
३० साउन, काबुल । अफगानिस्तानमा मानव अधिकारको अनुगमन बारे संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक रिचर्ड बेनेटले महिलाहरूको विरोधलाई दबाउन ‘अत्यधिक बल प्रयोग’ गरिएका घटनाको निन्दा गरेका छन् । उनले यसलाई महिलाहरूको अभिव्यक्ति स्वतन्त्रताको हनन भएको बताएका हुन्।
तालिवानका यस्ता महिला विरोधी कार्यको सार्वजनिक रूपमा निन्दा गर्दै उनले गोली चलाएर शान्तिपूर्ण विरोधलाई दमन गरिएका यस्ता कार्यको निन्दा गरेका छन् ।
बेनेटले ट्वीटरमा लेखेका छन्, ‘काबुलमा महिलाहरूको शान्तिपूर्ण प्रदर्शन विरुद्ध बल प्रयोग र दुर्व्यवहार उनीहरूको भेला हुने अधिकार र स्वतन्त्रताको अधिकारको हनन हो ।’
खामा प्रेसका अनुसार काबुलमा ‘खाना, काम र स्वतन्त्रता’ भन्ने नारा सहित भेला भएका महिला जुलुसलाई दमन गर्ने क्रममा तालिबानले केही पत्रकारहरूलाई गिरफ्तार गरेको र महिलाहरू माथि दमन गरेको बताइएको छ ।
यसअघि पनि संयुक्त राष्ट्रसंघका विज्ञहरूले चेतावनी दिदै यदि हालको अवस्थामा सुधार नगरिए अफगानिस्तानको भविष्य ‘अन्धकार’ रहने बताएको छ।
तालिबानले सन् २०२१ अगस्टमा सत्ता कब्जामा लिएपछि महिला र बालिकाहरूको शिक्षा, काम र स्वतन्त्र आवतजावतको अधिकार उल्लङ्घन गरेको छ र घरेलु हिंसाबाट भाग्नेहरूको सुरक्षा र समर्थनको प्रणालीलाई ध्वस्त पारेको छ।
तालिबानले यस्तो भेदभावपूर्ण नियमहरूको सामान्य उल्लङ्घनमा समेत महिला र केटीहरूलाई हिरासतमा राखेको छ । यो सँगै अफगानिस्तानमा पछिल्लो समय बालविवाह र जबरजस्ती विवाहको दरमा वृद्धि भएको छ।
विभिन्न अधिकारवादी समूहहरूले तालिबानलाई यस्ता नीतिहरू परिवर्तन गर्न आह्वान गरिरहेका छन् ।
अफगानिस्तानमा पछिल्ला दिनमा महिला विरोधी कदमको व्यापक विरोध भएका छन् तर तालिबानले प्रदर्शनकारीहरू माथि उत्पीडन, दुर्व्यवहार, स्वेच्छाचारी गिरफ्तारी र नजरबन्द गर्दै शारीरिक यातना दिदै बेपत्ता पारेका छन् । एएनआई
प्रतिक्रिया 4