+
+

सडक बढार्ने भन्दै विप्लव समूहकाले फकाएर लगे, पुलिसले बेस्सरी कुट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ७ गते १२:०३

७ भदौ, काभ्रे । फेसबुक, ट्वीटरमा मंगलबार बिहान विप्लव समूहका बन्दकर्ताले कुटाइ खाइरहेको तस्वीर भाइरल भइरहेको छ । यस पछाडिको वास्तविकता भने भिन्न छ ।

बीपी राजमार्गमा नक्कली प्रेसर कुकर बम राखेर सडक अवरुद्ध गर्ने प्रयास हुँदै थियो । बनेपाका स्कुल, कलेजबाट विद्यार्थीलाई विप्लव समूहका कार्यकर्ताले सडकमा कुचो लगाउन जाऔं भन्दै बोलाए ।

चैतन्य क्याम्पस र काभ्रे क्याम्पसमा पढ्ने विद्यार्थीहरुका हातमा कुचो पनि तिनैले थमाए । विप्लव समूहको काभ्रेपलान्चोक जिल्ला सेक्रेटेरी दुर्गासिंह तामाङ बन्दको नेतृत्व गर्दै थिए ।

विप्लव समूहका कार्यकर्ताले सडकमा टायर बालेका थिए । सडकमा आवतजावत गरिरहेका  सवारी साधन तोडफोड गर्न थाले । बसका सीसा फुटाए । त्यसै बीचमा पुलिस आएर हस्तक्षेप गर्न थाल्यो । काभ्रेका प्रहरी प्रमुख चक्रराज जोशी उनीहरु बन्दकर्ता नै भएको बताउँछन् । ‘सडक सफा गर्न त अघिपछि पनि त सकिन्थ्यो, आजै झण्डा लिएर सडकमा आउनुपर्छ त ?’

विप्लव समूहका काभ्रे जिल्ला सचिवालय सदस्य प्रमोद गिरीलाई स्थानीयले लछारपछार गर्दै कुटे । प्रहरीले पनि तिनलाई चुट्यो । तर बन्दकर्ता भन्ठानेर विद्यार्थीलाई पनि मरणासन्न हुनेगरी कुटेको स्थानीय सञ्चारकर्मीले अनलाइनखबरलाई बताएका छन् ।

पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाका अनुसार अहिले पनि तीमध्ये कतिपय विद्यार्थी विप्लव समूहका कार्यकर्तासँगै प्रहरीको नियन्त्रणमा छन् । ‘नीलडाम बस्नेगरी धेरै चुट्यो पुलिसले, छात्राहरुलाई कुट्न पुरुष पुलिसहरु धेरै आए,’ तिमल्सिनाले भने । पत्रकारहरुका अनुसार उनीहरु विप्लव समूहका कार्यकर्ता होइनन् । उनीहरुलाई झुक्याएर बन्द अवरोधका कार्यक्रममा लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीका अनुसार मंगलबार बिहान बनेपास्थित चार दोबाटो चोकमा बन्दकर्ता भेला भएका थिए । कुटाइ खानेमध्ये प्रमोद गिरी र पल राउत विप्लव समूहकै कार्यकर्ता हुन् ।

सडकमा देखिएका मानिसहरुलाई प्रहरीले नियन्त्रणमा लिन थालेपछि  राउत भागेर पनौती जाने बाटोतर्फ गएका थिए । त्यही बेला उनले एउटा गाडीमा ढुंगा हानेपछि चालकहरुले उनलाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । पछि प्रहरीले उनीहरुबाट छुटाएर राउतलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।

एसएसपी जोशीका अनुसार ८ जना बन्दकर्तालाई नियन्त्रणमा लिइएको छ । अहिले जिल्लाको अवस्था सामान्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?