+

कसरी प्रयोग गर्ने महिनावारी कप ?

२०७९ भदौ  १ गते १४:४२ २०७९ भदौ १ गते १४:४२
कसरी प्रयोग गर्ने महिनावारी कप ?

काठमाडौं । महिनावारी कप कसरी लगाउने ? यसले कुनै हानी गर्छ कि ? रगत भरिएको कसरी थाहा पाउने ? भित्रै अड्किने पो हो कि ? धेरैको चासो र जिज्ञासा छ ।

किनभने अहिले महिनावारीको बेला कप लगाउने क्रम सुरु भएको छ । यो सेनिटरी प्याडको विकल्पमा प्रयोग हुन थालेको हो । तर सेनिटरी प्याडमा अभ्यस्त महिलाहरु हत्तपत्त यो कप लगाउन हच्किन्छन् । किनभने झट्ट हेर्दा यो असजिलो र झन्झटिलो देखिन्छ ।

जबकि, प्रयोगकर्ताहरुले यसलाई अरु बढी प्रभावकारी, सहज र टिकाउ भनिरहेका छन् । वास्तवमा महिनावारी कप कति उपयोगी र प्रभावकारी छ त ? यसै विषयमा केन्द्रित रहेर प्रसूति तथा स्त्रीरोेग विशेषज्ञ डा. कुमकुम झासँग गरिएको कुराकानी :

महिनावारी कप कसरी प्रयोग गर्ने ?

सबैभन्दा पहिले आफूलाई कुन आकारको कप ठीक हुन्छ, त्यही आकारको कप खरिद गर्नुपर्छ । कपलाई प्रयोग गर्नुभन्दा अघि साबुनपानीले राम्ररी हात धुनुपर्छ । यो कप एकदमै नरम हुने भएकाले यसलाई दोब्राएर योनीभित्र छिराउन सकिन्छ ।

कपलाई ‘सी’ आकारमा पट्याएर प्रयोग गरिन्छ । तर कप प्रयोग गर्नुअघि त्यो सफा र सुक्खा हुनुपर्छ । कपलाई दोब्राएर वा ‘सी’ आकारमा पट्याएर योनीभित्र राखेर पाठेघरको मुखमा अड्काउनुपर्छ । त्यसपछि त्यो आफैं खुल्छ र रगत नचुहिने गरी सिल गरेर बस्छ । सिल हटाउनका लागि चाहिं कपको तलको भाग हल्लाउनुपर्छ र तान्नुपर्छ । यसको प्रयोग गर्न सुरुसुरुमा अनौठो वा अप्ठ्यारो लागे पनि पछि बानी पर्दै गए पछि सजिलो हुन्छ ।

यो कति प्रभावकारी हुन्छ ?

महिनावारी कपलाई राम्ररी प्रयोग गर्न सक्यो भने यो एकदमै प्रभावकारी हुन्छ । यो कप प्रयोग गर्न एकदमै सहज छ । रगत लिग भएर कपडामा लाग्ने समस्या हुँदैन । प्याडको एलर्जी हुनेहरूको लागि त यो झन् प्रभावकारी हुन्छ । एकपटक किनेपछि यसलाई पुनः प्रयोग गर्न पनि सकिने भयो । एकदेखि दुई वर्षसम्म प्रयोग गर्न मिल्ने भएकाले प्याड भन्दा सस्तो पनि पर्ने भयो ।

यो कप प्रयोग गर्दा कुनै साइड इफेक्ट हुन्छ ?

कपको प्रयोग गर्दा यदि हामीले हाइजिन मेनटेन गरेनौं भने इन्फेक्सन हुने सम्भावना हुन्छ । त्यसैले प्रत्येक पटक कप प्रयोग गर्नुअघि साबुनपानीले राम्ररी हात धुने र कपलाई पनि राम्ररी सफा गर्नुपर्छ ।

यो कपमा रगत भरिएपछि कसरी परिवर्तन गर्ने ?

कपमा ब्लड भरिएपछि कपको टुप्पोमा समातेर कपलाई बिस्तारै निकाल्नुपर्छ । झ्वाट्ट तान्नु हुँदैन यसो गर्दा पीडा हुन सक्छ । त्यसैले कपको टुप्पोमा समातेर बिस्तारै घुमाउँदै घुमाउँदै  तानेर निकाल्नुपर्छ । आफूलाई कुन पोजिसनमा बसेर कप निकाल्न सहज हुन्छ, त्यसरी निकाल्दा झन् सजिलै निस्कन्छ । त्यो भरिएको कपलाई सफा गरेर फेरि प्रयोग गर्न सकिन्छ ।

यो कप भित्रै अड्किने हुँदैन ?

