+
+

भोलिदेखि सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई सापटी दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १६:३१

३१ साउन, काठमाडौं । सामाजिक सुरक्षा कोषले भोलिबाट योगदानकर्ता श्रमिकलाई विशेष सापटी दिन थाल्ने भएको छ । भोलि बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा एक कार्यक्रमका बीच श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सापटी योजनाको कार्यान्वयन सुरु गर्नेछन् ।

सरकारले निजी क्षेत्रका श्रमिकलाई लक्षित गरेर दुई वर्ष अगाडि योगदानमा आधारित सामाजिक सुरक्षा योजना अघि सारेको थियो । श्रमिकले जम्मा गरेको रकम अप्ठ्यारो पर्दा पनि निकाल्न नपाइने लगायतका अव्यवहारिक व्यवस्थाका कारण रोजगारदाता मात्रै होइन, धेरै श्रमिक पनि कोषमा आवद्ध हुन चाहिरहेका छैनन् ।

योजनाप्रति श्रमिकको आकर्षण बढाउन सरकारले सामाजिक सुरक्षा कोषको कोषको लगानी सम्बन्धी कार्यविधि ल्याएर यसअघिका कठोर र अन्यायपूर्ण व्यवस्थाहरु सुधारको थालनी गरेको थियो ।

‘सामाजिक सुरक्षा कोष लगानी कार्यविधि-२०७७’ ले श्रमिकले आफूले सामाजिक सुरक्षाबापत योगदान गरेको रकमबाट सापटी पाउने बाटो खोलेको थियो । मंसिर २०७७मा मन्त्रिपरिषद्ले पारित गरेको कार्यविधि अनुसार सामाजिक सुरक्षा कोषले अब १२ किसिमका कर्जा तथा सापटी रकम परिचालन गर्नसक्छ ।

समाजिक सुरक्षा कोषमा अनुसार अवकास योजनामा योगदानकर्ताले जम्मा गरेको रकमको ८० प्रतिशतसम्म रकम सापटीका रुपमा लिन पाइने छ । तर, योगदान गरेको ३ वर्ष पुगेका श्रमिकले मात्रै यो सुविधा पाउनेछन् ।

कोषका एक अधिकारीका अनुसार ५० हजार वा योगदान रकमको ८० प्रतिशतसम्मको रकमका जुन रकम बढी हुन्छ, त्यसकै आधारमा सपाटी प्रदान गरिने छ ।

कोषले श्रमिक र रोजगारदाताबाट जम्मा हुने पारिश्रमिकको ३१ प्रतिशतमध्ये २८.३३ प्रतिशतभित्रबाट अवकासतर्फको हिस्सा पनि छुट्याएर त्यसकै आधारमा सापटी परिचालन गर्नेछ ।

हालसम्म १७ हजार २७४ रोजगारदाता र ३ लाख ५२ हजार ९२४ जना श्रमिक यो कोषमा आवद्ध भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?