+
+
प्रतिबन्धको बाछिटा :

महँगा मदिरा भारत हुँदै चोर बाटोबाट नेपाली बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ७ गते १७:५०

काठमाडौं । माथिको तस्वीर काठमाडौंको एक मदिरा स्टोरको हो । यो स्टोरमा भेटिएको ज्याक डोनाल्स ह्विस्की र यसको पृष्ठ भूमिमा यसको बाक्साहरु छन् । सरकारले गत १३ वैशाखदेखि पूर्ण रुपमा आयात प्रतिबन्ध लगाएको मदिरा कसरी अहिलेसम्म भेटियो आफैंमा अचम्म लाग्ने विषय हो ।

तर, यस मदिराको बोत्तललाई गहिरिएर हेर्ने हो भने अर्को रहस्य पत्ता लाग्छ, त्यो हो यो ‘भारतको नयाँ दिल्लीस्थित बिण्डीको सेल्स प्रालिले आयात र बिक्री गरेको आयातको ट्याग’ यस मदिराको बोत्तल र कार्टुनमा रहेको ट्यागमा लेखिएको छ । ७५० एमएलको उक्त ह्विस्कीमा भारतीय सरकारको जनचेतना मुलक स्लोगान ‘सराब पिना स्वास्थ्य के लिए हानिकारक है’ पनि उल्लेख छ ।

व्यस्त पर्यटकीय नगरी पोखरामा पनि केहीदिन पहिले ब्याल्क लेबल पनि यस्तै अवस्थामा भेटियो । भारतको बैंग्लोरस्थित युनाइटेड स्प्रिटले भारतमा आयात र बजारीकरण गरिरहेको यो मदिरा पोखराका बजारमा भेटिएको थियो । व्यवसायीहरुकाअनुसार भारतको हरियणा, दिल्ली र उत्तर प्रदेश, बैंग्लौर लगायतका बजारमा बिक्रीका लागि पठाइएको मदिरा कार्टुन र प्राइस ट्यागसहित अहिले पोखरामा बिक्री भइरहेका छन् ।

कतिपय मदिरा भने भारत जाने नेपाली र विदेशबाट फर्केका नेपालीले ‘ड्युटी फ्रि’मा किनेर ल्याएर बजारमा बिक्री गरेको मदिरा पनि पाइएको छ । ‘बजारमा उच्च माग छ, ड्युटी फ्रिबाट खरिद गरेर ल्याएर बेच्ने पनि छन् । पार्टीहरुले पनि माग अनुसार ल्याइदिन्छन्,’ प्रतिबन्धित मदिरा भित्रिएकोबारे अनलाइनखबरको जिज्ञासामा स्टोर मालिकले भने, ‘गर्जो त टार्नै पर्‍यो ।’

काठमाडौं र पोखरामा चोर बाटोबाट भित्रिएको महँगो मदिरा त उदाहारण मात्रै हो । सरकारले मुलुकको ढुकुटीको डलर सञ्चिति जोगाउन भन्दै महँगा मदिरा प्रतिबन्ध लगाए पनि यस बीचको चार महिनामा नेपाल–भारत खुल्ला सीमामा कमजोर नियमन हुँदा ढुकुटीको डलर र राजस्व दुवैमा खती पुगेको छ ।

वैशाखमा प्रतिबन्ध सुरु भए पनि एक महिना नेपालका कुनै पनि ठाउँमा यस्तो मदिरा पाइएको थिएन । तर, जेठ दोस्रो सातातिर सीमा क्षेत्रका नेपाली बजारमा प्रतिबन्धित मदिरा छिटफुट देखियो । महेन्द्रनगर, धनगढी, नेपालगञ्ज, बुटवलमा असार पहिलो सातासम्म छ्याप्छ्याप्ती रहेको यस्तो मदिरा दोस्रो हप्तामा केही कम देखिएको एक व्यवसायी बताउँछन् ।

