+
+

निकुञ्जको लापरवाहीले मासिए अर्ना, घडियाल पनि जोखिममा

सुवास पण्डित सुवास पण्डित
२०७९ भदौ ६ गते ९:०४
चितवन राष्ट्रिय निकुञ्जका अर्ना । अहिले सबै अर्ना मासिएका छन् ।

६ भदौ, चितवन । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको लापर्वाहीका कारण वंश विस्तारका लागि ल्याइएका अर्ना चितवनमा मासिए । अर्ना मात्रै मासिएनन् विश्वकै दुर्लभ मानिने घडियाल कोहीको प्रजनन् केन्द्र कसरामा नै बाघ पसेर ४ गोही मार्यो । यी दुबै ठाउँका इन्क्लोजरको समयमा नै मर्मत सम्भार नगर्दा बाघ पसेर क्षति गर्यो । यसबाट निकुञ्जका अधिकारीहरुको गम्भीर हेलचेक्राइँ देखिएको त छ नै संरक्षित वन्यजन्तुका लागि गरिएको लाखौंको लगानी खेर पनि गएको छ ।

चितवन राष्ट्रिय निकुञ्जबाट अर्ना लोप भएको ५७ वर्षपछि संरक्षण र वंश विस्तारका लागि भन्दै कोशी टप्पु वन्यजन्तु आरक्षबाट १२ र सदर चिडियाखानाबाट ३ गरी जम्मा १५ वटा अर्ना चितवन ल्याएका थिए । ती अर्नाबाट ८ वटा पाडापाडी जन्मिएका थिए । ती २३ वटा अर्नाहरूमध्ये अहिले एउटा पनि बाँकी छैनन् ।

निकुञ्जका अनुसार गएको साउन ३० गते निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा इन्क्लोजर भित्र राखिएका ३ वटा पोथी अर्नालाई बाघले भित्रै पसेर आक्रमण गरेर मारेको निकुञ्जले जनाएको छ। यसअघि पनि बाघले इन्क्लोजर भित्र नै पसेर २ अर्ना मारेको थियो । केही रोगब्याधिले र केही बाढीले बगाएर मरेका थिए । इन्क्लोजरमा रहेका २३ अर्ना मध्ये गत आर्थिक वर्ष (०७८/७९) मा मात्रै १० अर्ना मरेका थिए । साउनमा थप ३ गरेर १३ अर्ना पछिल्लो १४ महिनामा मरेका छन् ।

निकुञ्जले एकैदिन तीन वटा अर्ना बाघले मारेको भनेर विज्ञप्ती जारी गरेको छ । निकुञ्जका एकजना संरक्षण अधिकारी भने बाघले एकैदिनमा तीन अर्ना मार्न नसक्ने बताउँछन् । तर अधिकारी भन्छन्, ‘बाघले एकैदिन तीन अर्ना मार्दैन, एउटा मारेर खान्छ, त्यो खाएपछि मात्रै बल्ल अर्को मार्छ, चितुवाले सबैलाई एकैपटक मार्छ, तर बाघले एकैपटक सबैलाई कहिल्यै मार्दैन, कम्तीमा पनि १५ दिनभन्दा अगाडि नै त्यसले त्यहाँ पहिलो अर्ना मारेको हुनुपर्छ ।’

गम्भिर हेलचेक्र्याइँ, लगानी खेर

इन्क्लोजर र अर्नाको रेखदेख गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले तलब खुवाउने गरी कर्मचारीसमेत राखिएको थियो । तर पछिल्लो समयमा अर्ना त्यहाँ बेवारिसे अवस्थामा थिए । हरियो वन र युएसएआईडीले रकम दिइन्जेल अर्ना संरक्षणमा काम गरेको देखिए पनि सन् २०१९ को अन्तिमपछि सो प्रोजेक्ट सकिएपछि अर्नाको अवस्था दयनीय थियो । स्रोतका अनुसार न त तिनलाई छुट्टै आहाराको व्यवस्था थियो, न घाँस थियो, न त त्यहाँ कोही गएर नै अनुगमन गरे ।

चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर सौराहाका सहायक संरक्षण अधिकृत सरोज पौडेलले भने इन्क्लोजर भित्र झाडी बढेर जान नसकिने अवस्था भएको बताए । उनका अनुसार झाडी बढेर हात्तीभन्दा अग्लो भएको छ ।

पहिला निकुञ्जले दिनहुँ हात्तीमा चढेर गएर त्यहाँको अवस्थाको जानकारी लिने र सोलार फेन्सिङको अवस्थाको जाँच गर्थे । पशु चिकित्सकहरूसमेत गएर बेलाबखत अर्नाको स्वास्थ्य अवस्था जाँच गर्थे । तर, पछिल्लो समयमा हप्तौंसम्म पनि अर्ना हेर्न कोही नगएको घटनाबाट पुष्टि भएको संरक्षण अधिकारीको भनाइ छ ।

