+
+

एसिया कपमा विश्वकपको तयारी गर्दै भारत

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २५ गते १९:१९
एसिया कप ट्रफीका साथ भारतीय खेलाडी । फाइल तस्वीर

२५ साउन, काठमाडौं । अर्को सातादेखि युएईमा सुरु हुने एसिया कप र त्यसपछि जिम्बावेसँग हुने एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाका लागि भारतले १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।

भारतको यो टोलीका लागि एसिया कप प्रतियोगिता यसै वर्ष नोभेम्बरमा अस्ट्रेलियामा हुने टी–२० विश्वकपको पूर्वतयारी हुनेछ ।

भारतले यस पटकको एसिया कपमा केही नयाँ र केही पुराना खेलाडी तथा नयाँ अवधारणा र रणनीतिका साथ तयारी गरिरहेको छ ।

कोहली र राहुललाई प्रदर्शन सुधार्ने मौका

यस पटकको एसिया कप खेल्ने टोलीमा पूर्वकप्तान विराट कोहली र केएल राहुल दुवै ब्याटरले आफूलाई प्रमाणित गर्ने अवसर पाउनेछन् । टी–२० विश्वकप खेल्नुअघि एसिया कप यी दुई खेलाडीको करिअरमा महत्वपूर्ण ब्रेक थ्रू हुनसक्छ ।

अहिले कोहलीको प्रदर्शनलाई लिएर आलोचना बढिरहेको छ । खराव लयका कारण भारतीय टिममा उनको उपस्थितिमै प्रश्न उठिरहेको छ । यदि उनले एसिया कपमा राम्रो प्रदर्शन गरेमा विवादबाट मुक्ति पाउनेछन् भने भारतको विश्वकप टिममा स्थान सुरक्षित गर्नेछन् । टी–२० मा पछिल्लो समय उनले कम खेल खेलेका छन् । २०२१ को विश्वकपपछि विराटले जम्मा चारवटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

केएल राहुलले यस प्रतियोगिताबाट कमब्याक गर्दैछन् । उनले आईपीएलपछि क्रिकेट खेल्न लागेका हुन् । हर्नियाको शल्यक्रियापछि वेष्ट इण्डिजसँगको शृंखलामा समावेश भए पनि कोरोना संक्रमण भएसँगै टिमबाट बाहिरिनुपरेको थियो । विश्वकपअघि आफूलाई प्रमाणित गर्ने उपयुक्त प्रतियोगिता उनका लागि एसिया कप नै हो ।

तीव्र गतिका बलरको कम प्रयोग

हालको भारतको टोलीमा तीव्र गतिका बलरको कमी देखिएको छ । जसप्रित बुम्राह र टी–२० विशेषज्ञ मानिएका हर्षल पटेल टोलीमा छैनन् । चोटका कारण महत्वपूर्ण दुई खेलाडी गुमाएको भारतका लागि एसिया कपमा तीव्र बलिङको नेतृत्व भुवनेश्वर कुमारको काँधमा छ । उनलाई युवा स्टारद्वय अर्शदीप सिंह र अवेश खानले सहयोग गर्नेछन् ।

युवा बलर अर्शदीपले आफ्नो नियमित बलिङसँगै अन्तिम ओभरमा योर्कर बलिङमा उत्तिकै माहिर छन् । उनको यो भूमिका टिमका लागि अपरिहार्य देखिन्छ । अवेश खानको आक्रामक शैली भारतका लागि प्रभावकारी हुनसक्छ ।

यी तीन बलरलाई अलराउन्डर हार्दिक पाण्ड्याले साथ दिनेछन् । उनले हालै सम्पन्न खेलहरुमा भारतको लागि उत्कृष्ट योगदान गरेका छन् । पछिल्लो आईपीएलमा उत्कृष्ट प्रदर्शनसँगै नवप्रवेशी टोली गुजरात टाइटन्स्लाई उपाधि दिलाउँदा उनले राष्ट्रिय टिममा पनि पुनरागमनको अवसर पाए ।

भारतीय रणनीति स्पिनमै केन्द्रित

यस पटक भारतले बलिङको मुख्य हतियारका रुपमा स्पिनलाई नै प्रयोग गर्नेछ । युएईको विकेट स्पिन सुहाउँदो पनि छ । तीन तीव्र बलरको साथमा चारजना अनुभवी स्पिनर छन् ।

लेग स्पिनर युजवेन्द्र चहल र रवि विस्नोइसँगै अनुभवी रविचन्द्रन अश्विन र बायाँहाते रविन्द्र जडेजा छन् । जडेजा र अश्विन अलराउण्डर हुन् ।

अलराउण्डरमा विश्वास

कप्तान रोहित शर्मा आक्रमणसँगै अन्य विकल्पमा पनि राम्रो काम गर्न सक्छन् । उनको प्रदर्शनमा पनि भारतीय टोली निर्भर छ । भारतीय टोली जुन तरिकाले खेलाडी छनोट गरेको छ, त्योबाट पनि अलराउण्डको प्रदर्शनमा पनि निर्भर भएको मान्न सकिन्छ ।

अलराउण्डर अक्षर पटेल र दीपक हुड्डाले स्थान पाएका पाएका छन् । अक्षर पटेल बलिङ र ब्याटिङ दुवै फम्र्याटमा राम्रो गर्न सक्ने खेलाडी हुन् । उनले वैकल्पिक खेलाडीको कोटा पक्का गरेका छन् । उनीसँगै जडेजालाई पनि भारतले अलराउण्ड विकल्पको रुपमा राखेको छ ।

उनीहरुसँगै यस पटक अलराउण्डको रुपमा दीपक हुड्डाले पनि टोलीलाई योगदान दिन सक्छन् । भारतले अलराउण्ड खेलाडीमा देखाएको विश्वास हो । जुन प्रकारले खेलाडीहरुले प्रदर्शन गरी रहेका छन्, उनीहरुले टोलीलाई दुवैतर्फबाट सघाउन सक्ने भएकाले भारतले यस्तो नीति अपनाएको हो ।

युवा खेलाडीलाई मौका

भारतीय टोलीमा अहिले युवा खेलाडीको पनि बाहुल्यता छ । एसिया कपमा मौका पाएका रवि विस्नोइ, अवेश खान, अर्शदीप सिंह र दीपक हुड्डा रोजाइमा परेका छन् । यदि यी खेलाडीहरुले एसियाकपमा आफूलाई प्रमाणित गर्न सके भने अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा पनि स्थान बनाउने मौका हुनेछ ।

यी चारै जना युवा खेलाडीले २०२१ मा भएको टी–२० विश्वकप पछि छोटो र्फम्याटको खेलहरुमा आफ्नो प्रभाव जमाएका छन् ।

विस्नोइले टी–२० फम्र्याटमा नौ खेलमा ७.१५ इकोनोमिको साथमा १५ विकेट लिएका छन् । उनी गुगली निकै राम्रो गर्छन् । उनको गुगलीले राम्रा ब्याटरलाई पनि क्रिजमा टिक्न निकै मुस्किल पर्नेगर्छ ।

अर्शदीपले इङ्ल्यान्डविरुद्ध डेब्यू गरेका हुन् । उनले ६ खेलमा ६.३३ इकोनोमीको साथ १५ विकेट लिएका थिए ।

अवेश खानको गति र वाउन्स गर्ने क्षमताले उनलाई अन्य खेलाडी भन्दा फरक बनाएको छ । यसैका कारण उनलाई एसिया कपमा मौका दिइएको छ । उनले १३ खेलमा ८.६७ को इकोनोमीमा ११ विकेट लिएका छन् ।

दीपक हुड्डा पछिल्लो पटक श्रेयस लेयरसँग तुलना गरिएका खेलाडी हुन् । २७ वर्षीय दिपकले आक्रमक बलिङ तथा ब्याटिङ दुवै गर्ने गर्छन् । उनले हालसम्म ९ वटा टी–२० अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा गरेका छन् । जसमा ५४.८० औषत र १६१.१७ को उत्कृष्ट स्ट्राइक रेटमा २७४ रन बनाएका छन् । उनी अफ स्पिनमा पनि प्रयोगमा आउन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?