+
+

सामूहिक बलात्कार आरोपी २ जनाको पोलिग्राफ जाँच

हरि अधिकारी हरि अधिकारी
२०७९ साउन २६ गते १२:५४

२६ साउन, विराटनगर । प्रहरीले सामूहिक बलात्कारको आरोपमा पक्राउ परेका करातेका दुई प्रशिक्षकको पोलीग्राफ जाँच गरेको छ ।

विराटनगर बसेर पढ्ने सुनसरीकी १९ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका विराटनगर महानगरपालिका–३ का ५० वर्षीय विनोद राउत र विराटनगर महानगरपालिका– ४ का ५० वर्षीय अमर भनिने सुरज सुवेदीको प्रहरीले पोलिग्राफ परीक्षण गरेको हो ।

दुई जना नै राष्ट्रिय खेलकुद परिषद्को मोरङ जिल्लाका कराते प्रशिक्षक हुन् । किशोरीको जाहेरीका आधारमा प्रहरीले दुवैलाई साउन ९ गते आइतबार पक्राउ गरेको थियो । उनीहरुले आरोपमाथि इन्कारी बयान गरेपछि अनुसन्धानका क्रममा प्रहरीले शनिबार पोलिग्राफ जाँच गरेको हो । प्रहरी स्रोतका अनुसार पोलिग्राफ जाँचको रिपोर्ट पोजेटिभ आइसकेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले अनुसन्धानका क्रममा आरोपीको पोलिग्राफ जाँच गरिहेको बताए । डीएसपी श्रेष्ठले अनुसन्धान जारी रहेको र पोलिग्राफ जाँच रिपोर्ट आइनसकेको बताए ।

के हो पोलिग्राफ टेस्ट ?

पोलिग्राफ एक मेसिन हो । कुनै व्यक्तिको पोलिग्राफ टेस्ट गर्न उसलाई सेन्सरद्वारा यो मेसिनसँग जोडिन्छ र सेन्सर कम्प्युटरसँग कनेक्ट गरिएको हुन्छ ।

त्यसपछि व्यक्तिको रक्तचाप, मुटुको धड्कन, श्वास एवम् हृदयको गति र शरीरमा हुने गतिलाई एक ग्राफ पेपरमा रेकर्ड गरिन्छ । यो प्रक्रियालाई नै पोलिग्राफ भनिन्छ । परीक्षण गरिने मानिससँग ६ वटा सेन्सर जोडिएको हुन्छ ।

परीक्षणमा व्यक्तिको मुटुको धड्कन, रक्तचाप, श्वासप्रश्वास, पसिनाको थैलीमा पर्ने चाप र शरीरमा हुने उतारचढाव आदि रेकर्ड गरिन्छ ।

त्यसपछि पोलिग्राफ गर्ने व्यक्तिलाई प्रश्न सोधिन्छ । प्रश्नोत्तरको यो पुरै प्रक्रियामा व्यक्तिबाट आएको तरंगलाई मेसिन मुभिङ पेपर (ग्राफ)मा रेकर्ड गरिन्छ ।

प्रश्नोत्तरको प्रक्रिया पूरा हुनभन्दा पहिले र पछि पोलिग्राफ परीक्षकले ग्राफको जाँच गरेर कुन प्रश्नको उत्तरमा व्यक्तिबाट आएको तरंग परिवर्तन भएको छ भन्ने हेर्छ ।

यसमा व्यक्तिको मुटुको धड्कन, रक्तचाप, श्वासप्रश्वास, पसिनाको थैलीमा पर्ने चाप र शरीरमा हुने उतारचढावबाट व्यक्तिले झुट बोलेको वा नबोलेको पत्ता लाग्छ ।

अपराध अनुसन्धानका क्रममा प्रहरीले गरेको पोलिग्राफ जाँचलाई अदालतले प्रमाणको रुपमा भने ग्रहण गर्दैन । सर्वोच्च अदालतले २०७८ साउन २८ गते पोलिग्राफ जाँच प्रतिवेदनले मुद्दामा कसुर ठहर गर्न उपयोगी हुने प्रमाणको स्थान ग्रहण गर्न नमिल्ने नजिर स्थापित गरेको थियो ।

सुनसरीको इटहरी घर भई विराटनगरको विराट हेल्थ कलेजमा अध्ययनरत १९ वर्षीया किशोरीलाई सोही कलेजको अनुशासन विभागको प्रमुख सुवेदीले पटक–पटक करणी गरेको आरोप छ । गत जेठ अन्तिम साता विराटनगरको एक होटलमा सुवेदी र उनका साथी राउतले सामूहिक करणी गरेको अनुसन्धानमा देखिएको प्रहरी स्रोतले बताएको छ ।

पीडित पक्षले सुवेदी र राउतले करणीको भिडियो पनि बनाएको दाबी गरेको थियो । तर प्रहरीले भिडियो फेला नपरेको बताएको छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?