
५ भदौ, विराटनगर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि मोरङमा ८ वटा मतदान स्थल परिवर्तन गर्न प्रदेश निर्वाचन कार्यालय विराटनगरले सिफारिस गरेको छ ।
३०० मतदानस्थल रहेको मोरङमा साँघुरो र अपायक स्थानमा रहेका ८ वटा मतदान स्थल सर्वदलीय सहमतिका आधारमा सार्न सिफारिस गरेको हो ।
प्रदेश निर्वाचन अधिकृत लेवन कास्यप अधिकारीका अनुसार कटहरी गाउँपालिका-३ को कार्यालयमा रहेको मतदान स्थललाई जनप्रिय माध्यमिक विद्यालयमा सार्न सिफारिस गरिएको छ । कटहरी– ७ को लक्ष्मी आधारभूत विद्यालयमा रहेको मतदान स्थललाई सोही वडाको वडा कार्यालयमा सार्न सिफारिस गरिएको छ ।
विराटनगर महानगरपालिका– ८ को सप्तकोसी बोर्डिङ स्कुलको मतदान केन्द्र श्रीशु शिक्षा निकुञ्ज आधारभूत विद्यालयमा सार्नका लागि सिफारिस गरिएको उनले बताए ।
केराबारी गाउँपालिका– १० मा रहेको पालिकाको कार्यालयबाट केयू एकेडेमी, बेलबारी नगरपालिका– ८ को ज्ञानोदय आधारभूत विद्यालयबाट रणपाल आधारभूत विद्यालयमा मतदान केन्द्र सार्न सिफारिस गरेको छ ।
बुढीगंगा गाउँपालिका–२ को हेल्थपोष्टमा रहेको मतदान स्थललाई लीलाभक्त आधारभूत विद्यालयमा स्थानान्तरणका लागि सिफारिस गरेको अधिकारीले बताए ।
धनपालथान गाउँपालिका– २ को लोकेश्वर आधारभूत विद्यालयबाट अमाहीवरियाती स्वास्थ्य चौकी, रतुवामाई नगरपालिका–५ को उपस्वास्थ्य चौकीबाट वडा कार्यालयमा मतदान स्थल सार्न सिफारिस गरेको छ । स्थानीय तहले सर्वदलीय छलफलबाट सिफारिस गरेपछि प्रदेशले निर्वाचन आयोगमा स्थानपरिवर्नका लागि सिफारिस गरेको हो ।
कार्यालयले मोरङका चार वटा मतदान स्थललाई टुक्र्याउन पनि सिफारिस गरेको छ । कार्यालयका अनुसार रंगेली नगरपालिका–४ को गणेश माध्यमिक विद्यालय मतदान स्थललाई टुक्रयाएर जनता माध्यमिक विद्यालय आमतोलामा विस्तार गर्नका लागि सिफारिस गरेको छ ।
कानेपोखरी गाउँपालिका– ६ का जनसेवा माबी मतदान स्थललाई टुक्राएर पञ्चज्योति आधारभूत विद्यालय थप गर्न सिफारिस गरेको छ ।
बेलबारी नगरपालिका–१ जनएकता स्कुलबाट बेलबारी नगरपालिकाको कार्यालयमा टुक्रयाउन सिफारिस गरेको छ ।
बेलबारी नगरपालिका– ११ को लक्ष्मी आधारभूत माबी मतदान स्थललाई टुक्रयाएर लक्ष्मी उपभोक्ता सामुदायिक वनमा मतदान स्थल थप गर्न सिफारिस गरेको छ ।
मिक्लाजुङ गाउँपालिका– १ को टाँडी मावि मतदान स्थललाई टुक्रयाएर मनोहरा मावि, केराबारी गाउँपालिका– ४ को जनकल्याण माध्यमिक विद्यालयलाई टुक्रयाएर जहदम्बी आधारभूत विद्यालय र वडा नम्बर ९ को रामवीर आधारभूत विद्यालयलाई टुक्रयाएर वुद्ध मावि मतदान स्थल थप गर्न सिफारिस गरेको छ ।
स्थानीय तहबाट सर्वपक्षीय सहमतिसहित सिफारिसका लागि पत्र आएपछि आयोगमा सिफारिस गरेको अधिकारीले जानकारी दिए । मोरङमा तीन सय मतदान स्थल र मतदान केन्द्र ८२० वटा छन् ।
प्रतिक्रिया 4