+
+
चुनाव चिह्न :

बालेनको हातबाट फुत्केको लौरो कसको हातमा ?

‘पार्टी नै दर्ता गरिसकेका रहेछन् भन्ने कुरो हामीलाई थाहा थिएन, स्थानीय चुनावमा हामीले मागेको हो, कुरो यतिमात्रै हो,’ बालेनका निकटस्थ सहयोगीले भने ।

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २७ गते २०:३२

२७ साउन, काठमाडौं । स्थानीय चुनावमा काठमाडौं मेयरमा उठेका बालेन शाहले आफ्नो चिह्नका रूपमा लौरो लिए । सोहीपरी पोखरालगायत केही ठाउँमा पनि लौरो चिह्न राखी उम्मेदवारी दिनेहरू चर्चामा आए । धरानमा हर्क साम्पाङले पनि लौरो नै लिएर जितेका थिए ।

संघ र प्रदेश चुनावमा आइपुग्दा भने बालेन र हर्कहरूको, अनि पोखराका गनेस पौडेलहरूको हातबाट लौरो फुत्किएको छ । किनभने स्वतन्त्र अभियन्ता र साना दलहरुले मोर्चा बनाएर लौरो चुनाव चिह्नबाट आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन लड्ने भएका छन् ।

यो चिह्न अहिले हाम्रो नेपाली पार्टीले लिएको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार यो दल २७ असार २०७९ मा दर्ता भएको छ । हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्तराज घिमिरे भन्छन्, स्थानीय चुनावपछि लौरो चुनाव चिन्ह सुरक्षित गर्नुपर्छ भनेर दल दर्ता गरिएको हो ।’

हाम्रो नेपाली पार्टीसहित केही दल र स्वतन्त्र अभियन्ताहरुले आगामी चुनावमा साझा उम्मेदवारी दिने र लौरो चिह्न लिने घोषणा शुक्रबार गरेका छन् । उनीहरुमध्ये एक डा. सुदीप श्रेष्ठ भन्छन्, ‘लौरो स्वतन्त्र अभियानको सिम्बोल हो । यही चुनाव चिह्न लिने गरी वैकल्पिक राजनीतिक शक्ति र स्वतन्त्र अभियन्ताहरूको मोर्चा बनाउने सैद्धान्तिक सहमति भएको छ ।’

उनका अनुसार अहिले मोर्चाको नाम ‘स्वतन्त्र तथा वैकल्पिक शक्ति’ प्रस्ताव गरिएको छ । यसमा जोडिन चाहने दल तथा अभियन्ताहरुसँग छलफल भइरहेको छ र आइतबारसम्म निर्वाचन आयोगमा मोर्चा दर्ता गर्ने तयारी छ ।

४ मंसिरको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ । दुई वा दुईभन्दा बढी दलले मोर्चा बनाएर चुनाव लड्ने भए त्यस्तो मोर्चा दर्ता गर्नुपर्छ भने कुन दलको चुनाव चिन्ह लिने पनि खुलाउनुपर्छ ।

उसो त बालेनको घुमाउरो डाँठभन्दा हाम्रो नेपाली पार्टीको लौरो थोरै भिन्न किसिमको छ । अनि बालेनले स्वतन्त्र हैसियतमा लडेकाले गर्दा  त्याे चिह्न उनीसँगै अक्षुण्ण रहन्छ भन्ने छैन । उनकाे पहिचान भने यही चिह्नका कारण चिनिन गयाे । उसैगरी सयाै‌ चुनावचिह्न मध्ये एउटा चिह्न उनकै पहिचानका कारण चर्चित हुन गयाे । अब निर्वाचन आयोगले नयाँ लौरो का अधिकारीहरु आइसकेको अवस्थामा बालेन टाइपको लौरोलाई मान्यता नदिने प्रष्टै छ । यस अर्थमा बालेनको हातबाट यसपालिलाई लौरो फुत्कियो ।

बालेननिकट सूत्रसँग अनलाइनखबरले बुझ्दा यसपालिको चुनावमा लौरो कहाँ छ भन्नेबारे बालेनलाई खासै थाहा छैन । उनी काठमाडौंकै फोहोर व्यवस्थापन लगायत झमेलामा फसेका छन् । ‘पार्टी नै दर्ता गरिसकेका रहेछन् भन्ने कुरो हामीलाई थाहा थिएन, स्थानीय चुनावमा हामीले आयाेगसँग मागेको हो, कुरो यतिमात्रै हो,’ बालेनका निकटस्थ सहयोगीले भने ।

तर नयाँ पार्टीका अगुवा स्वागत नेपाल भने बालेन, हर्क साम्पाङ, गनेस पौडेलसँग रहेका साथीहरू आफूसँगै रहेको दाबी गर्छन् । अनि लौरो चिह्न पाउनलाई अपनाउनुपर्ने सारा प्रक्रिया पूरा भइसकेकाले अब लौरो आफूसँगै रहेको बताउँछन् । ‘निर्वाचन आयोगमा आज गएर सारा प्रक्रिया पूरा गरिसकेका छौं, हामीले पाउन लागेको लौरो र अघिल्लो स्थानीय चुनावमा बालेनजी, हर्कजीहरु लडेको लौरो ठ्याक्कै एउटै हो,’ नेपालले भने, ‘हामीलाई बालेन र हर्कजीका साथीहरूको पनि साथ छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?