+
+

चीनले बनाउँदैछ संसारकै ठूलो टेलिस्कोपको रिङ, सूर्यको अध्ययन गरिने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ७ गते १२:५५

सूर्यको अध्ययन गर्नका लागि चीनले विश्वकै सबैभन्दा ठूलो टेलिस्कोपको रिङ निर्माण गरिरहेको छ ।

यस्तो प्रकारको तथा यतिधेरै ठूलो वैज्ञानिक आकृति हालसम्म विश्वमा कही पनि नरहेको बताइएको छ ।

उक्त रिङको चारैतर्फ ठूला-ठूला टेलिस्कोप राखिनेछ, जसको सहयोगमा चीनले सौर्य विस्फोट, सौर्य लहर तथा सौर्य आँधीको अध्ययन गर्नेछ । यसबाट सौर्य विस्फोट तथा आँधीको पूर्वानुमान गरी पृथ्वीमा हुने सम्भावित विपत्तिबाट बच्न पूर्वतयारी गर्न सकिनेछ ।

दक्षिण पश्चिम चीनको सिचुआन प्रान्तस्थित एक पहाडी क्षेत्रमा उक्त टेलिस्कोप निर्माण गरिंदैछ । त्यसको नाम दाओचेंग सोलार रेडियो टेलिस्कोप (डिएसआरटी) राखिएको छ ।

निर्माण सम्पन्न हुँदासम्म यसमा कुल ३१३ वटा टेलिस्कोप एन्टेना हुनेछन् । हरेक एन्टेनाको व्यास १९.७ फिट छ । पूरै रिङको व्यासचाहिं ३.१३ किलोमिटर रहेको छ । उक्त टेलिस्कोप रिङले रेडियो तरंगको माध्यमबाट सूर्यको तस्वीर बनाउनेछ ।

सौर्य विस्फोटलाई कोरोनल मास इजेक्सन भनिन्छ, जुन सूर्यको धब्बाबाट निस्किन्छ । त्यसबाट निस्किने सौर्य लहर पृथ्वीतर्फ मोडिएमा त्यसले ठूलो असर गर्न सक्दछ । त्यसले पृथ्वीमा रहेका बिजुलीका प्रसारण लाइनहरुलाई ठप्प पार्न सक्छ भने स्याटेलाइटहरुलाई पनि ध्वस्त पारिदिन सक्दछ । यसबाट मोबाइल संचार प्रणाली बन्द हुने तथा अन्तरिक्षमा रहेका अन्तरिक्ष यात्रीहरुको ज्यान नै खतरामा पर्ने हुन्छ ।

यो वर्ष सन् २०२२ केा अन्त्यसम्ममा उक्त टेलिस्कोपको निर्माण सम्पन्न भइसक्ने चिनिया वैज्ञानिकहरुको विश्वास छ । यो टेलिस्कोप चीनको मेरिडियन परियोजनाको एक हिस्सा हो जुन पृथ्वीबाट अन्तरिक्षको वातावरणकेा अध्ययनका लागि सुरु गरिएको हो । यो परियोजनामा चाइनिज स्पेक्ट्रल रेडियो हेलियोग्राफी पनि संलग्न छ, जसको माध्यमबाट चीनका वैज्ञानिकहरुले मंगोलियाबाट सूर्यको गतिविधिहरु निगरानी गर्नेछन् ।

रेडियो हेलियोग्राफीमा १०० वटा डिश एन्टेना हुनेछन् जुन थ्री आर्म स्पाइरल स्वरुपमा राखिनेछन् ताकि सूर्यको अध्ययन धेरै ठूलो फ्रिक्वेन्सी ब्याण्डमा गर्न सकियोस् । त्यस्तो अध्ययन डिएसआरटीले पनि गर्न सक्दैन । यो परियोजनाका लागि चीन सरकारले ३१ व्टा स्टेशनमा ३०० वटा यन्त्र राखेको छ । यो परियोजनामा नेशनल स्पेस साइन्स सेन्टर समेत १० वटा संस्थान तथा विश्वविद्यालय सामेल छन् ।

विश्वमा सबैभन्दा भयावह तुफान १८५९, १९२१ तथा १९८९ मा आएको थियो । जसका कारण विश्वका विभिन्न देशमा विद्युत आपूर्ति अवरुद्ध भएको थियो । विद्युत प्रसारण लाइन फेल हुँदा धेरै देशहरुमा घन्टौंसम्म अँध्यारो छाएको थियो । सन् १८५९ मा भने विद्युत ग्रिड नै थिएन तर कम्पासको सुई भने लगातार कैयन् घण्टासम्म घुमिरहेको थियो । जसका कारण सामुद्रिक यातायात अवरुद्ध भएकेा थियो । सधै उत्तरी ध्रुवमा देखापर्ने नर्दन लाइट्स अर्थात् अरोरा बोरियालिस भूमध्यरेखामा पर्ने कोलम्बियाको आकाशमा देखिएको थियो ।

सन् १९८९ मा आएको सौर्य आँधीका कारण उत्तरपूर्वी क्यानडाको क्युबेकस्थित जलविद्युत पावर ग्रिड फेल भएको थियो । जसका कारण क्यानडाको आधाजसो भागमा ९ घण्टासम्म विद्युत अवरुद्ध भएको थियो ।

पछिल्लो २ दशकदेखि सौर्य आँधी आएको छैन र सूर्यको गतिविधि निकै कमजोर छ । यसको अर्थ यो हैन कि अब कहिल्यै पनि सौर्य आँधी आउन सक्दैन । वैज्ञानिकहरुका अनुसार सूर्यको अहिलेको शान्त स्थिति आँधी अगाडिको सन्नाटा हुन सक्दछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?