+
+

एक्लै अघि बढ्यो एमाले

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २६ गते २०:४४
फाइल तस्वीर

२६ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको तयारी थालेको छ । केन्द्रीय कार्यालय च्यासलमा बिहीबार सचिवालय बैठक राखेर एमालेले चुनावको तयारी थालेको हो ।

‘चुनाव सम्बन्धी दुई महत्वपूर्ण निर्णय गरेका छौं । अब सम्पूर्ण शक्ति चुनावमा केन्द्रीत गर्छौ’, बैठकपछि प्रवक्ता पृथ्वीसुब्बा गुरुङले भने । झण्डै दुई महिनापछि बसेको सचिवालय बैठकले निर्वाचन परिचालन र घोषणापत्र मस्यौदा समिति गठन गरेको छ ।

दुवै समितिको नेतृत्व अध्यक्ष केपी ओली आफैले गर्ने भएका छन् । ओली नेतृत्वको निर्वाचन परिचालन समितिमा केन्द्रीय सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारी, केन्द्रीय निकाय र आयोगका पदाधिकारी, जनसंगठनका अध्यक्ष/महासचिव र विभागका सचिवहरु रहनेछन् ।

घोषणापत्र मस्यौदा समितिमा अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीप ज्ञवाली र विष्णु रिमाल रहनेछन् ।

एमालेले स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ । आउने ७ भदौमा स्थायी कमिटी, ९ भदौमा पोलिटब्यूरो र १० भदौमा केन्द्रीय कमिटी बैठक बस्ने प्रवक्ता गुरुङले बताए । चैतपछि एमालेको सचिवालय बाहेक अरु कमिटीको बैठक बसेको छैन ।

सचिवालयको बैठक भने गएको ३० जेठमा बसेको थियो । उक्त बैठकले स्थानीय चुनावमा सत्ताको चरम धाँधली भएको र पार्टीभित्रै अन्तरघात भएको निष्कर्ष निकालेको थियो । अन्तरघातबारे सम्बन्धित कमिटीले अध्ययन गर्ने निर्णय पनि भएको थियो ।

त्यसपछि भने कुनै पनि कमिटीको बैठक नराखेको एमालेले लगातार बैठक राखेर चुनाव केन्द्रीत हुने निर्णय गरेको छ । ‘एमालेविरुद्ध गठबन्धनले चौतर्फी घेराबन्दी गरेको छ । तर एमाले पहिलो शक्ति बन्छ’ बिहीबारको बैठकमा ओलीले भनेका थिए । एक पदाधिकारी अनुसार, एमालेलाई पहिलो पार्टी बनाउन चुनौती भएको ओलीले बताए ।

‘चुनौती भए पनि राम्रोसँग लाग्दा एमाले पहिलो शक्ति हुन्छ’, ओलीको भनाइ उदृत गर्दै ती पदाधिकारीले भने । अन्य राजनीतिक पार्टीहरुसँग तालमेलबारे भने कुनै छलफल नभएको प्रवक्ता एवम् उपमहासचिव गुरुङले बताए । ‘हामीले आज गठबन्धन आदी इत्यादीबारे कुनै छलफल गरेका छैनौं’, उनले भने ।

सचिव गोकर्ण बिष्ट तत्काल कुनै पनि गठबन्धनको सम्भावना नरहेको बताउँछन् । ‘त्यो सम्भावना देखिँदैन । अहिलेकै अवस्थामा हामी चुनावमा जान्छौं’, बिष्ट भन्छन् । एमालेका कतिपय नेताले भने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा वाम तालमेलका प्रयास गरेका थिए ।

०७४ को चुनावमा एमाले र माओवादी केन्द्रबीच तालमेल गर्दा ठूलो सफलता मिलेकाले पनि वाम गठबन्धनको प्रयत्न ती नेताहरुले गरेका थिए । तर स्थानीय चुनावमा तालमेल गरेका सत्ता साझेदार दलहरु सिट बाँडफाँट टुंग्याउन कार्यदल गठन गरेरै अगाडि बढिसकेको छ ।

उक्त कार्यदलमा बिहीबार सिट बाँडफाँटको सैद्धान्तिक आधारमाथि छलफल नै भयो । राजनीतिक शक्ति सन्तुलनको आधारमा सिट बाँडफाँट गर्ने सहमति कार्यदलमा जुटेकै दिन एमालेले औपचारिक रुपमा चुनावी तयारी थालेको छ ।
‘नयाँ समीकरणको सम्भावना सकियो भन्न त सकिँदैन । किनभने राजनीतिमा असम्भव केही हुन्न’, अर्का पदाधिकारी भन्छन्, ‘तर स्थानीय चुनावमा गठबन्धन गर्दा लाभ भएकाले एमाले एक्लै हुने सम्भावना बढी छ ।’ गएको ३० वैशाखमा सम्पन्न स्थानीय चुनावमा एमाले लगभग एक्लिएको थियो । नतिजा पनि सत्ता गठबन्धनकै पक्षमा गयो ।

स्थानीय तह चुनावमा गठबन्धनका मुख्य दलहरु नेपाली कांग्रेसले ३२९, माओवादी केन्द्रले १२१, जनता समाजवादी पार्टीले ३०, नेकपा एकीकृत समाजवादीले २० र राष्ट्रिय जनमोर्चाले ४ वटा पालिकामा प्रमुख जितेको थियो । तर ०७४ को चुनावमा २९४ स्थानीय तह जित्दै पहिलो दल बनेको एमाले भने २०५ स्थानमा खुम्चिएको थियो ।

अहिलेकै अवस्थामा स्थानीय चुनावमा साथ पाएका दलहरुको पनि एमालेले साथ पाउने अवस्था देखिएको छैन । वीरगञ्ज महानगरसहित मधेश प्रदेशका कतिपय स्थानीय तहमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र भरतपुर महानगरपालिकामा राप्रपासँग एमालेको तालमेल थियो । राप्रपा नेपाल र परिवार दलसँग संस्थागत रुपमै तालमेल थियो ।

तर स्थानीय चुनावको नतिजाकै कारण लोसपा सत्ता गठबन्धनसँग नजिकिएको छ । राप्रपा, राप्रपा नेपाल र परिवार दलसँग एमालेले छलफल गरेको छैन । ‘स्थानीय चुनावकै नतिजाका आधारमा पनि एमाले मुख्य शक्ति बन्छ भन्ने अध्यक्षको भनाइको सारांश छ’, सचिव बिष्ट भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?