नेकपा माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशनले पारित गरेको विधानको व्यवस्था र पछिल्लो केन्द्रीय समितिको बैठकको निर्देशन अनुसार पदाधिकारीहरु चयन क्रममा जिम्मेवारी प्राप्त गर्नुभएका सबै कमरेडहरुलाई बधाई तथा सफल कार्यसम्पादनको निम्ति शुभकामना । माओवादी केन्द्रको सफलता वा असफलता हाम्रासामु चुनौतिपूर्ण रूपमा उपस्थित निम्न कार्यभार पूरा गर्न सक्नेछौं वा सक्नेछैनौं भन्ने कुराले निर्धारित गर्नेछ ।
एक, राष्ट्रिय एकता सुदृढ गर्नु र नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र हितको रक्षा गर्नु र सबल पार्नु । नेपालको भूराजनीतिक संवेदनशीलताको उपेक्षा, स्वतन्त्र एवं असंलग्न परराष्ट्रनीतिबाट विचलन, शक्ति राष्ट्रहरूको संलग्नता एवं भूमिकामा बढोत्तरीसहित राष्ट्रिय स्वाधीनतामा संकट तथा जोखिमको खतराबाट मुलुकलाई बचाउनु छ ।
दुई, नेपालमा ठूलो बलिदानीपूर्ण संघर्षद्वारा स्थापित संघीय गणतन्त्रात्मक समाजवादउन्मुख समावेशी लोकतन्त्रका उपलब्धिहरूको रक्षा गर्नु, त्यसलाई व्यवहारमा कार्यान्वयन गर्नु, बिस्तार एवं विकास गर्नु । तर परम्परागत संसदीय गणतन्त्रभन्दा उन्नत तथा नयाँ जनवादभन्दा भिन्न हामो मौलिकतामा स्थापित आजको नयाँ प्रकारको लोकतन्त्रको रक्षा एवं विकास गर्नुपर्नेमा व्यवहारमा प्रतिगमनलाई व्यहोर्दै परम्परागत संसदीय गणतन्त्रको अभ्यासको दिशामा अघि बढिरहेको नकारात्मक राजनीतिक अवस्थालाई फेरेर अग्रगामी दिशामा लैजानु आवश्यक छ ।
तीन, राजनीतिक परिवर्तनलाई सामाजिक-आर्थिक क्षेत्रमा बिस्तारित गरेर सामाजिक न्यायसहितको समृध्दि हासिल गर्नु र जनजीविकाका आधारभूत समस्याहरू समाधान गर्दै समाजवादको आधार तयार पार्नुपर्दछ । तर राजनीतिक परिवर्तनबाट आर्थिक परिवर्तनको अपेक्षा पूरा हुन नसकेको र तत्कालीक आर्थिक संकट एवं जोखिम समाधान भैनसकेको अवस्था छ ।
वैदेशिक सहयोग, भन्सार राजस्व र विप्रेषणबाट देश चलाउने प्रवृत्ति, पुँजीगत खर्च कार्यान्वयनको दयनीय अवस्था एवं कहालीलाग्दो व्यापार घाटाको निरन्तरता, चरम भ्रष्टाचार र नवउदारवादको पक्षपोषणबाट आर्थिक संकटको समाधान र न्यायपूर्ण विकास असंभव छ भन्ने कुरा स्पष्ट छ । हामीले यसलाई बदल्नै पर्नेछ ।
चार, समाजवाद निर्माणको रणनीतिक लक्ष्य हासिल गर्नु, समाजवादी क्रान्ति सम्पन्न गर्नु । हाम्रो समाजवाद एकातिर सारतत्वमा पुँजीवाद नै रहेको प्रजातान्त्रिक समाजवाद भन्दा बिल्कुल भिन्न रहनेछ भने अर्कोतिर गतकालमा अभ्यास गरिएको ‘सोभियत मोडेल’को समाजवादका कमजोरीहरू सच्याइएको आजको २१ औं शताब्दी अनुरूपको नयाँ मोडेलको उन्नत समाजवाद हुनेछ । यो वैज्ञानिक समाजवादको मूल मान्यतामा आधरित हुनेछ ।
उपरोक्त कार्यभार पूरा गर्नको निम्ति आम रूपमा नेपाली राजनीतिमा देखा परेको विकृति एवं भ्रष्टीकरण, आदर्श, विचार, सिध्दान्त, देश तथा जनताको हितकेन्द्रित लक्ष्य, मूल्य, नैतिकताको डरलाग्दो ह्रासको बेगलाई रोक्न र फेर्न जरुरी छ । राजनीति सफा गर्ने आन्दोलनात्मक अभियान बिना यो संभव छैन । नेपाली देशभक्तिपूर्ण आन्दोलनको अग्रणी शक्ति र नेपाली समजको क्रान्तिकारी रुपान्तरणको नेतृत्वदायी शक्ति हुनुको नाताले नेपाली कम्युनिष्ट आन्दोलन र माओवादी केन्द्रको मुख्य समस्याका रूपमा रहेको वैचारिक-सांस्कृतिक समस्याको समाधान गर्नु आजको आवश्यकता हो ।
