
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले आर्थिक विधेयक संसदमा टेबल गरिसकेपछि मदिराका दर सुटुक्क संशोधन गरेको छ ।
- सुरुमा प्रस्ताव गरिएको भन्सार दरले स्वदेशी उद्योग संकटमा पर्ने भनी विरोध भएपछि सरकारले भित्रभित्रै संशोधन गरेको हो ।
- अर्थ मन्त्रालयले विधेयकमा केही त्रुटी भएकाले सच्चाइएको र यस्तो अभ्यास विगतमा पनि भएको दाबी गरेको छ ।
१८ जेठ, काठमाडौं। सरकारले करका दर तथा नीतिमा परिवर्तन गर्ने आर्थिक विधेयक संसदमा दर्ता गरिसकेपछि संशोधन गरेको छ । आयातित मदिरामा भन्सार दर घटाएको खबर सार्वजनिक भएपछि सरकारले विधेयकमा अनौपचारिक संशोधन गरेको हो ।
सरकारले आगामी आर्थिक वर्षको आयव्यय विवरण सार्वजनिक गरेपछि त्यसका लागि स्रोत जुटाउने करका दरहरुमा गरेको हेरफेर आर्थिक विधेयकमा समावेश हुन्छ । यो विधेयक बजेटसँगै संसदमा पेश हुन्छ ।
तर, सरकारले बजेटसँगै १५ जेठमा संसदमा दर्ता गरेको विधेयक, अर्थमन्त्रालयको वेबसाइटमा रहेको विधेयक र अहिले संसद्को वेबसाइटमा उपलब्ध विधेयकमा मदिराका भन्सार दर फरक पारिएको छ ।
यसअघि मदिराको भन्सार दर प्रतिलिटर परमाणमा लाग्ने गरेकोमा आर्थिक विधेयकले त्यसलाई प्रतिशतमा लगेको थियो । मदिराको कच्चा पदार्थ आयातमा यसअघि प्रतिलिटर ६० रुपैयाँ भन्सार लाग्दै आएकोमा त्यसलाई ३० प्रतिशतमा झारिएको थियो ।
त्यस्तै, तयारी मदिरा आयातमा प्रतिलिटर १५ सय र २ हजारका दरले भन्सार लिइँदै आएकोमा ८० र शतप्रतिशत पुर्याइएको थियो । बियरमा प्रतिलिटर २ सय र वाइनमा ३ सय भन्सार लाग्दै आएकोमा त्यसलाई ८० प्रतिशत बनाइएको थियो ।
तर, यसरी भन्सार दरमा गरिएको परिवर्तन गरिएपछि नेपालमा आयात हुने अधिकांश मदिराको भन्सार दर घट्न गएको थियो । त्यसले नेपाली उद्योगहरु नै धरासायी हुने भन्दै विरोध भएको थियो । मिडियामार्फत यो खबर बाहिरिएपछि सरकारले आर्थिक विधेयकमै परिवर्तन गरी नयाँ विधेयक दर्ता गरेको संसद सचिवालयका एक कर्मचारीले बताए ।
नयाँ आर्थिक विधेयकमा भने भन्सार दरमा परिवर्तन गर्दै तोकिएको प्रतिशत वा यसअघि प्रतिलिटर लाग्दै आएको दर जुन बढी हुन्छ, त्यो लागू हुने उल्लेख छ । यस किसिमको भन्सार दरको अभ्यास विगतमा कहिल्यै भएको देखिन्न ।
आर्थिक विधेयकमा केही त्रुटि भएकाले त्यसलाई सच्याइएको दाबी अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले गरे । छपाइमा त्रुटि भएकाले त्यसलाई सच्चाइएको बताउँदै खत्रीले करका दरहरुमा कुनै परिवर्तन नगरिएको दावी गरे । ‘हतारमा काम गर्दा कहिलेकाँही त्रुटि हुन्छन्,’ खत्रीले भने, ‘यस्तो त्रुटि सच्याउने अभ्यास विगत देखि नै चलिआएको हो।’
प्रतिक्रिया 4