+
+

यस्ता छन् नेपाली चियाबारे भारतीय सांसदका ११ आरोप

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ भदौ १ गते १७:४०
इलामको चिया बगान । फाइल तस्वीर

१ भदौ, काठमाडौं । भारतका सांसदहरुले नेपालको चिया गुणस्तरहीन भएको आरोप लगाएका छन् । भारतीय संसदको एक समितिले नेपालमा उत्पादन हुने चिया सस्तो र गुणस्तरहीन भएको भन्दै नेपाली चियाको आयात रोक्नुपर्ने सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । भारतका दुई वटा सदनका ३० जना सांसद सहभागी एक समितिले सरकारलाई प्रतिवेदन बुझाएको हो ।

उक्त प्रतिवेदन गत असार एक (१५ जुन, २०२२) मा भारतको राज्य सभा र लोक सभामा पेश भएको छ । सांसद विजयसाई रेड्डीले नेतृत्व गरेको समितिको प्रतिवेदनको सम्पूर्ण विषय र निर्देशन नेपाली चिया रोक्नुमा केन्द्रित छ । नेपाली चियामा भारतीय सांसदले लगाएका ११ आरोप यस्ता छन् –

  • नेपालको सस्तो र गुणस्तरहीन चिया आयातका कारण विश्वको एक मात्र उत्कृष्ट दार्जिलिङ चियालाई असर परिरहेको छ । भारतको कुल चिया उत्पादनको झण्डै २ प्रतिशत हाराहारी चिया यहाँका छिमेकी मुलुकबाट आयात हुने चार वर्षको आयातको विवरणले देखाउँछ । जसमा कुल आयातको आधा हिस्सा नेपालले ओगट्छ ।
  • सन् २०२१ को ११ महिनामा भारतका छिमेकी मुलुकहरुबाट २ करोड २९ लाख ४० हजार किलो हाराहारी चिया आयात भएको छ । जसमध्ये त्यसको ५० प्रतिशत हिस्सा नेपालको छ । गत वर्ष पनि यो समयमा यस्तै परिमाणमा चिया नेपालबाट आएको थियो । नेपालबाट आएकामध्ये धेरै मात्रामा चिया सस्तो र गुणस्तरहीन छन् । त्यसलाई भारत ल्याएर यहाँको चर्चित ब्रान्ड भारतीय, दार्जिलिङ र आसाम ब्रान्डमा विश्व बजारमा पठाउने काम भइरहेको छ । यसले विश्व बजारमा भारतीय चियाको छवि धमिलो बनाएको छ ।
  • भारतमा चियासँग सरोकार राख्ने विभिन्न संघ संस्थाले संसदीय समितिलाई नेपालबाट आयात हुने सस्तो र गुणस्तरहीन चियाको परिमाण धेरै भएको बताएको प्रतिवेदनमा उल्लेख छ । जसअनुसार आर्थिक वर्ष भारतको सन् २०१३/०१४ देखि सन् २०१८.१९ सम्म एक करोडदेखि एक करोड २० लाख किलोसम्म औसत चिया भारत भित्रिएको उल्लेख छ ।
  • नेपालको सस्तो र कम गुणस्तरको चियाका कारण भारतको राम्रो दार्जिलिङ चिया विश्व बजारमा अलोकप्रिय हुँदैछ । राम्रो मूल्य र बजार भएको चिया र यसबाट हुने आम्दानी भारतीय चियाका उद्योगी व्यपारीले नपार्नु राम्रो होइन । अझ भारतले कुल आयात गर्ने चियाको आधा हिस्सा नेपाली हुनु यसलाई बल पुर्याउनु हो ।
  • नेपाल–भारत व्यापार सन्धिको संशोधनमा आधारभूत भन्सार शुल्क वा परिमाणात्मक बन्देज लगाउन सकिने पारस्परिक सहमति भएको छ । जसअनुसार नेपालको चियालाई यस्तो उपचार गर्नु पर्ने छ ।
  • नेपालको चिया भारत सरकारले विना कुनै भन्सार शुल्क आयात हुन दिइरहेको छ । जबकी भारतको चिया नेपालमा निर्यात गर्न उसले ४० प्रतिशत भन्सार लगाएको छ । नेपालले विभेदकारी नीति लिंदा यसमा भारत चुप बस्नु हुँदैन ।
  • नेपालबाट भारतमा आयात हुने चियालाई एउटै नाकाबाट मात्रै आयातको प्रतिबन्ध गरिनु पर्छ । ती चियाहरुमा अनिवार्य गुणस्तर मापन र स्यानिटरी तथा फाइटो स्यािनटरी परीक्षण भन्सार बिन्दुमै गरिनु पर्छ । नेपालबाट कस्ता चिया आयात गर्ने भन्नेमा भारतले मापदण्ड बनाउनु पर्छ ।
  • नेपालबाट आयात गरिने चियामा न्यूनतम् आयात मूल्य तोकिनु पर्छ । भारतीय चियाको सुरक्षाका लागि नेपालबाट आउने चियाका लागि एन्टी डम्पिङ भन्सार शुल्क वा एक सय प्रतिशतसम्म आयात भन्सार शुल्क लगाउन जरुरी छ ।
  • भारतको दार्जिलिङ चिया भौगोलिक परिचय संकेत प्राप्त चिया भएको र यसको ख्यातीलाई प्रयोग गरेर अन्य चियाले बजार विगारेको हुन सक्ने देखिन्छ । तसर्थ, नेपाल लगायतका मुलुकबाट भारत तथा विश्व बजारमा जाने चियामा चिया कन्ट्री अफ ओरिजिन (उत्पत्तिको प्रमाण पत्र) निवार्य गरिनु पर्छ । यस्तो प्रमाणपत्र होलसेलदेखि खुद्रा र अन्तर्राष्ट्रिय बजारमा पनि हुनुपर्छ ।
  • प्रिमियम दार्जिलिङ चिया बचाउन, भारतको चिया र उद्योगी तथा किसान बचाउन नेपालको सस्तो र गुणस्तरहीन चिया आयात रोक्न कडा र उपयुक्त नीति लिनु जरुरी छ ।
  • भारतको अन्तर्राष्ट्रिय व्यापार महानिर्देशनालयले नेपाली चियालाई रोक्ने सम्बन्धमा थप अनुसन्धान गरिनु पर्छ र नेपाल भारत व्यापार सन्धिको बार्तामा पनि कडाइका साथ भारतले उठाउनु पर्छ ।

भारतको संसदमा बुझाइएको प्रतिदेवेखनबारे भारत सरकारले अहिलेसम्म कुनै निर्णय भने गरेको छैन । तर, जुनसुकै बेला भारतले यस्तो निर्णय गर्न सक्ने भन्दै नेपाली चिया उत्पादक र व्यवसायीहरु भने त्रासमा छन् । उनीहरुले भारतसँग कूटनीतिक रुपमा पहल थाल्न आग्रह पनि गरिसकेका छन् । नेपालले भारतमा वार्षिक ५ अर्ब हारहारीको सवा एक करोड किलो हाराहारी चिया निर्यात गर्ने गरेको नेपाल चिया उत्पादक संघले जनाएको छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?