+
+

नेपालको केन्या भ्रमण : ज्ञानेन्द्रको पुनरागमनपछि टिममा आत्मविश्वास

कप्तानबाट निकालिएपछि टिमबाट पनि टाढिएका ज्ञानेन्द्रको पुनरागमनले सन्दीपलाई कप्तानका रुपमा सहयोग पुग्ने अपेक्षा क्यानको छ । अनुभवी खेलाडी नहुँदा सन्दीप लामिछाने कप्तानका रुपमा सफल हुन नसकिरहेका बेला उनको आगमन अर्थपूर्ण छ ।

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ साउन २५ गते १८:४३
ज्ञानेन्द्र मल्ल ।

२५ साउन, काठमाडौं । प्रमुख प्रशिक्षक नियुक्त भएको भोलिपल्ट नेपाल क्रिकेट संघ (क्यान)ले भदौ दोस्रो सातादेखि सुरु हुने केन्यासँगको शृंखलाका लागि राष्ट्रिय टिमको घोषणा गर्दा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन् ।

एकदिवशीय विश्वकप छनोटको प्रारम्भिक चरण र एकदिवशीय मान्यता कायम राख्नका लागि महत्वपूर्ण आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत पछिल्ला दुई शृंखलामा ज्ञानेन्द्रको कमी महशुस गरेको क्यानले आगामी प्रतियोगितामा टिमको आत्मविश्वास फर्काउने प्रयास गरेको छ ।

नेपालले लिग टू अन्तर्गत अमेरिका र स्कटल्याण्ड भ्रमणमा मध्यक्रमले इनिङ्स होल्ड गर्न नसक्दा नेपालले हार बेहोर्नुपरेको थियो । नयाँ र युवा खेलाडीलाई पर्याप्त अवसर दिइएको नेपालले अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा सन्दीप लामिछानेको कप्तानीमै प्रश्न उठ्न थालेको थियो ।

कप्तानबाट निकालिएपछि टिमबाट पनि टाढिएका ज्ञानेन्द्रको पुनरागमनले सन्दीपलाई कप्तानका रुपमा सहयोग पुग्ने अपेक्षा क्यानको छ । अनुभवी खेलाडी नहुँदा सन्दीप लामिछाने कप्तानका रुपमा सफल हुन नसकिरहेका बेला उनको आगमन अर्थपूर्ण छ । स्कटल्याण्डबाट फर्किएपछि क्यान व्यवस्थापनले पनि यो तथ्य महशुस गरी ज्ञानेन्द्रलाई फकाउन केन्द्रित थियो । क्रिकेट म्यानेजर विनोद दासलगायत क्यान पदाधिकारीले ज्ञानेन्द्रलाई भेटेर टिममा फर्काउने प्रयास गरेका थिए ।

ज्ञानेन्द्रको पुनरागमन हुँदा अर्का अनुभवी विनोद भण्डारी यसपल्ट टिमबाट बाहिरिएका छन् । पछिल्लो लयका आधारमा ओपन ब्याटर कुशल भुर्तेललाई विश्राम दिँदा शीर्षक्रममा ज्ञानेन्द्रमाथि टिम निर्भर हुनेछ ।

राष्ट्रिय टिमका मुख्य छनोटकर्ता दीपेन्द्र चौधरीले कुशल ड्रप भएपछि अनुभवी खेलाडीको आधारमा टिममा ल्याइएको बताए । ‘शीर्षक्रम बलियो बनाउन ज्ञानेन्द्रलाई टिममा राखिएको हो । ज्ञानेन्द्रलाई ओपनर वा तेस्रो नम्बरमा प्रयोग गर्न सकिनेछ,’ उनले अनलाइनखबरसँग भने । पूर्व राष्ट्रिय खेलाडी चौधरी राम्रो प्रदर्शन गर्ने जो कोहिलाई राष्ट्रिय टिमको ढोका सधैं खुला रहेको बताउँदै आएका छन् ।

नयाँ प्रशिक्षक आगमन भएकोले पनि टिममा परिवर्तन देखिएको छ । तर, क्यानको पछिल्लो टिम छनोटमा प्रशिक्षकको भूमिका छैन ।

यसअघि ज्ञानेन्द्र टिममा नहुँदा यू–१९ टिमका पूर्वकप्तान देव खनालले तेस्रो नम्बरमा ब्याटिङ गरिरहेका थिए । कुशल नहुँदा अब आसिफ शेखसँग ज्ञानेन्द्र वा देव मध्ये एकले ओपनिङ गर्ने सम्भावना छ ।

ज्ञानेन्द्रले यसअघि राष्ट्रिय टिममा ओपनिङ गरिसकेका छन् । ज्ञानेन्द्रले ओपनरको भूमिकामा खेले देवले तेस्रो नम्बरमै ब्याटिङ गर्न सक्छन् । पहिलो पटक राष्ट्रिय टिममा परेका अर्जुन साउद मध्यक्रममा राम्रो विकल्प बन्न सक्छन् ।

