+
+

विवेकशील साझा : रवीन्द्र मिश्र र मिलन पाण्डे दुबै बाहिरिए

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २९ गते २२:१८

२९ साउन, काठमाडौं । लामो विवादपछि विवेकशील साझा पार्टीबाट रवीन्द्र मिश्र र मिलन पाण्डे दुबै बाहिरिएका छन् ।

लामो समयदेखि पार्टीको गतिविधिमा सहभागी नभएका पाण्डेले पार्टी पुनर्गठनको घोषणा गरेका छन् भने साझा विवेकशीलले मिश्रको राजीनामा स्वीकृत गरेर नयाँ नेतृत्व चयन गरेको छ ।

आइतबार बसेको केन्द्रीय समितिको बैठकले समीक्षा बास्कोटालाई अध्यक्ष र सञ्जीववल्लभ भट्टराईलाई संयोजक चयन गरेको विवेकशील साझाले बताएको छ ।

३८ वर्षीया बास्कोटा वागमती प्रदेशकी पूर्व संयोजक हुन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार थिइन् । ३४ वर्षीय भट्टराई भने तत्कालीन विवेकशील नेपाली दलको निर्वाचित नीति सचिव तथा विवेकशील साझा पार्टीको निति विभाग प्रमुख थिए ।

मिश्र बाहिरिए

२०७३ फागुनमा पत्रकारिता छाडेर राजनीतिमा होमिएका मिश्रले आफ्नै नेतृत्वमा साझा पार्टी स्थापना गरेका थिए । डा. सूर्यराज आचार्य, मुमाराम खनाल, किशोर थापा, केशव दाहाल लगायतको साथ पाएको साझा पार्टीले २०७४ वैशाखको स्थानीय चुनावमा सम्मानजनक मत पायो । उज्वल थापा नेतृत्वको विवेकशील नेपाली दलले पनि राम्रो मत पाएका कारण ११ साउन २०७४ मा एकता भयो ।

मिश्र र थापा संयोजक बने । वैकल्पिक राजनीतिको नारा दिएको विवेकशील साझाका उमेदवारहरुले मंसिर २०७४ को प्रतिनिधिसभा चुनावमा सम्मानजनक मत पाए भने बाग्मती प्रदेशसभामा समानुपातिकतर्फ तीन सिट सुरक्षित गर्‍यो ।

तर पार्टी एकता टिकेन । २७ पुस २०७५ मा उज्जवलको नेतृत्वको समूह बाहिरियो र विवेकशील नेपाली दल बनाए । मिश्रले साझा पार्टीलाई निरन्तरता दिए ।

कास्की २ को उपचुनावमा नराम्रो हार व्यहारेपछि दुबै दलले फेरि एकताको प्रयास थाले । २४ मंसिर २०७५ मा मिश्र अध्यक्ष र मिलन पाण्डे संयोजक रहने गरी पार्टी एकता भयो । पार्टी एकतापछि पनि विवेकशील साझाले ठुलो उभार ल्याउन सकेन ।

बरु सूर्यराज आचार्य लगायतका नेताहरुले पार्टी छाडे । वैकल्पिक राजनीतिका रुपमा पार्टीलाई अघि बढाउन नसकेको बेला मिश्रले ११ साउन २०७८ मा संघीयता खारेज गर्ने र धर्म निरपेक्षतामाथि जनमत संगह गर्ने प्रस्ताव ल्याए । यसले विवेकशील साझा फेरि दुई समूहमा बाँडियो ।

यो विवादका क्रममा आरोप प्रत्यारोप र कारबाहीसम्म पुगेको विवेकशील साझाले ३१ वैशाख २०७९ मा भएको स्थानीय चुनावमा राम्रो नजिता ल्याउन सकेन । २०७४ मा काठमाडौं महानगरको मेयरमा (रञ्जु दर्शना र किशोर थापाले ल्याएको मत जोड्दा) ४० हजार मत कटाएको विवेकशील साझाकी उम्मेदवार समीक्षा बास्कोटाले यो पटक ६४७ मत मात्र पाइन् ।

चुनावी हारपछि मिश्रले ११ जेठमा विवेकशील साझाको अध्यक्ष पदबाट राजीनामा दिएका थिए । यद्यपि लामो समयसम्म उनको राजीनामा स्वीकृत भएन । विभिन्न गुट उपगुटमा विभाजित भएको पार्टीको बैठक समेत बस्न नसक्ने अवस्था आएको भन्दै मिश्रले हालै मात्र चुनावी प्रयोजनका लागि आफ्नै नेतृत्वमा दल दर्ता गरेर अघि बढ्ने विकल्प नेताहरुलाई दिएका थिए ।

तर समीक्षा बास्कोटालाई अध्यक्ष र सञ्जिनवल्लभ भट्टराईलाई संयोजक बनाउने सहमति जुट्यो । आइतबार नै केन्द्रीय समिति बैठक बसेर मिश्रको राजीनामा स्वीकृत गरेको छ भने नयाँ अध्यक्ष र संयोजक तोकेको छ । मिश्र पार्टीको केन्द्रीय समितिमा पनि नरहेकाले अब पार्टीबाट लगभग बाहिरिएको नेताहरु बताउँछन् ।

पाण्डे पनि बाहिरिए

विवेकशील साझाले नयाँ नेतृत्व चयन गर्दैगर्दा पाण्डेले पनि पार्टी पुनर्गठन गर्ने घोषणा गरेका छन् । अर्थात उनी र उनको समूह अब विवेकशील साझामा रहने छैन ।

मिश्र अध्यक्ष रहेका बेला संयोजकबाट हटाएर कारबाही गर्दा समेत उनले पार्टी छाडेका थिएनन् । आफूहरु नै आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगदेखि सर्वोच्च अदालतसम्म गएका थिए । मिश्रले राजीनामा दिएपछि पनि उनले विवेकशील साझामै सक्रिय हुन सकिन्छ कि भनेर नेताहरुसँग छलफल गरेका थिए ।

तर आइतबार वक्तव्य जारी गर्दै उनले पार्टी पुनगर्ठन अभियान अघि बढाउने घोषणा गरेका छन् । जे प्रयोजन र उद्देश्यका लागि पार्टी स्थापना गरिएको हो, त्यसअनुसार अघि बढ्ने भन्दै उनले भनेका छन्, ‘वृहत् छलफल र वैकल्पिक राजनीतिका घटकहरू र नयाँ राजनीतिको सम्भावना खोजिरहेका युवाहरूसँगको परामर्श र सहकार्य पछि पार्टी पुनर्गठनको ठोस खाका छिट्टै सार्वजनिक गर्नेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?