+
+
व्यंग्य :

भाग्यवाद !

चन्द्रप्रसाद पोखरेल चन्द्रप्रसाद पोखरेल
२०७९ साउन २६ गते १२:४९

सानो छँदा त भाग्यवाद भनेको को हो भन्ने कुरा थाहा थिएन । तर जब बुझ्ने हुँदै गइयो, केले हो भाग्यमा विश्वास नगर्ने गरायो । अरुलाई नटेर्ने पनि बनायो ।

होला जसलाई पनि उमेर छउन्जेल कहिल्यै पनि मर्दिनँ, सधैं यस्तै रहिरहन्छु भन्ने लाग्दो हो । म भन्दा ठूलो संसारमा को छ र ! म जे पनि गर्न सक्छु । ठूला ठूला गगनचुम्बी महलको कल्पना । यस्तै यस्तै… । अझ भनौं बालुवाको महल । सपनाको खीर । आकाशको तारा झार्ने कल्पना ।

तर जब उमेर ढल्दै जान्छ, मानवरुपी बन्धनहरु चुँडिदै जान्छन्, अनि लाग्छ ईश्वरभक्तितिर लाग्नै पर्ने रहेछ । अथवा अलिकति ईश्वरतिरको आशक्ति । आस्तिक ।

अनायसै म आस्तिक भएछु । तर पूर्ण रुपले भने होइन । मन्दिर नजाने । तर अदृश्य शक्तिको डर ! अनि पत्रपत्रिका र टेलिभिजनमा राशिफलमा विश्वास ।

तपाईंका राशि स्वामी वृहस्पति, फलानीले फलानो घरलाई हेरेको हुनाले तपाईंको भाग्य आज तुलनात्मक रुपले राम्रो हुँदै जाने वा अनिष्ट घरमा तपाईंका राशि स्वामी गएका हुनाले तपाईंलाई वा तपाईंका चौपायामा हानी हुने । यस्तै अरु पनि ।

अनायसै टेलिभिजनमा दैनिक राशिफल हेर्ने बानी बसेछ । म एकदमै सफल वा राम्रो हुने दिनको पर्खाइमा बसें, जुन दिन म राम्रा राम्रा काम गर्न सकुँ, म सफल बनुँ ।

त्यो दिन पनि आयो । बिहान साढे ६ बजे शुभमुहूर्तमै एक टेलिभिजनले मेरो आजको भविष्यवाणी गरिदियो, ‘तपाईंले आज जे गर्नु हुन्छ, त्यही कुरामा सफल हुनुहुने छ ।’ मैले सोचें पर्खाइको फल मीठो हुन्छ । दुई हातमा लड्डु । म फुरुङ्ग भएँ । टेलिभिजनले थप्यो, ‘कामको थालनी मात्र गर्नुहोस् सबै काम बनिएर जानेछन्, बिग्रिएका काम पनि सप्रिनेछन् ।’ म मख्ख थिएँ– कामको सुरुवात गर्ने कुरामा ।

कामको थालनी पो केबाट पो गर्नु ? सोचाइमा मग्न भएँ । सारा कुरामा मन डुलाएँ । म चुर्लुम्म गहिराइमा नै डुबेको थिएँ, नयाँ कामको खोजीमा ! त्यो पनि शतप्रतिशत सफल हुने आशमा । फेरि सोचें अनायासै गरेका काम पनि त सफल नै होलान् नि ! मेरो ध्यान त्यतैतिर आकृष्ट भयो ।

सर्वप्रथम आजको काम भात पकाउने कुराबाट सुरु भयो । भात पकाइयो । भातको भाडामा नै अचार बनाउनका लागि २÷४ वटा आलु पनि उसिन्न हालियो । भात दाल तयार भयो । अफिस जाने समय अझ बाँकी थियो । केही समय बाहिरफेर टहलिने विचार आयो ।

खाना खाने बेला भयो । अचार मुछेको थिएन । आलुको बोक्रा छोडाइयो । आलुको अचार (चोखा)मा प्याज मसला झानेको तेल हाल्न खोजेको त तेल झान्नै बिर्सिएछ । आलुको अचार नबनिने पक्का भयो ।

कता स्टोभ सल्काउन लाग्नु ? अब त अफिस जान पनि हतार भइसकेको थियो । दाल र आलुको चोखासँग मीठो गरी भात खाने सपना आलुको अचारले तुहाइदियो ।

जे होस् दालसँग मात्र भात खानुपर्ने भयो । दाल र भात पनि कम मीठो हुन्छ र ! हजारौं नेपालीले दालभात खान पाएकै छैनन् । म त भाग्यमानी नि दालसँग भए पनि भात खान पाउने मान्छे । म आशावादी बन्न पुगें ।

दाल भात पस्किएँ । थाल भरिको भात मुसेर एक गाँस के मुखमा हालेको थिएँ, जिब्रोले थाहा पाइहाल्यो– दाल अलिनो रहेछ । थुइक्क ! दालमा पनि नुन हाल्न बिर्सिएछ ।

काम नबन्ने नतिजा त बेलैदेखि देखिन थालिहाल्यो । बिहानले दिउँसोको संकेत गर्छ । भाग्यको परीक्षण गर्नु उचित लागेन । बिहानको सपना एकै छिनमा भष्म भयो । आलुको चोखाले सारा सपनामाथि  तुषारापात गरिदियो । चाहिने भन्दा बढी सोच भएकै गुम्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?