+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बाजुरामा विशेषज्ञ चिकित्सक नहुँदा समस्या

प्रकाश सिंह प्रकाश सिंह
२०७९ साउन २९ गते १८:५६
सुजाता रोकाया ।

२९ साउन, बाजुरा । बाजुराको बडिमालिका नगरपालिका १ बस्ने २० वर्षीया सुजाता रोकायालाई जिल्ला अस्पताल बाजुराले रिफर गर्‍यो । पैसा नभएर उनका आफन्तलाई बयलपाटा लैजान नै धेरै सकस भयो । अस्पतालमा एमडीजीपी तथा विशेषज्ञ डाक्टर भएको भए उनलाई सामान्य शल्यक्रियाका लागि पनि रिफर गर्नु पर्ने थिएन । तर एमडीजीपी चिकित्सक नहुँदा जिल्ला बाहिर पठाउनु परेको अस्पतालका एक चिकित्सकले वताए ।

सुजाता मात्र होइन, एमडीजीपी नभएकै कारण अरु बिरामीले पनि सामान्य शल्यक्रिया वा विशेषज्ञ सेवाका लागि जिल्ला बाहिर जानु पर्ने स्थिति छ । सामान्य घाउदेखि हड्डीको अप्रेसनका लागि पनि जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता रहेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष मानबहादुर कार्कीले वताए ।

निक साइमन्स इन्स्टिच्युटसँगको सहकार्यमा स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पताल बाजुरामा पठाएका एमडीजीपी चिकित्सक डा. दुर्गा महर्जन फिर्ता भएपछि ३ वर्षदेखि बाजुरा एमडीजीपी डाक्टर विहीन छ । तीन वर्षसम्ममा पनि मन्त्रालयले अर्को डाक्टर पठाएको छैन ।

महर्जन हुँदा एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल, पाइल्स, हड्डी भाँच्चिएको लगायत अप्रेशन सेवा जिल्ला अस्पतालबाटै प्रदान हुने गरेको थियो । तीन वर्षदेखि यी कुनै पनि रोगको बाजुरामा उपचार नभएको अस्पतालले जनाएको छ ।

बझाङ पठाइएका एमडीजीपी डाक्टर अन्वेष कोइराला जिल्ला अस्पताल बाजुरामा जान तयार छन् । यसका लागि उनले मन्त्रालयमा निवेदन समेत दिएका छन ्। उनले निवेदनमा लेखेका छन्, ‘बझाङ जिल्ला अस्पतालमा दुईजना एमडी (विशेषज्ञ) डाक्टर रहेकाले अभाव भएको बाजुरामा सेवा गर्न अनुमति दिन अनुरोध गर्दछु ।’

अस्पताल व्यवस्थापन समितिले उनलाई जिल्ला अस्पताल बाजुरा सरुवा गरिदिन मन्त्रालयलाई अनुरोध समेत गरेको छ ।

तर स्वास्थ्य मन्त्रालयले त्यसमा कुनै पहल गरेको छैन । स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेलले बाजुरामा बिस्तारै एमडीजीपी डाक्टर पठाउने बताए ।

जिल्ला अस्पताल बाजुरा प्रदेश सरकार मातहत भए पनि प्रदेश सरकारले पनि त्यसमा कुनै पहल नगरेको गुनासो अस्पताल व्यवस्थापन समितिको छ ।

अध्यक्ष कार्की जिल्ला अस्पताल बाजुराले कहिल्यै दरबन्दी अनुसार जनशक्ति पाउन नसकेको बताउँछन् । उनले भने, ‘हामी आफैंले पहल गरेर बझाङमा रहेका छात्रवृत्तिका एमडीजीपी डाक्टर बाजुरा पठाउन मन्त्रालयलाई पत्र लेखेका थियौं । तर मन्त्रालयले त्यसबारे चासो देखाएको छैन । उहाँ नभए अरु नै पठाउन भन्दा पनि सुनुवाइ भएको छैन ।’

लेखक
प्रकाश सिंह

परोपकारी पत्रकारितामा रूचि राख्ने सिंह बाजुराका पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?