‘सरकारले असार मसान्तमा प्रतिबन्ध खोल्न सक्छ भन्ने भयमा यस्ता कारोबारी केही समय मौन बसे,’ उनी भन्छन्, ‘प्रतिबन्ध लम्बिए पछि कारोबारीलाई दशैं लाग्यो । अहिले पहाडका ठूला सरहमा पनि यस्ता मदिरा उक्लिए ।’ चाडपर्व नजिएको, पर्यटन आगमन सुरु भएकाले बजारमा अन्तर्राष्ट्रिय बजारमा चलन चल्तीका मदिराको माग उच्च भएको काठमाडौंका एक मदिरा स्टोरका सञ्चालकले बताए ।

‘सरकारले प्रतिबन्ध लगाए पछिको चार महिनामा पुरानो मदिराको मौज्दात सकिएका कारण जति पैसा हाल्न पनि यसका पारखी तयार छन्,’ ती सञ्चालक भन्छन्, ‘भन्सार र अन्तःशुल्क नपरे पछि त झनै सहज भएको छ ।’

काठमाडौं मदिरा व्यवसायी संघका अध्यक्ष गोबिन्द प्रसाद बरालकाअनुसार केही महिना अघि काठमाडौंको सीतापाइलामा ठूलो मात्रामा यस्तो मदिरा भेटिएको थियो ।

त्यसलाई पछि राजस्व अनुसन्धानले समातेर कारबाहीको दायरामा ल्याएको बरालले बताए । ‘पछिल्ला दिनमा ठूला बजारमा भारतीय मदिरा छ्याप्छ्याप्ती आएको चर्चा छ तर, मैले भने भेट्टाएको छैन्,’ अध्यक्ष बरालले भने, ‘महँगा ह्विस्की र भोड्कामा यस्तो समय देखिएको छ ।’

नेपाल मदिरा व्यवसायी महासंघले पनि बजारमा चोर बाटोबाट भारतीय मदिरा भित्रिएको जनाएको छ । भन्सार र अन्तःशुल्क छल्ने वितिक्कै झण्डै दोब्बर नाफा हुने भएपछि यस्तो व्यवसाय गर्नेहरु बढेको हुनसक्ने महासंघका अध्यक्ष शोनाम शेर्पाले बताए । ‘एउटा सानो रोयल स्टेगको मूल्य भारतमा २ सय छ भने नेपालमा ४५० पर्छ,’ शेर्पा भन्छन्, ‘दोब्बर नाफा भए पछि अन्तःशुल्क स्टीकर नभई व्यापार गर्नेहरु लाग्नै नै भए । ’

अन्तःशुल्क र राजस्व छल्दा लाइन मिलाउन सहज

अनलाइनखबरलाई प्राप्त विवरणअनुसार नेपालका बजारमा अहिले अस्वभाविक रुपमा दोस्रो बाटो भएर महँगा मदिराहरु भित्रिएका छन् । भारतको नयाँ दिल्लीमा भन्सार शुल्कसहित अधिकतम् खुद्रा बिक्री मूल्य २ हजार ८ सय रुपैयाँ भारु पर्ने ७५० एमएलको जोनी वाकर ब्याल्क लेबल १२ वर्षको मूल्य नेपालका बजारमा तस्करीबाट ल्याउनेले ५ हजार ३ सय रुपैयाँमा बिक्री गरिरहेका छन् ।

एक व्यवसायीका अनुसार उनीहरुले भारतको बजारमा २५ सय भारुसम्ममा यस्तो मदिरा पाउने गरेको बताउने गरेको छ । जबकि नेपाली बजारमा यस्तो मदिराको खुद्रा बिक्री मूल्य ८ हजार ६५० रुपैयाँ पर्छ । सरकारी राजस्व छलेपछि बजारमा बोत्तलमै ४ हजार रुपैयाँसम्म सस्तोमा मदिरा पाइना थालेको छ । ‘भारतमा खरिद र नेपालमा बिक्री मूल्यको अन्तर नै प्रतिबोत्तल २ हजार रुपैयाँसम्म भएका कारण तस्करले लाइन मिलाउन प्रशस्त रकम खर्च गर्न पुगेको देखिन्छ ’ एक व्यवसायीले भने ।

भारतमा एक हजार ५ सय रुपैयाँ भारु खुद्रा बिक्री मूल्य रहेको जोनी वाकर रेड लेबल पनि चोर बाटोबाट ल्याउनेले नेपालका बजारमा अहिले २ हजार ७७५ रुपैयाँ प्रति ७५० एमएल बोत्तलमा बिक्री भइरहेको व्यपारीहरुले बताएका छन् । जबकी सरकारी भन्सार र अन्तःशुल्क समेत गरेर यसको नेपाली बजार मूल्य ६ हजार ८५० रुपैयाँ पर्छ । यस्तै समस्या चिभास रेगल १२ वर्षमा पनि रहेको व्यवसायीहरुले बताएका छन् ।

डेढ अर्ब बचाउन खोज्दा बाहिरिंदैछ सवा ४ अर्ब

सरकारले गत १३ वैशाखमा राजपत्रमा सूचना निकालेर महँगा मदिरासहित १० प्रकारका वस्तुमा आयात प्रतिबन्ध घोषणा गरेको थियो । असार मसान्तसम्मका लागि भन्दै गरिएको प्रतिबन्धमा महँगा विदेशी ब्राण्डका मदिराहरु पनि छन् ।

प्रतिबन्ध घोषणा पछि राज्यले मुलुकको ढुकुटीबाट एक अर्ब ५० करोड रुपैयाँ (१२० मिलियन अमेरिकी डलर) रकम जोगिने अपेक्षा राखेको थियो । तर, यकिन तथ्यांक नभए पनि बजारमा बाह्य रक्सीको दबदबाले यसलाई उल्टो सावित गरिरहेको छ । अहिले नेपाली बजारमा बिक्री भइरहेको चोर बाटोको मदिराको औसत मूल्य औपचारिक च्यानलबाट प्राप्त भन्दा तीन गुणा बढी देखिएको छ ।

सरकार राजस्व तिरेर भन्सारको च्यानलबाट आयात हुने मदिराको औसत प्रतिलिटर मूल्य अमेरिकी डलर १५ रहेकोमा नेपालमा प्रतिलिटर ४१ अमेरिकी डलर प्रतिलिटर मदिरा भित्रीरहेको छ । जसका कारण प्रतिबन्ध लगाएर सरकारले एक अर्ब ५० करोड जोगाउन खोज्दा सवा ४ अर्ब रुपैयाँ भन्दा धेरै रकम बाहिरिन सक्ने वा बाहिरीसकेको हुन सक्ने देखिएको छ । जुन कारोबारबाट राज्यलाई शून्य आम्दानी हुन्छ ।

सीमाका प्रशासन भन्छन् -‘जानकारी छैन’

तर, क्षेत्रका प्रशासन भने नाकाबाट महँगा मदिरा भित्रिएको जानकारी नभएको बताउँछन् । कैललीका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जिल्लामा यास्तो घटना नोटिसमा नभएको बताए ।

जिल्ला भित्रको सीमामा बोर्डर सुरक्षा पोष्टले कहीले काहीं दाल, चामल लत्ता कपडासम्म समातेको जानकारी भए पनि मदिराको विषय जानकरी छैन,’ जोशीले अनलाइनखबरसँग भने, ‘जिल्लाको १०१ किलोमिटर खुला सीमामा ८ वटा बीओपी (बोर्डर सुरक्षा पोष्ट) रहेको र त्यहाँबाट कडा निगरानी भइरहेको पनि उनले बताए ।

यता बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले पनि सीमामा यस्तो घटना नभएको बताए । सीमा नाकामा कडाई गरिएको भन्दै उनले सरकारले प्रतिबन्ध लगाएका वस्तुको चोरी तस्करी निरुत्साहन गर्न सुरक्षा संयन्त्र बलियो बनाएर परिचालन गरेको उनले बताए । ‘हाम्रो सूचना अहिदलेसम्म यस्तो घटना घटेको छैन्,’ शर्माले भने, ‘तस्करले प्रशासनको आँखा छल्न सबैखाले प्रयास त गर्ला त्यसो भए जानकारीमा हुने कुरै भएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?