+
+

सभामुखलाई विष्णु पौडेलको प्रश्न : जबराविरुद्धको महाअभियोग अगाडि नबढ्नुको कारण के ?

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ७ गते १८:३९

७ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग ६ महिनासम्म अगाडि नबढ्नुको कारण मागेका छन् ।

महाअभियोग सिफारिस समितिको सिंहदरवारमा बसेको दोस्रो बैठकमा एमाले उपाध्यक्ष पौडेलले सभामुख अग्निप्रसाद सापकोटाले कारण दिनुपर्ने बताएका हुन् ।

यो समितिको पहिलो बैठक भदौ १ गते बसेको थियो । त्या बैठकमा उपाध्यक्ष पौडेल अनुपस्थित थिए । मंगलबार बसेको दोस्रो बैठकमा उपस्थित भएर उनले महाअभियोग ६ महिनासम्म अगाडि नबढ्नुको कारण थाहा पाउनुपर्ने बताएका हुन् ।

‘महाअभियोग दर्ता भएपछि सदन नचलेको भए १५ दिनभित्र बोलाउनुपर्ने र चलेको भए तीन दिनभित्र प्रस्तावअघि बढाउनुपर्ने प्रावधान उल्लंघन भयो,’ उनले भने, ‘सदन चलिरहेकै अवस्थामा ६ महिनासम्म छलफलमा नल्याउनु सिरियस विषय हो । अहिले यो महाभियोग किन ल्यायो भन्ने प्रश्न उठेको छ ।’

सभामुखतर्फ लक्षित गर्दै उनले थपे, ‘६ महिनासम्म महाअभियोग किन छलफलमा ल्याइएन ? म यसको जवाफ चाहन्छु । के कारण, किन हो ? प्रश्नको जवाफ नपाइकन समितिले जवाफदेही हिसाबले काम गर्न सक्दैन ।’

निर्वाचनको मिति घोषणा भएपछि महाअभियोग अगाडि बढाएकाले संशय पैदा गरेको उनको भनाइ छ । ‘समितिलाई कानुनले तीन महिना समय भनेको छ, समय छैन, तीन महिना नै छानबिनमा लाग्ने भए के गर्ने ? किन ढिलो गरियो, सम्बन्धित पदाधिकारीको जवाफ चाहिन्छ । सभामुखले जवाफ दिनुपर्छ ।’

४ मंसिरमा हुने प्रदेश र संघीय चुनावका लागि असोज २ गते समानुपातिक तर्फको बन्दसूची बुझाइने भएकाले त्यसभन्दा पछाडि समितिलाई काम गर्न नैतिक प्रश्न छ । यसैलाई आधार मानेर उनले समयको चाप रहेको भन्दै प्रश्न उठाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?