कहिलेकाहीं यो कप भित्रै अड्किने समस्या पनि हुन सक्छ । त्यस्तो समस्या लिएर केही अस्पताल पनि आउँछन् । कपको पोजिसन बिग्रेर त्यस्तो समस्या हुन सक्छ । कपको टुप्पा हातले भेटिएन भने त्यो पाठेघरमा अड्किएको हुन सक्छ । त्यस्तो समस्या भएको खण्डमा धेरै नआत्तिकन अस्पताल जानुपर्छ, डराउनुपर्दैन । चिकित्सकको सहयोगमा यसलाई निकाल्न सकिन्छ ।

यो कप लगाएको बेला पिसाब फेर्न सकिन्छ ?

यो कप लगाएको बेला सजिलै पिसाब फेर्न सकिन्छ । पाठेघरको मुख र पिसाब फेर्ने नली फरक–फरक हुन्छ । पिसाबको नलीमाथि हुन्छ र पाठेघरको मुख तलपट्टि हुन्छ । त्यसैले महिनावारी कप लगाएको समयमा पनि पिसाब फेर्न अप्ठ्यारो हुँदैन ।

कप प्रयोग गरिसकेपछि कसरी राख्ने ?

महिनावारी कप प्रत्येक ८ देखि १२ घण्टामा खाली गर्नुपर्छ । रगतले कप भरिएपछि यसलाई पखालेर पुनः प्रयोग गर्न सकिन्छ । महिनावारी सकिएपछि यो कपमा भएको कीटाणु मार्न पाँचदेखि १० मिनेटसम्म तातोपानीमा उमाल्नुपर्छ । यसरी उमालेर सफा गरेर सुख्खा बनाएर राखेको कप अर्को महिनावारीमा पुनः प्रयोग गर्न सकिन्छ ।

मूल्य कति पर्छ ?

एउटा मिन्सुरेसन कपको मूल्य ८ सयदेखि १५ सय रुपैयाँसम्म पर्न आउँछ । जुन प्याड भन्दा धेरै महंगो हो । तर यो प्रत्येक महिना पुनः प्रयोग गर्न सकिन्छ र १ देखि २ वर्षसम्म पुग्छ । त्यसैले लामो समयलाई हेर्ने हो भने आर्थिक रूपमा यो निकै सस्तो र प्रभावकारी हुन्छ ।

भविष्यमा यो कपले स्यानिटरी प्याडलाई  प्रतिस्थापन गर्न सक्छ ?

अवश्य पनि सक्छ । सहरी क्षेत्रमा बस्नेहरूका लागि पो प्याड किन्न सहज छ । घर नजिकै पसलमा यो सजिलै पाइन्छ । तर गाउँघरमा जुन ठाउँमा एउटा सानो सामान किन्न पनि धेरै हिंड्नुपर्छ, त्यस्तो ठाउँमा यो कप झन् उपयोगी हुन्छ ।

कसरी प्रयोग गर्ने र कसरी सरसफाइ गर्ने भन्ने ज्ञान महिलाहरूलाई दिन सकियो भने प्याडको सट्टामा यसको प्रयोग बढ्न सक्छ ।

यसको प्रयोगले कुमारीत्वमा कुनै असर गर्छ ?

यसको प्रयोग योनीभित्र छिराएर गरिने भएकाले यसले कुमारीत्वमा असर गर्छ कि भनेर प्रयोग गर्न हिच्किचाउनेको संख्या पनि थुप्रै छ । यसको प्रयोगले कुमारीत्वमा कुनै पनि असर गर्दैन ।

पुनः प्रयोग गर्न मिल्ने, वातावरणमैत्री, लामो समयसम्म टिक्ने र आर्थिक रूपले किफायती भएकाले पछिल्लो समयमा महिनावारी कप धेरैको रोजाइमा परेको छ ।

तस्वीर-भिडियो : शंकर गिरी

महिनावारी कप
डा. कुमकुम झा
लेखक
डा. कुमकुम झा
स्त्री तथा प्रसूतिरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३५२६ अध्ययन : एमबीबीएस, एमडी र एमएस हाल काठमाडौं थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताल र त्रिपुरेश्वरस्थित ब्लुबर्ड इन्टरनेसनल अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय