
२६ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रवक्तामा सुरेश साहलाई नियुक्त गरिएको छ । एन्फाको बिहीबार बसेको कार्यसमिति बैठकले पाँचथरका सुरेश साहलाई प्रवक्ता नियुक्त गर्ने निर्णय गरेको हो ।
गत ६ असारमा भएको निर्वाचनमा पंकज विक्रम नेम्वाङको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएपछि बसेको दोस्रो बैठकले एन्फामा प्रवक्ता नियुक्त गरेको हो ।
पूर्व अध्यक्ष गणेश थापा नजिकका मानिने साहले निर्वाचनमा पंकजलाई सघाएका थिए । यसअघि कार्यसमितिमा निर्वाचन जितेर आएका सदस्यलाई प्रवक्ता नियुक्त गरिको थियो ।
तर यस पटक भने सिधै बाहिरबाट प्रवक्ता नियुक्त गरिएको हो । यसअघि उनी एन्फामा मानार्थ सदस्य थिए ।
एन्फाको पहिलो कार्यसमिति बैठकले किरण राईलाई महासचिव र रविन्द्र जोशीलाई कोषाध्यक्ष नियुक्त गरेपनि प्रवक्ता नियुक्त गर्न बाँकी थियो ।
पहिलो बैठकले अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त गरेको नविन पाँडेलाई उक्त पदबाट हटाइएको छ । उनलाई अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखबाट हटाएर जिम्मेवारी परिवर्तन गर्द अध्यक्ष नेम्वाङको सल्लाहकारमा नियुक्त गरेको एन्फाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4