‘इन्क्लोजर र अर्नाको अवस्था कस्तो छ भनेर चासो लिएको भए न त १० अर्ना गत वर्ष सकिन्थे, नत बाघ पसेर नै खान्थ्यो’ निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले भने, ‘यसमा गम्भिर गल्ती, हेलचेक्राइ र लापरवाही भएकै छ । अर्नाले चितवनमा वंश विस्तार हुनसक्ने सन्देश दिए यो सबैभन्दा महत्वपूर्ण कुरा हो, तर वंश विस्तार गर्न सक्षम अर्नालाई कसरी जोगाउने भन्नेमा निकुञ्जको पटक्कै ध्यान गएको देखिने गरी योजना बनेको पाइएन ।’

३० बिघा खुला जमिनमा इनक्लोजर बनाउन ३४ लाख र अर्ना ल्याउन ४५ लाख रुपैयाँ खर्च भएको थियो । निकुञ्जका अनुसार अर्नाका लागि १ करोड ७३ लाख ६४ हजार रकम अहिलेसम्म खर्च गरिएको छ । त्यसपछि थप रकम पनि अर्ना संरक्षण र व्यवस्थापनका लागि खर्च गरियो । तर, सबै अर्ना मासिएपछि लाखौंको लगानी बालुवामा पानी त भएकै छ, ३० बिघाको इन्क्लोजर पनि सुनसान बनेको छ ।

निकुञ्जका अधिकारीहरूले अर्ना तथा घडियालको संरक्षणमा बजेटको अभाव भएको भनेर सधैं रेडिमेट जवाफ दिने गरेको पाइन्छ । ‘निकुञ्ज तथा विभागका प्रमुखहरुले बजेट छैन भनेर पन्छिन पाइँदैन, स्रोतको खोजी गर्ने, जुटाउने, योजना बनाउने काम त उहाँहरूको हो नि’ कुँवर भन्छन्, ‘अर्नालाई ६ वर्षसम्म इन्क्लोजरमा राख्न भनेर ल्याएको त हैन होला, त्यसलाई त प्राकृतिक वातावरणमा छाड्नुपर्ने थियो, त्यसमा कमजोरी भयो । घोर भित्र राखेपछि त बाघले खाने नै भयो, भाग्ने ठाउँ नै भएन ।’

सफा पानीमा आहाल बसेर बालुवाको किनारमा हुलका हुल टहलिन रुचाउने अर्नालाई इन्क्लोजर भित्र आहाल खेल्न हिलो पोखरी बनाइएको थियो । अर्नाका लागि पिउने पानीको समेत पर्याप्त उपलब्ध भएन । दुई वटा घाँसे मैदान बनाएर पालैपालो अर्नालाई छाड्ने नीति बने पनि त्यसको कार्यान्वयन गरिएको थिएन ।

कोशी टप्पुले थप अर्ना देला ?

जंगलमा रमाउन चाहने अर्नालाई सधैं इन्क्लोजरमा राखिनु राम्रो नहुने बताउँछन् राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डा. बाबुराम लामिछाने । ‘यो त एउटा होल्डिङ सेन्टर मात्रै हुनुपर्दथ्यो, जंगलमा छाड्ने स्ट्याण्डर्ड साइज तयार गरेर हामीले जंगलमा नै अर्नालाई छाड्न सकेको भए, यो अवस्था नआउन पनि सक्थ्यो’ डा. लामिछाने भन्छन् ‘चिडियाखानामा त इन्टेन्सिभ केयर गरेर राखिएको हुन्छ, यहाँ त त्यो सम्भव थिएन ।’

अर्नाको ‘स्ट्याण्डर्ड साइज पपुलेसन’ भनेको ४० देखि ५० वटासम्मलाई मानिन्छ । निकुञ्ज विभागले थप अर्ना ल्याएर केही समय यसरी नै इन्क्लोजरमा राख्ने र पछि निकुञ्जको खुला ठाउँमा छाड्ने सोच बनाएको थियो । तर, अर्नाको वंश नै यहाँ मासिएपछि थप अर्ना ल्याउने विषय आफैंमा चुनौतीपूर्ण बनेको छ ।

‘चितवनमा ल्याइएका अर्ना इन्क्लोजर भित्र राखेर पाल्न ल्याइएका थिएनन्, यिनीहरुको स्ट्याण्डर्ड साइज बनाएर छाड्नुपर्ने थियो तर त्यस्तो गरिएन’ निकुञ्जका एक अधिकारीले भने, ‘खासमा भन्दा अर्ना यहाँ मार्नका लागि ल्याएजस्तो भयो, अब फेरि के भनेर ल्याउने ? कोशीका जनताले त मार्नका लागि दिने भन्छन् ?’

