+
+

मास हिस्टेरिया : विद्यालयमा छात्राहरु काँप्ने, रुने र बेहोस हुने समस्या

डा. सुमनप्रसाद अधिकारी डा. सुमनप्रसाद अधिकारी
२०७९ साउन २९ गते १४:०२

कहिलेकाहीं समाचार आउने गर्छ, ‘विद्यालयका छात्राहरुमा काँप्ने, रुने, कराउने र बेहोस हुने समस्या देखियो’ ।

एक जना होइन, दुई, तीन वा अरु थुप्रै छात्रामा एकसाथ यस्तो समस्या देखिन्छ । यस किसिमको समस्यालाई देवीदेवता लागेको वा भूतप्रेतले दुःख दिएको समेत भन्ने गरिएको छ ।

मनोचिकित्सकले भने यसलाई क्षणिक मानसिक समस्या भन्ने गरेका छन् । खासमा यो ‘मास हिस्टेरिया’ हो । काँप्ने, रुने, बेहोस हुने जस्ता समस्या सामूहिक रूपमा देखिन्छ भने त्यसलाई ‘मास हिस्टेरिया’ भनिन्छ । यस्तो समस्या विद्यालय स्तरका छात्राहरूमा बढी देखिने गर्छ ।

मानसिक तनाव शारीरिक लक्षणको रूपमा प्रकट हुने समस्या नै हिस्टेरिया हो । तर आजभोलि हिस्टेरिया भन्ने शब्द त्यति प्रयोगमा ल्याइँदैन । हिस्टेरिया शब्दलाई यौन कुण्ठासँग जोडिने भएकोले यो शब्दलाई अहिले प्रयोग नगरिएको हो । ‘मास हिस्टेरिया’लाई  अहिले ‘मास कन्भर्जन’ भनिन्छ । जसलाई नेपालीमा ‘विकृत विकार’ पनि भनिन्छ ।

मनोचिकित्सक सुमनप्रसाद अधिकारी

छात्राहरू विद्यालयमै काँप्ने, रुने, बेहोस कारण के ?

छात्राहरू विद्यालयमै काँप्ने, रुने र बेहोस हुने ‘मास कन्भर्जन’को कारणले हो । यो एउटा मानसिक समस्या हो जसको कारणले छात्राहरूमा यस्ता समस्या देखा पर्छ ।

मास कन्भर्जन छात्रा, छात्र दुवैमा देखिन सक्छ, तर छात्राहरूमा बढी देखिन्छ । महिलाहरू अलि तनाव सहन नसक्ने स्वभावका हुन्छन् । साथै महिनावारीको समयमा हर्मोनल परिवर्तन र उनीहरूमा आउने शारीरिक परिवर्तनको कारणले पनि छात्राहरूमा यस्तो समस्या देखिएको हो ।

छात्राहरूमै लक्षण देखिनुको कारण

महिलाले पुरुषजस्तो मनका कुरा व्यक्त गर्न सक्दैनन् । उनीहरूको मनमा पीडा गुम्सिएको हुन्छ । जहाँ पीडा गुम्सिन्छ त्यहाँ समस्या उत्पन्न हुन्छ । तनाव भयो, मनमा धेरै कुरा खेल्यो, तर त्यो कुरा बाहिर निस्कन पाएन भने त्यो शारीरिक लक्षणको रूपमा देखिन थाल्छ  ।

महिलाले आफूमाथि आइपरेको समस्या कसैलाई नभन्ने लुकाउने गर्छन् जसकारण पनि यस्तो समस्या हुन सक्छ । कुनै एउटा कारणले मात्र नभई विभिन्न मनोवैज्ञानिक कारणले यस्तो समस्या देखिन्छ ।

मनोविज्ञान

विद्यालयमा एकै पटक धेरै छात्राहरूमा यो समस्या देखियो भनेर पनि हामीले सुनेका हुन्छौं । एक छात्रा जसको घरमा, विद्यालयमा वा साथीहरूसँग तनाव छ । तर उनले त्यो तनाव अरूको अगाडि बताउन सकेकी छैनन् भने त्यसकै कारण उ काँप्ने, रुने, बेहोस हुने वा अलि फरक खालको व्यवहार गर्ने गर्छिन् ।

अन्य विद्यार्थीहरू जो छिटो प्रभावित हुने स्वभावका हुन्छन् वा तनावमा छन् भने उनीहरू पनि त्यो छात्रालाई देखेपछि जानी–नजानी सजिलै उसकै जस्तो लक्षण देखाउन थाल्छन्  । त्यसैले एक जना बेहोस भएपछि अरू पनि बेहोस हुने रुने कराउने गर्न थाल्छन् ।

कसरी गर्न सकिन्छ उपचार ?

पहिलो व्यक्ति जसलाई यो समस्या सुरुमा देखियो । उसलाई मनोरोग जस्तै डिप्रेसन वा एन्जाइटी भएको हुन सक्छ । त्यसैले उसलाई उचित परामर्श र औषधि उपचार उपलब्ध गराउनुपर्छ ।

बिरामी मात्र नभएर सहपाठी, शिक्षक, अभिभावक र समुदायलाई पनि परामर्श दिनुपर्छ । यो कुनै ठूलो समस्या होइन डराउनु पर्दैन भनेर सम्झाइबुझाइ गरेर उनीहरूको आत्मबल बढाउनुपर्छ ।

यो समस्या जसलाई सुरुमा देखिएको हो, उसलाई मनोचिकित्सकको सल्लाह अनुसार राम्ररी उपचार गर्ने र यस्तै समस्या देखिएका अन्य छात्रालाई चाहिं परामर्श दिने र आत्मबल बढाएर नै यसको उपचार गर्न सकिन्छ ।

(मनोचिकित्सक डा. अधिकारीसँग अनलाइखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?