+
+

३८ लागिन् रेखा, भन्छिन्- मेरो कर्तव्य र जिम्मेवारी बल्ल सुरु भएको छ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ५ गते ११:४४

काठमाडौं । अभिनेत्री तथा नेतृ रेखा थापा आइतबार ३८ औं जन्मदिन बनाउँदैछिन् । २१ वर्षअघिको फिल्म ‘हिरो’बाट अभिनयमा डेब्यु गरेकी रेखा ट्रेन्डसेटर अभिनेत्री हुन्, जसले महिला पात्रलाई फिल्मको पर्दामा स्थापित गर्न ठूलो भूमिका निर्वाह गरिन् ।

चरित्रको रुपमा फिल्मलाई एक्लै काँधमा राखेर अघि बढाउने श्रेय उनलाई जान्छ । हिरोको वरिपरि नाच्ने परम्परागत नायिका चरित्रलाई बदलेर एक्सन र विद्रोही चरित्र बदल्नमा उनको योगदान छ । अभिनेत्रीको स्टारडम सिर्जना गर्ने कार्यमा उनले महत्वपूर्ण भूमिका खेलिन् ।

मंसिर ४ मा हुने संसदीय चुनावपछि रेखा आफ्नो होम प्रोडक्सन ब्यानरबाट फिल्म निर्माणको तयारीमा छन् । रेखाले आफ्नो करिअरलाई कसरी बुझिन्, आउने समयमा उनको योजना कस्तो छ ? रेखाले जन्मदिनको अवसर पारेर अनलाइनखबरसँग यसरी कुरा गरेकी छन्-

धर्तीमा आउने सबै मान्छेहरु धर्तीका उत्कृष्ट उपहार हुन् भन्ने म ठान्दछु । जन्मेपछि हरेक मान्छेले आ-आफ्नो कर्मअनुसारको काम गरेका हुन्छ । कोही मान्छे देखिंदा सफल देखिएला, कोही मान्छे नदेखिएर पनि सफल होला । धर्तीमा जन्मिएका प्रत्येक मान्छे सफल होलान् भन्ने भन्ठान्छु ।

मेरो दृष्टिकोणमा हरेक मान्छेहरु हिरो हुन् भन्ने ठान्छु म । मैले यो धर्तीलाई रिटर्नमा के दिन्छु भन्ने कुराले जन्मिएको सार्थकता पाउँछ । प्रयास, मान्छे हुनुको धर्म, मान्छे हुनुको कर्म निर्वाह गर्ने जिन्दगीको सुरुवात बल्ल भएको छ ।

यसअघि मैले जीवनमा कति चीजहरु गल्ती गरे हुँला । कति गल्तीबाट सिकें हुँला । कति चीजहरु आएन होला । कति चीजमा मेरा दर्शक, जनताले खबरदारी गरिदिनुभयो । आज चलचित्र क्षेत्रमा लागेको २१ वर्ष भयो । यो समय मेरा दर्शकको नितान्त काख र आँखामा बितेको छ । मैले संस्कार, अनुशासन पाएँ, यी सबै मेरा दर्शकले दिएको उपहार हो भन्ठान्छु म । मैले गर्नुपर्ने कर्तव्य र जिम्मेवारीको सुरुवात बल्ल भएको छ ।

मैले देशलाई गर्नुपर्ने योगदान दिन म बल्ल सक्षम भएकी छु । बल्ल म हरेक एंगलबाट परिपक्व भएको महसुस गर्‍या छु । अझै पनि गल्ती लाइफमा हुनसक्छ, तर त्यही गल्ती नै मेरो पाठशाला हो । त्यहींबाट मैले सिक्ने हो । यो धर्ती र सबै मानिसहरु मेरा शिक्षक हुन् । यो धर्ती मेरो युनिभर्सिटी हो ।

मैले गरेका कमीकमजोरीबाट म सिक्दै जान्छु । जुन मलाई माया, सम्मान र सद्भाव दिनुभएको छु, मप्रति जुन आशा छ, त्यसलाई म निराशामा बदलिन दिन्न र मैले गर्नुपर्ने कर्तव्य गरेर जान्छु म यो धर्तीबाट बिदा हुन्छु । ९० वर्षसम्म पनि यस्तै हौसला र प्रेरणा पाइराखेको खण्डमा म नेपाली जनता, दर्शक र माटोप्रति समर्पित भएर अघि बढ्छु ।

५७ सालदेखि ७९ सम्म मेरो किशोरावस्था पनि यहीं बित्यो । धेरैलाई खबरदारी गर्दै माया र पुल्पुलिएर बित्यो । हिजोसम्म म पहिचानको लागि काम गर्थें, भोलिबाट यो देशका लाखौं प्रतिभाशाली महिला दिदीबहिनीहरु जो मभन्दा बढी क्षमता भएर पनि विरहमा बाँच्न बाध्य हुनुहुन्छ । उनीहरुको लागि एउटा आवाज र सशक्तता बन्न सकुँ । देशका दाजुभाइका लागि मैले गर्नुपर्ने काम गर्न सकुँ र आउँदो वर्ष नेपाली समाज, नेपाली दाजुभाइ दिदीबहिनीप्रति समर्पित हुन्छु ।

उहाँहरुले देश छाडेर जानु नपरोस् भनेर कसरी आवाज बुलन्द बनाउन सकिन्छ म त्यता लाग्छु । दिदीबहिनी पनि जो क्षमता भएर पनि गर्न पाएका छैन्न, त्यता पनि लाग्छु ।

फिल्म पनि अर्को अभियान हो । फिल्म पनि एउटा राजनीति हो । राजनीति भनेको सबैभन्दा उत्कृष्ट सेवा हो भन्ने मैले बुझ्नुपर्छ । फिल्म राजनीति र अभियान पनि हो जसले नेपाली जनताको मानसपटलमा हलचल ल्याउन सक्छ । राजनीति जनता र फिल्म मेरा लागि परिपूरक हुन् । म एकैपटक समेटेर लैजान सक्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?