+
+

नितिश भारतमा विपक्षी दलको प्रधानमन्त्री उम्मेदवार बन्न सक्छन् ?

सबैभन्दा महत्वपूर्ण प्रश्न आज प्रतिपक्षलाई कसले सँगै ल्याउने हो ? किनभने विपक्षका ठूला अनुहार ममता र केजरीवाल आ-आफ्नो बाटो हिंडिरहेका छन् ।

दिपक मण्डल दिपक मण्डल
२०७९ साउन २६ गते १३:३०

२६ साउन, काठमाडौं । बिहारमा भाजपासँगको सम्बन्ध तोडेर जनता दल (युनाइटेड) र राष्ट्रिय जनता दलको संयुक्त सरकार बनाउने दाबी गरेपछि नितिश कुमार फेरि राष्ट्रिय राजनीतिमा बलियो दावेदारका रूपमा उभिएको देखिएका छन्। योसँगै फेरि एकपटक विपक्षी दलको प्रधानमन्त्री उम्मेदवारको रूपमा उनको चर्चा चलेको छ ।

कुनै समय नितिशलाई प्रधानमन्त्रीको भावी उम्मेदवारको रूपमा हेरिन्थ्यो । सन् २०१४ भन्दा पहिले नरेन्द्र मोदीलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गरिरहँदा नितिश कुमारले उनको विरोध गर्दै भनेका थिए- ‘देशको प्रधानमन्त्री धर्मनिरपेक्ष र उदारवादी हुनुपर्छ ।’

निःसन्देह, निशानामा नरेन्द्र मोदी नै थिए ।

नितिश कुमार आफैंले भनेका छन् कि अब उनी एउटै पदमा बस्न मात्रै बाँकी छ । भर्खरै नितिशको पार्टीबाट अलग भएका आरसीपी सिंहले आक्रोशमा भनेका छन्- ‘नितिश कुमार कहिल्यै प्रधानमन्त्री बन्न सक्दैनन्… सात जन्ममा पनि सक्दैनन् ।’

नितिश सिंहसँग लामो समय निकै घनिष्ट सम्बन्धमा रहेका आरसीपी सिंहले यसो भन्नुको अर्थ हो- नितिशकुमारको प्रधानमन्त्री बन्ने महत्वाकांक्षा सिंहका लागि नौलो होइन । यसबारे उनीसँग छलफल पनि भएको हुनसक्छ ।

नितिशको दाबीमा कति दम छ ?

अब प्रश्न उठ्छ छ कि विपक्षीले नितिशलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा स्वीकार गर्दै उक्त पदका लागि उनको नाम अगाडि बढाउला ?  के उनी राहुल गान्धी, ममता बनर्जी वा अरविन्द केजरीवालभन्दा प्रधानमन्त्री पदका लागि योग्य उम्मेद्वार हुन् ? विपक्षी दलहरूका प्रधानमन्त्री पदको उम्मेदवारीमा उनी कहाँनेर हुनेछन् ?

यस प्रश्नमा ‘द हिन्दू’का सहयोगी सम्पादक स्मिता गुप्ता भन्छिन्, ‘प्रधानमन्त्री पदका लागि नितिशको उम्मेदवारीको विरुद्धमा जान सक्ने एउटै कुरा भनेको उनीहरूले कुनै पनि बेला पक्ष बदल्न सक्छन् । तर उनको नेतृत्वमा कुनै प्रश्न उठ्दैन । मुख्यमन्त्री भएर पनि उनको छवि राम्रो छ । उनलाई राम्रो मुख्यमन्त्री मानिन्छ ।’

यदि बिहारमा आरजेडी र जनता दल (युनाइटेड) को सरकार बन्यो भने, यो विपक्षीहरूको लागि ठूलो नैतिक ऊर्जा हुनेछ,’ उनी भन्छिन्, ‘यससँगै नितिश फेरि एकपटक केन्द्रको राजनीतिमा आउनेछन् । त्यस्तो समय आयो भने विपक्षी दलका प्रधानमन्त्री उम्मेदवारका रूपमा नितिश सबैभन्दा बलियो देखिन्छन् ।’

उनी भन्छिन्, ‘भाजपाले विपक्षी दलको प्रधानमन्त्री पदका लागि अर्की सम्भावित उम्मेदवार ममता बनर्जीलाई उनको घरमा नै अल्झाइरहेको छ । पार्थ चटर्जी प्रकरणपछि भाजपाले बनर्जी नेतृत्व सरकारको छविलाई ध्वस्त पार्न खोजेको भन्ने गरिएको छ । उनलाई घरमै थुनेर राख्ने भाजपा नीतिका कारण उनलाई विपक्षी दलहरूबाट प्रधानमन्त्रीको साझा उम्मेदवारी स्वीकार गर्न गाह्रो हुनेछ। नितिशको राहुलसँग राम्रो सम्बन्ध छ। यदि कांग्रेस बाहेक अरू कुनै दलको प्रधानमन्त्री चयन गर्ने कुरा आयो भने राहुलले नितिशलाई समर्थन गर्न सक्छन् ।’

नितिशको बाटोमा देखिएका चुनौतीहरू

तर ‘द प्रिन्ट’का राजनीतिक सम्पादक डीके सिंह भने यसमा सहमत छैनन् । बीबीसी हिन्दीसँगको कुराकानीमा उनी भन्छन्, ‘नितिश आफैंले कति सिट ल्याउन सक्छन् भन्ने सबैभन्दा महत्वपूर्ण प्रश्न हो । कांग्रेस जतिसुकै कमजोर भए पनि सबै क्षेत्रीय दलभन्दा उसको सिट बढी हुन सक्छ । यसबाहेक कांग्रेसले आफू बाहेक अरु कुनै दलबाट प्रधानमन्त्रीको उम्मेदवार स्वीकार्नेबारे केही बोलेको छैन ।’

त्यसोभए के नितिशसँग प्रधानमन्त्री बन्ने महत्वाकांक्षा छैन र बिहारमा आरजेडीसँग सरकार बनाएपछि उनले आफ्नो दाबी चर्को स्वरमा प्रस्तुत गर्ने छैनन् ?

डीके सिंह भन्छन्, ‘नितिशलाई प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्ने कुरा केवल अनुमान मात्र हो किनभने अहिले उनी आफैंलाई प्रधानमन्त्री उम्मेदवारको रूपमा प्रस्तुत गर्न चाहँदैनन् । यतिबेला उनी आफ्नो राजनीतिक अस्तित्व जोगाउने प्रयासमा छन् । भाजपाले महाराष्ट्रमा शिवसेना जस्तै बिहारमा जनता दल युनाइटेडलाई दुई टुक्रा नबनाइदेओस् भन्ने उनलाई डर छ ।’

उनी भन्छन्, ‘यसको बावजुद यदि नितिशले प्रधानमन्त्री बन्ने सपना देखिरहेका छन् भने यो गाह्रो छ किनभने यतिबेला विपक्षलाई जोड्ने तत्वहरू देखिंदैनन् । आज हरकिशन सिंह सुरजित जस्ता मानिसहरू कहाँ छन्, जसले हरिकिशन सिंहको सरकारको लागि माकपा र भाकपाको समर्थन जुटाएका थिए । सबैभन्दा महत्वपूर्ण प्रश्न आज प्रतिपक्षलाई कसले सँगै ल्याउने हो ? किनभने विपक्षका ठूला अनुहार ममता र केजरीवाल आ-आफ्नो बाटो हिंडिरहेका छन् ।’

ममता, केजरीवाल र राहुलभन्दा नितिश कति बलियो ?

विपक्षी दलको प्रधानमन्त्रीको दौडमा ममता, केजरीवाल वा राहुलमाथि नितिश कत्तिको बलियो ठहरिएलान् ?

यस प्रश्नमा बिहारको राजनीतिलाई नजिकबाट हेर्दै आएका वरिष्ठ पत्रकार गंगेश मिश्र भन्छन्, ‘नितिशसँग सबैभन्दा ठूलो विश्वसनीयताको संकट छ । उनी कतिबेला कहाँ जाने हुन्, भन्न सकिन्न । उनको पार्टी पनि धेरै सिट जितिहालिन्छ र प्रतिपक्षको सरकार बनेमा प्रधानमन्त्रीको दाबी गरिहालौं भन्ने अवस्थामा छैन । ममता र केजरीवाल उनीहरुको तुलनामा धेरै अगाडि छन् ।’

मिश्र अगाडि भन्छन्, ‘दिल्लीमा केजरीवालको सरकार छ। हालै उनको पार्टीले पञ्जाबमा सरकार बनाएको छ । यसबाहेक गुजरातमा उनको पार्टीको राम्रो सम्भावना देखिन्छ । हरियाणा र हिमाचलमा पनि आगामी दिनमा उनीहरू थप बलियो हुन सक्छन्। यस हिसाबले केजरीवालको स्थिति नितिशको भन्दा सुदृढ छ।’

मिश्रको बुझाईमा नितिशको पार्टीको न त सिंगो भारतभरी संगठन छ, न त एक वा दुई भन्दा बढी राज्यमा चुनाव जित्ने क्षमता छ। यस्तो अवस्थामा विपक्षी दलहरूको साझा प्रधानमन्त्रीको उम्मेदवारको रूपमा नितिशको दाबी निकै कमजोर देखिन्छ ।

(बीबीसी हिन्दीमा प्रकाशित दिपक मण्डलको रिपोर्ट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?