+
+
WC Series
लुम्बिनी लायन्स 2025
25/1 (3.6)
VS
९६ बलमा १०८ रन आवश्यक
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

तिलावे पुलमा पप्पु : काम गर्न पछाडि, जस लिन अगाडि

सुरेश बिडारी सुरेश बिडारी
२०७९ साउन २४ गते २०:१०

२४ साउन, वीरगञ्ज । २२ साउन आइतबार पर्सा क्षेत्र नं. ३ का निलम्बित सांसद हरिनारायण रौनियारले तिलावे पुलको फोटो सामाजिक सञ्जालमा पोष्ट गरे ।

‘वीरगञ्ज ठोरी हुलाकी मार्ग अन्तर्गत पर्साको तिलावे नदीमा पुल स्थलगत अवलोकन’, फोटोसँगै उनले लेखेका छन्, ‘पुल सञ्चालनमा आएपछि पर्साको ग्रामीण क्षेत्र र वीरगञ्जको आवागमन सहज हुनेछ ।’

रौनियार पप्पु कन्स्ट्रक्सनका मालिक हुन् । छोरा सुमित रौनियारलाई कन्स्ट्रक्सनको जिम्मेवारी दिएर आफू पूर्णकालीन राजनीतिमा लागेको उनी बताउँछन् । हालसालै जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समिति सदस्यमा चयन भएका उनी ०७४ को प्रतिनिधिसभा निर्वाचनमा पर्सा– ३ बाट प्रत्यक्ष निर्वाचित भए पनि भ्रष्टाचार मुद्दा लागेपछि निलम्बनमा परेका हुन् ।

पप्पु कन्स्ट्रक्सनकै कारण पुल समयमा नबन्दा पर्साको ग्रामीण क्षेत्रका बासिन्दा वर्षौदेखि सास्ती खेपे । १ सय मिटर लामो र ७ मिटर चौडाइ भएको तिलावे पुल निर्माणको जिम्मा पप्पु कन्स्ट्रक्सन र लुम्बिनी कन्स्ट्रक्सनले संयुक्त रुपमा (जेभी) २०७३ असारमा ७ करोड ५० लाख रुपैयाँमा जिम्मा लिएको थियो ।

सम्झौता अनुसार २०७५ जेठ २४ गते सम्ममा पुल तयार हुनुपर्ने थियो । ठेक्का जेभीको नाममा परेपनि सुरुवाती काम पप्पु कन्स्ट्रक्सन एक्लैले गरेको थियो । पप्पुले ठेक्का सम्झौता भएको साढे तीन वर्षमा पुलको पिलरको फाउन्डेसन मात्रै तयार गरेको थियो ।

०७५ फागुन ३ गते हुलाकी सडक र तिलावे पुलको स्थलगत निरीक्षण गरेकी संघीय संसदको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले पप्पु कन्स्ट्रक्सनको काम सन्तोषजनक नभएको प्रतिक्रिया दिएकी थिइन् ।

मंसिर ४ गते संघ र प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा भइसकेको छ । निलम्बित सांसद रौनियार पुल निर्माणको जस लिने हतारोमा छन् । ‘२/३ दिनभित्र पुल सञ्चालनमा आउँछ, निकट भविष्यमा नै उद्घाटन गर्ने कार्यक्रम छ’, उनले फेसबुकमा लेखेका छन् ।

पुलमा तस्वीर खिचाउँदै हरिनारायण रौनियार (सेतो गम्छामा) ।

तिलावेमा बनेको पुरानो पुल साँघुरो छ । नयाँ पुल बनाउन ठेकेदार कम्पनीले ढिला सुस्ती गरिदिएका कारण सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । गत वर्ष तिलावे पुल निर्माण संघर्ष समिति नै गठन गरेर झण्डै एक महिना आन्दोलन नै गरेका थिए ।

आन्दोलनको नेतृत्वकर्ता राकेश यादव निलम्बित सांसद रौनियारले फट्याईं गरेको बताउँछन् । ‘तिलावे पुलकै अलि अलि भएको गुडविल पनि खत्तम भएको छ । अहिले चुनावी स्टन्ट देखाएर पानी दिन खोज्दै हुनुहुन्छ’, उनले भने, ‘पहिला पुल बनाउन अघि नसर्ने, अहिले जस लिन अघि सर्नु फट्याईं हो ।’

पछिल्लो एक वर्षमा पुल निर्माणमा हालसम्मकै सर्वाधिक काम भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जले जनाएको छ ।

योजना प्रमुख दारोगा प्रसादले पप्पु–लुम्बिनी जेभीले यो आर्थिक वर्षमा राम्रो काम गरेको बताए । ‘डिजाइन एण्ड विल्डको ठेक्का थियो, डिजाइन स्वीकृत हुन समय लाग्यो, जेभीभित्र आन्तरिक विवाद देखियो, अनि कोरोना महामारीले पनि पुलको काम प्रभावित भयो’, उनले भने, ‘तर यो वर्ष प्रशंसनीय काम भएको छ । एप्रोच सडक र नदी नियन्त्रणको काम मात्रै बाँकी छ ।’

पप्पु कन्स्ट्रक्सनका निर्देशक सुमित रौनियारले डिजाइन स्वीकृत गर्न नै साढे ३ वर्ष लगाएका कारण सुरुमा कामले गति नलिएको प्रतिक्रिया दिए ।

पुल निर्माणको काम ८५ प्रतिशत सकिएको छ र कार्यालयका सूचना अधिकारी इन्जिनियर दुर्गा मण्डलका अनुसार ५ करोड ३३ लाख रुपैयाँ भुक्तानी भइसकेको छ ।

वर्षायाममा नदी नियन्त्रण र एप्रोच सडकको काम गर्न समस्या हुने भएकोले निर्माण कम्पनीले कात्तिकसम्मको म्याद मागेको छ । योजना कार्यालयले पुनः म्याद थपको प्रक्रिया अघि बढाइसकेको छ ।

काम नसकी उद्घाटनको तयारी

पुल उद्घाटन गर्न साउन २८ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राई आउने तय भएको योजना कार्यालयका प्रमुख दरोगा प्रसादले बताए । अलि अलि काम बाँकी भएपनि उद्घाटन गरेर सञ्चालनमा ल्याउने तयारी भइरहेको उनको भनाइ छ ।

‘तिलावेमा पुरानो पुल साँघुरो छ, जहिले पनि जाम भएको गुनासो आउँछ । वर्षायाममा डाइभर्सन पनि प्रभावकारी नहुन सक्छ’, उनले भने ‘आम जनमानसको चाहना जति छिटो सकिन्छ, त्यति छिटो सञ्चालनमा ल्याउन पाए हुन्थ्यो भन्ने छ ।’
तिलावे पुल निर्माण संघर्ष समितिका संयोजक यादव भने चुनावलाई लक्षित गरी पुल पुरा नहुँदै उद्घाटन गर्न खोजिएको बताउँछन् ।

‘काम सम्पन्न नभई उद्घाटन गर्न खोज्नु चुनावी स्टन्ट हो’, उनले भने, ‘स्थानीय स्तरबाट यसको विरोध हुन सक्छ ।’

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?