
३१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले रुकुम पश्चिमको चौरहजारी विमानस्थलमा हवाइ सेवा सञ्चालन गर्न सरकारसँग माग गरेका छन् ।
जाजरकोट, रुकुम पश्चिम, सल्यान जिल्लालाई पायक पर्ने ठाउँमा रहेको उक्त विमानस्थलको पूर्वाधार तयारी अवस्थामा रहेको भन्दै उनले सञ्चालन गर्न माग गरेका हुन् ।
मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद बस्नेतले सरोकारवाला निकायलाई पटक पटक अनुरोध गर्दै आइरहे पनि विमानस्थल सञ्चालनमा बेवास्ता भएको बताए ।
‘पूर्वाधार तयार भएको छ । कालोपत्रेसहितको रनवे छ । तर पनि सेवा सञ्चालन हुन सकिराखेको छैन । तत्काल सेवा संचालनका लागि म नेपाल सरकारसँग विशेष आग्रह गर्न चाहन्छु’ उनले भनेका छन् ।
सांसद बस्नेतले मध्यपहाडी लोकमार्ग अन्तर्गत भेरी नदीमा पर्ने पुल निर्माण सुरु भएको एक दशक बित्दा पनि पूरा नभएको भन्दै सरकारको आलोचना गरे ।
‘अहिलेसम्म २० प्रतिशत काम पनि हुन सकेको छैन’ उनले भने, ‘त्यो निर्माण कार्य सम्पन्न नहुनुको कारण के हो, त्यो कुराको खोजीसहित निर्माण कार्य छिटो सम्पन्न गर्नका लागि म नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
प्रतिक्रिया 4