केन्यामा नेपालले एकदिवशीय र टी-२० दुवै फर्म्याटमा खेल्ने भएकाले प्रशिक्षकले आवश्यकताअनुसार परिवर्तन गराउन सक्नेछन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमले अर्को महनिा केन्या भ्रमण गर्दैछ । भदौ ९ देखि २० गतेसम्म हुने पाँच टी-२० अन्तर्राष्ट्रिय र तीन एकदिवशीय खेलका लागि नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टिम घोषणा गरेको हो । तीबाहेक चारजना बैकल्पिक खेलाडी पनि छन् ।

यू १९ टिमका विकेटकिपर ब्याटर अर्जनु साउदले पहिलो पटक सिनियर टिममा स्थान बनाएका छन् । स्पिनर शाहब आलम र अलराउण्डर विवेक यादवले पनि टिममा पुनरागमन गर्दा स्कटल्याण्डमा लिग टू शृंखला खेलेको टिममा रहेका कुशल र विनोदलाई विश्राम दिइएको छ ।

प्रमुख छनोटकर्ता चौधरीले पछिल्लो प्रदर्शनका आधार र नयाँलाई अवसर दिने उद्देश्यले टिम बनाएको बताए । ‘केही नयाँ खेलाडीलाई पनि अवसर दिने उद्देश्यसहित उत्कृष्ट खेलाडीहरु छनोट गरिएको छ,’ चौधरीले भने ।

उनले पछिल्लो लयका कारण कुशललाई विश्राम दिइएको बताए । ‘अमेरिका, क्यानडा र स्कटल्याण्डमा गरेको प्रदर्शनलाई आधार मानेर नै उनलाई टिम बाहिर राखिएको हो,’ उनले थपे । कुशलले अमेरिकामा भएको लिग टूमा ओमानविरुद्ध एक खेलमा ५६ रन बनाए पनि अन्य खेलमा प्रदर्शन एकरुपको थिएन ।

अर्जुनको इन्ट्री

केन्या भ्रमणका लागि घोषित १६ सदस्यीय टिममा रहेका एक मात्र नयाँ खेलाडी अर्जुन साउद हुन् । घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरेका र सम्भावना देखिएका विकेटकिपर ब्याट्सम्यान अर्जुन राष्ट्रिय टिममा पुगेका हुन् ।

अर्जुन साउद ।

अर्जुनको आगमनपछि यू–१९ राष्ट्रिय टिमका खेलाडीको संख्या राष्ट्रिय टिममा ५ पुगेको छ । यू–१९ का कप्तान देव खनासँगै आदिल आलम र बसिर अहमद यसअघि पनि राष्ट्रिय टिममा थिए । यस्तै अर्का सदस्य विवेक यादवले पनि सिनियर टिममा पुनरागमन गरेका छन् ।

गएको डिसेम्बरमा भएको यू–१९ राष्ट्रिय प्रतियोगिता अर्जुनले सुदूरपश्चिमबाट खेल्दै एक शतक र एक अर्धशतक मद्दतमा २४१ रन बनाएका थिए । उनी सर्वाधिक रन बनाउनेमा लुम्बिनीका कप्तान देव खनाल (३३४रन)पछि दोस्रो नम्बरमा थिए ।

यही प्रदर्शनले अर्जुनलाई यू–१९ एसिया कप खेल्ने टिममा पु¥याएको थियो । अर्जुनले दुबईमा भएको प्रतियोगितामा टेष्ट राष्ट्र श्रीलंकाविरुद्ध ६४ रन बनाएका थिए । त्यसपछि उनले सुदूरपश्चिमको सिनियर टिमबाट प्रधानमन्त्री कप टी २० प्रतियोगिता र भैरहवामा नेपाल पुलिसबाट प्रो क्लब च्याम्पियनसिप खेलेका थिए ।

अर्जुनसँगै यू–१९ टिमका विवेक यादव पनि टिममा फर्किएका छन् । जसले गर्दा मध्यक्रम र तल्लोक्रमम नेपालको ब्याटिङलाई राहत पुग्ने विश्वास छ । विवेकसँगै आदिल आलम र बसिर अहमद अलराउण्डर हुन् ।

गत फेब्रुअरीमा ओमानमा भएको चारदेशीय टी–२० शृंखलामा ओमानविरुद्ध डेब्यू गरेका विवेकले नेपालका लागि ५ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । गत वैशाखमा घरेलु मैदानमा भएको त्रिकोणात्मक टी २० शृंखलामा उनी टिममा रहे पनि खेल्न पाएनन् ।

शाहब आलमले ६ महिनापछि पुनरागमन गरेका छन् । २०२१ अप्रिलमा कुशल भुर्तेल र आसिफ शेखसँगै नेदरल्याण्ड्सविरुद्ध घरेलु मैदानमा डेब्यू गरेका उनले नेपालका लागि तीन टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् ।

चैत अन्तिममा कीर्तिपुर मैदानमा भएको नेपाल, पपुवा न्यु गिनी र मलेसियासम्मिलित त्रिकोणात्मक टी –२० शृखंला खेलेको टिममा रहेका ७ खेलाडी अहिले छैनन् ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?