+
+

दुवै मिर्गौला फेल भएका २४ वर्षीय हरिलाल थापाको उपचारमा समस्या

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २९ गते १९:२३

२९ साउन, काठमाडौं । दुवै मिर्गौला फेल भएका मुगु खत्याड गाउँपालिकाका २४ वर्षीय हरिलाल थापाले उपचार खर्च सहयोगका लागि अपिल गरेका छन् ।

फागुन २०७८ मा थापालाई स्वास्थ्य समस्या आएपछि नेपालगञ्जको नर्सिङ होम परीक्षण गर्दा दुवै मिर्गौला फेल भएको पाइएको थियो । नर्सिङ होमले थप उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रिफर गरेको थियो ।

२४ वर्षीय थापाको हाल ज्ञानेश्वरस्थित हिमाल हस्पिटल प्रा.लि.मा नियमित डायलायसिस भइरहेको छ । तर, डायलायसिस सेवा सरकारले निःशुल्क गरे पनि रगत र सिरिञ्जका सामग्री खरिद गर्न पैसा आफैंले तिर्नुपर्छ । ‘हप्ताको दुई पटक डायलायसिस गर्नुपरेको छ । कम्तीमा पनि चार हजार खर्च हुन्छ’ थापाले अनलाइनखबरसँग भने, ‘त्यो खर्च पनि जुटाउन सकेको छैन ।’

चिकित्सकका अनुसार उनको अवस्था चौथो चरणमा पुगेकाले मिर्गौला फेर्नुको विकल्प छैन । चिकित्सकले प्रत्यारोपण गर्नुपर्ने बताए पनि खर्च अभावमा परिवारको कसले दिन मिल्ने भन्ने जाँच गर्न समेत नसकेको थापाले बताए । ‘मिर्गौला कसको मिल्छ भनेर जाँच गर्न पनि पैसा छैन । घरपरिवारमा बुढाबुढी भइसक्नुभएको बुबा–आमा हुनुहुन्छ । अन्य कोही पैसा कमाउने मानिस छैन’ थापाले अनलाइनखबरसँग गुनासो गरे, ‘घरमा सानी छोरी छिन् । परिवारको साथमा बस्न मन छ । बिन्ती सहयोग गरिदिनुहोला ।’

थापा हाल काठमाडौंमा आफन्तको डेरामा बसेर नियमित डायलायसिस गरिरहेका छन् । अहिलेसम्म उपचारमा तीन लाखभन्दा बढी खर्च भइसकेको छ । उनले आफूलाई बचाइदिन सबैसँग आग्रह गरेका छन् ।

थापाको सम्पर्क नम्बर ९८४०२५३०१८ रहेको छ । सहयोग गर्न चाहने महानुभावले राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नम्बर ११७०१००६०३३२१०१० रकम जम्मा गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?