+
+

पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई चराको चुनौती

‘विमानस्थल र ल्याण्डफिल साइटमा बासस्थान बनाएका चरा सार्न कम्तिमा पनि वर्ष दिन लाग्छ, नत्र अन्तर्राष्ट्रियस्तरमै उडानका लागि असुरक्षित मानिन्छ ।’

अमृत सुवेदी अमृत सुवेदी
२०७९ साउन २५ गते १९:४९

२५ साउन, पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको ल्याण्डफिल लाइट सार्न पोखरा महानगरलाई पत्राचार गरेकै ४ वर्ष नाघिसक्यो ।

१ वैशाख २०७३ सालमा शिलान्यास भएर २७ असार २०७४ बाट काम थालिएको विमानस्थलका लागि २०७५ सालबाटै ल्याण्डफिलको विकल्प खोज्न पत्राचार गरिएको भए पनि पोखरा महानगर असक्षम बन्यो ।

अहिले विमास्थलको निर्माण सकिएर १ जनवरी २०२३ मा उडान भर्ने मिति तय भइसकेको छ । तर, ल्याण्डफिल साइटको समस्या यथावतै छ र कहाँ बन्ने भन्ने टुंगोसमेत छैन ।

नागरिक उड्डयन प्राधिकरणले व्यावसायिक उडानको तय गरेको मिति आउन अब ५ महिना पनि बाँकी छैन । तर, गण्डकी प्रदेश सरकारका पर्यटनमन्त्री मणिभद्र शर्मा भन्छन्, ‘हतारमा व्यावसायिक उडानको मिति तोकियो, म त्यो सम्भावना नै देख्दिनँ ।’

चराको चुनौती

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले गत चैत १८ गते नेपालका परराष्ट्रमन्त्री नारायण खड्कालाई साँचो हस्तान्तरण गर्दा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका मुख्य ४ समस्या थिए । पहिलो त ल्याण्डफिलकै समस्या थियो भने अर्को विमानस्थलको पूर्वपट्टीको रिठ्ठेपानीको डाँडा काट्नुपर्ने भए पनि सुरुवात भएकै थिएन ।

विमानस्थलका लागि चाहिने इन्धनका लागि डिपो निर्माण भएकै थिएन भने फूलबारी, सितलादेवीदेखि विमानस्थलसम्मै आउने ढल व्यवस्थापन र रक्षा तथा गृह मन्त्रालयका सुरक्षा निकाय बस्ने भवनसमेत बनेको थिएन । अहिलेसम्म ती कुनै पनि समस्याको समाधान भइसकेको छैन । केही समस्या उडान हुनुअघिसम्म सक्ने लक्ष्य राखेर मिति तोकिएको छ भने केही अस्थायी समाधान खोजेर जाने योजनासहित अगाडि बढिएको छ ।

विमानस्थल सञ्चालन गर्न ५ महिनामात्र बाँकी हुँदा पोखरा महानगरपालिकाले अस्थायी रुपमै भए पनि ल्याण्डफिलको विकल्प खोज्ने बताएको छ । तर, गण्डकी प्रदेश सरकारकै पर्यटनमन्त्री शर्मा विमानस्थल सञ्चालनमा ल्याउन तोकिएको मितिभन्दा अगावै ल्याण्डफिलको व्यवस्थापन भइसकेछ भने पनि चरालाई त्यहाँबाट हटाउन नसकिने बताउँछन् । मन्त्री शर्मासँग सहमत छन्, पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरे ।

अहिलेको ल्याण्डफिल हटाए पनि त्यहाँ चराहरु नआउने बनाउन कम्तिमा १ वर्ष लाग्ने बताउँछन् । ‘गिद्ध, चिल, लगायत थुप्रै चराहरुको बासस्थान हो, ल्याण्डफिल । मानौं अबको ३ महिनाभित्र ल्याण्डफिलको व्यवस्था भइहालेछ भने पनि बाँकी समयमा चरालाई अन्यत्र बासस्थान सार्ने बनाउन सकिँदैन,’ घिमिरे भन्छन्, ‘अहिले थुप्रै चराहरुको मुख्य खान र बस्न मिल्ने क्षेत्र त्यही हो । त्यस क्षेत्रमै चराहरुले गुँड लगाएका छन् । त्यहाँबाट चराहरुलाई अन्यत्र फर्काउन ४/५ महिनामा सम्भव छैन ।’