विभागका उपमहानिर्देशक वेदकुमार ढकालको नेतृत्वमा एक समिति नै गठन गरेर अर्ना स्थानान्तरण तथा गैंडा स्थानन्तरणका लागि अध्ययन गर्ने भनिएको छ ।

२०७३ मा कोसीबाट १२ वटा अर्ना चितवन निकुञ्जमा ल्याउँदा नै चितवनबाट ५ वटा गैंडा कोसीलाई दिने प्रतिवद्धता जनाइएको थियो । तर, गैंडा निकुञ्जले नदिएको र पठाइएका अर्नासमेत मरेर सकिएपछि कोशी टप्पुले थप अर्ना दिने सम्भावना निकै कम छ ।

अर्नासँगै शुक्लाफाँटाबाट ल्याइएका पाँचवटा बाह्रसिंगे २०७३ सालमा नै इन्क्लोजर भित्र राखेपछि मरेका थिए । एक गैंडासमेत यहीँ मरेको थियो ।

घडियाल गोही संरक्षणमा पनि लापरवाही

गएको साउन चितवन राष्ट्रिय निकुञ्जको मुख्यालयको आँगनमा नै रहेको घडियाल गोही प्रजनन् केन्द्रमा बाघ पसेर चार घडियाल गोहीलाई मा¥यो । विश्वकै दुर्लभ र संकटापन्न अवस्थामा रहेका प्रजननयोग्य १२ वर्षका माउ घडियाल गोहीलाई बाघले खायो ।

चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही प्रजनन् केन्द्र

निकुञ्जको दावी अनुसार दुई बाघ जुधेपछि घाइते बनेको बाघले प्रजनन् केन्द्रमा रहेका गोही खाएको हो । प्रजनन् केन्द्रमा झण्डै डेढ फिटको सिमेन्टको पर्खाल र त्यसमाथि करीब ६ फिट अग्लो जालीले घेरिएको छ । तर, निकुञ्जले समयमा नै ख्याल नगरी जालीको उचित मर्मत सम्भार नगर्दा घडियाल गोही प्रजनन् केन्द्रमा बाघ पसेको थियो ।

घडियाललाई पनि निकुञ्ज प्रशासनले अर्नालाई जस्तै बेवास्ता गरेकाले यो क्षति भएको लामो समयसम्म गोही संरक्षणमा काम गरेका एक संरक्षणकर्मीले बताए । ‘मैले त्यहाँको पछिल्लो अवस्थालाई नजिकबाट हेरेको छु, घडियाल गोही संरक्षणमा कसैको चासो छैन, पुरै वेवास्ता गरिएको छ,’ उनले भने, ‘यो अन्त्यन्तै दुःखद कुरा हो, घडियाल गोही प्रजनन् केन्द्र पनि केही वर्षमात्रै अर्ना राखिएको ठाउँ जस्तै हुन्छ, प्रजनन् केन्द्र बोर्डमा हुन्छ, तर पोखरीमा गोही हुँदैनन् ।’

उनले निकुञ्जका जिम्मेवारी व्यक्तिहरुले ‘बाघले गोही खाएको मैले सुनेको पहिलो घटना हो’ भनेर दिएको अभिव्यक्ति नै हास्यास्पद र लज्जास्पद भएको बताए ।

घडियाल प्रजनन् केन्द्रमा भाले गोहीको अभाव छ । राप्ती तथा नारायणीको तटीय क्षेत्रमा घडियालले पार्ने अण्डा वैशाख र जेठमा संकलन गरी गोही प्रजनन् केन्द्रमा ओथारोको लागि राखिन्छ । प्रजनन् केन्द्रमा रहेका गोहीले ओथारो बसेर ७५ दिनदेखि अधिकतम् १ सय दिनमा बच्चा कोरल्ने गर्छन् । यो काम अति नै चुनौतीपूर्ण मानिन्छ । तर यो काम गर्न सक्ने पर्याप्त जनशक्ति छैन । अण्डा टिप्नका लागि ३ महिनासम्म डुंगा चढेर नारायणी र राप्ती नदी किनारमा खटिनुपर्छ ।

संकटापन्नको सूचीमा रहेको घडियाल एक सरिसृप जीव हो । माछालाई आहारा बनाउने गोहीको यो प्रजाति नेपाल र भारतमा मात्र पाइन्छ । प्राकृतिक बासस्थानमा चोरीसिकारी र बढ्दो प्रदूषणका कारण संरक्षणमा चुनौती बढेको छ ।

लेखकको बारेमा
सुवास पण्डित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?