अर्थात् वैचारिक सांस्कृतिक रुपान्तरणको ठूलो अभियानद्वारा पार्टी र कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी रुपान्तरण र पुनर्गठन यतिबेलाको ऐतिहासिक आवश्यकता हो । इतिहासले सुम्पिएको यो जिम्मेवारीलाई गम्भीरतापूर्वक आत्मसात गर्दै यसलाई पूरा गर्ने दिशामा दृढतापूर्वक अघि बढ्नु हाम्रो कर्तव्य हो ।
तत्कालीन रूपमा आसन्न चुनावी मोर्चाको संघर्षलाई त्यस अन्तर्गतकै कामको रूपमा बुझिनु पर्दछ । त्यसैले अध्यक्ष कमरेडको नेतृत्वमा रहेको वर्तमान पदाधिकारी टिमले यस ऐतिहासिक कार्यभार पूरा गर्ने दिशामा ठोस गुणात्मक कार्य गर्ने जिम्मेवारी प्राप्त नेतृत्व टिमको रूपमा आफुलाई बुझ्नु पर्दछ । त्यसै अनुसार एकता एवं समर्पणका साथ क्रियाशील हुनुपर्दछ । अन्यथा हाम्रो पदको कुनै तात्विक अर्थ रहनेछैन । आफ्नो तर्फबाट यस निम्ति प्रतिबध्दता व्यक्त गर्दै सम्पूर्ण पदाधिकारीहरूलाई समेत हार्दिक एवं गंभीर अपील गर्दछु । हाम्रो सफलता, असफलताको कसी यही हुनेछ ।
उपरोक्त चार कार्यभारहरू पूरा गर्न र त्यसका लागि माओवादी केन्द्र र समग्र कम्युनिष्ट आन्दोलनको रुपान्तरण एवं पुनर्गठन गर्न अघि बढ्दा सर्वप्रथम हाम्रो सकारात्मक पक्षहरूको बारेमा स्पष्ट हुँदै त्यसलाई आत्मसात गर्नु जरुरी छ ।
एक, माओवादी केन्द्र अहिलेकै अवस्थामा पनि नेपालका प्रमुख राजनीतिक पार्टीहरूमध्ये सबभन्दा राम्रो परिवर्तनकारी पार्टी हो ।
दुई, सामाजिक न्यायसहितको समृध्दिको तत्कालीक कार्यनीतिक कार्यभार र वैज्ञानिक समाजवादको मूल्य मान्यतामा आधारित समाजवाद निर्माणको रणनीतिक कार्यभार पूरा गर्न सक्षम क्रान्तिकारी पार्टीका रूपमा रुपान्तरण एवं विकासको संभावना पनि माओवादी केन्द्रमा नै छ ।
निम्न तथ्यहरूले माओवादी केन्द्र नै त्यो संभावनाको आधार रहेको स्पष्ट गर्दछ ।
एक, आजको परिवर्तन र उपलब्धिको मुख्य बाहक शक्ति माओवादी केन्द्र हो, जुन कुरामा हामी गर्व गर्न सक्छौं ।
दुई, ऐतिहासिक परिवर्तनलाई संस्थागत गरिएको वर्तमान संविधानमाथि प्रतिगामी प्रहार हुँदा प्रतिगामी कदमको विरुध्द व्यापक संघर्षको अगुवाई गरेर तत्कालीक प्रतिगमनलाई असफल पार्न मुख्य भूमिका खेल्ने शक्ति पनि माओवादी केन्द्र नै हो ।
तीन, माओवादी केन्द्र आफ्नो मुल नेतृत्वदायी भूमिकामा हासिल गरिएको परिवर्तनलाई ऐतिहासिक महत्वको परिवर्तन ठान्दछ र यसका उपलब्धिहरूको रक्षाको पक्षमा पनि दृढ छ । तर माओवादी केन्द्र अहिलेको यो परिवर्तनलाई पूर्ण र अन्तिम ठान्दैन, बरु समाजवादी व्यवस्थाको स्थापना गर्न दृढ छ ।
चार, माओवादी केन्द्र नै त्यो पार्टी हो जसले आफ्नो कमजोरी र रोगको स्पष्ट पहिचान एवं सार्वजनिक स्विकारोक्तिका साथ त्यसलाई सच्च्याउने वा उपचार गर्ने प्रतिबध्दता व्यक्त गरेको छ ।
तसर्थ माओवादी केन्द्रको रुपान्तरणको सम्भावना छ । किनकि यो संभावनाको आधार हामीभित्र छ । तर त्यसको शर्त हो, हामी आफैं आफ्नो निष्कर्षप्रति इमान्दार भएर रूपान्तरित हुन तयार हुनुपर्छ । सही नयाँ निष्कर्ष तर पुरानै यथास्थितिवादी व्यवहारको निरन्तरता, आजको हाम्रो मुख्य समस्या र चुनौती हो । यसको सकारात्मक समाधान गर्ने साहस हामीले देखाउनै पर्छ । पार्टीले हामीलाई महत्वपूर्ण जिम्मेवारी सुम्पिएको यस अवसरमा आउनुहोस्, एकताबध्द भएर पूर्ण समर्मणका साथ यस दिशामा अघि बढ्ने संकल्प गरौं ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4