६ साउन २०७० मा प्रहरी निरीक्षक भएकाहरु हुन् ।

प्रहरी सेवा असईबाट २६ चैत २०४९ मा प्रवेश गरेका भारती २६ वैशाख २०७० मा प्रहरी निरीक्षक बढुवा भएका थिए । ‘मेरो रिट बढुवा भएका अधिकृतविरुद्ध होइन, सिट खाली हुँदा हुँदै हामीलाई किन बढुवा गरिएन भनेर हो,’ भारतीले अनलाइनखबरसँग भने ।

भारतीले यसअघि बढुवाविरुद्ध उजुरी सुन्ने समितिमा पनि निवेदन दिएका थिए । तर गृहसचिवको अध्यक्षतामा हुने समितिले उनलाई कुनै जवाफ दिएन ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको सचिवालय स्रोतले चाहिँ उनको शैक्षिक योग्यता आईए पास मात्र भएकाले बढुवा नदिइएको बताएको छ । यद्यपि प्रहरी नियमावलीमा आन्तरिक बढुवाका लागि शैक्षिक योग्यताको कुनै बाधा नभएको भारतीको जिकिर छ ।

‘कानूनमै व्यवस्था भएको भए फरक कुरा हुन्थ्यो, तर पढाइवापत एमए पासलाई १०, बीएलाई ८ र आईएलाई ६ अंक दिने प्रावधान छ’ भारतीको जिकिर छ, ‘त्यही अंक अनुसार गर्दा पनि ज्येष्ठता लगायतका कारण म बढुवाको स्वभाविक दाबेदार थिएँ ।’

उनले पढाइका कारण बढुवा दिन नमिल्ने भएको भए नियमावली नै संशोधन गरेर निर्णय हुनुपर्ने आफ्नो जिकिर भएको तर्क गरेका छन् । ‘म बढुवा भइन भनेर होइन, विधिमा चल्नुपर्छ भनेर चाहिँ रिट निवेदन दिएको हुँ’ भारती भन्छन् । प्रहरी निरीक्षकमा ८ वर्ष सेवा गरिसकेका अधिकृतलाई अवकाश अघि एकतह बढुवा गर्ने प्रावधान छ । त्यही प्रावधान अनुसार भारती अवकाश अघि डीएसपी भएरै घर जानेछन् ।

अहिल्यै बढुवा भएका भए उनले २६ चैत २०७९ मा ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउने थिए भने अहिले बढुवा नभएको अवस्थामा उनले प्रहरी निरीक्षकको ५३ वर्षे उमेर हदका कारण २६ कात्तिकमा अवकाश पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?