विमानस्थलको उत्तरपूर्व विजयपुर खोला क्षेत्र पनि गिद्ध र चिलको बासस्थान र आहारा खान आउने क्षेत्र हो । सेती नहर हुँदै आइपुग्ने मरेका जीवजन्तुको सिनो खान गिद्धहरु नियमित आउने क्षेत्रमा पर्ने उनको भनाइ छ ।

यसबारे सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ भने चरा व्यवस्थापनका लागि विश्वमा विभिन्न प्रविधिहरुको प्रयोग हुँदै आएकाले पोखरामा पनि त्यही प्रयोग गर्न सकिने बताउँछन् ।

‘चरा सार्न कम्तीमा १ वर्ष लाग्छ’

विमानस्थल रहेको वडा नम्बर १४ मा क्षेत्रमा १ सय ६२ प्रजातीका चरा पाइने तथ्यांक छ । पक्षी संरक्षण अभियान्ता हेमन्त ढकालका अनुसार १ सय ६२ मध्ये ५ प्रजाति अति संकटापन्न र २ वटा संकटापन्न प्रजातिका गिद्ध र चरा सो क्षेत्रमा छन् । ल्याण्डफिल साइटकै क्षेत्रमा सेतो गिद्धले पहारामा र सानो खैरो गिद्धले २०१४ देखि रुखमा गुँड बनाउँदै आएका छन् ।

‘नेपालमा यस्तो गुँड सार्ने परम्परा नै सुरु भएको छैन । पंक्षीका सन्दर्भमा निकै हलुका हिसाबले हेरिन्छ, विदेशमा यो विषय निकै महत्वपूर्ण मानिन्छ,’ ढकालले भने, ‘विमानस्थल र ल्याण्डफिल साइटमा बासस्थान बनाएका चरा सार्न कम्तिमा पनि वर्ष दिन लाग्छ, नत्र अन्तर्राष्ट्रियस्तरमै उडानका लागि असुरक्षित मानिन्छ ।’

प्रदेशका पर्यटन मन्त्री शर्मा पनि ल्याण्डफिलकै टुंगो लाग्नेमा एकातिर शंका गर्छन् भने अर्कोतिर चराकै कारण पनि उडानमा समस्या पर्ने बताउँछन् । मन्त्री शर्मा विमानस्थल सञ्चालनमा विद्यमान समस्या हल गर्न, बिनाअवरोध उडान सुरु गर्न संघ र स्थानीय तहसँग सहजीकरण गर्न गण्डकी प्रदेश सरकारले गठन गरेको समितिका संयोजकसमेत हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले चरा, ढल, डाँडा कटान र सुरक्षाकर्मी व्यवस्थापन लगायतका समस्याहरु विद्यमान हुँदा जनवरी १ बाटै उडान गर्ने भनिए पनि तयारी नपुग्ने बताए । ‘त्यो अवधिमा पनि नसकिने लगभग निश्चित जस्तै छ । सुरुदेखि नै समाधान गर्ने भनिएका समस्या ज्यूँकात्यूँ छन् । एयर रुटकै विषय पनि छ, कुन कुन एयरलाइन्स आउँछन्, नियमित उडान कसरी हुन्छ, भन्ने पनि ठ्याक्कै भन्न सकिने स्थिति छैन,’ मुल्मी भन्छन् ।

अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि अहिले भइरहेको पोखरा विमानस्थलबाट पनि कर्मचारी सारिने छ । आयोजना र प्राधिकरणले आफ्नो तर्फबाट गर्नुपर्ने काम सकिइसकेको गौतमको भनाइ छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?