+
+

‘चुनावी बाध्यता’ ले जुराएको गिरिराज-मातृका मिलाप

रामकुमार डिसी रामकुमार डिसी
२०७९ भदौ ७ गते २०:१९
पर्सा जिल्लाबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र स्थानीय नेताहरुसँगको २२ साउनमा वीरगंजमा आयोजित छलफलपछि सामूहिक तस्वीरमा पोखरेल र यादव ।

७ भदौ, काठमाडौं । मधेशबाट प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्रका उपमहासचिवद्वय गिरिराजमणि पोखरेल र मातृका यादवको टकराव माओवादी वृत्तमा नयाँ होइन । महोत्तरीका पोखरेल र धनुषाका यादव मधेशका मञ्चहरुमा एकअर्कालाई निषेध नै गर्ने गरि प्रस्तुत हुने गरेका छन् ।

जातीय व्यवहार देखाएको र युद्ध लडे/नलडेको आधारमा पार्टीमा विभेद गर्ने गरेको आरोप पोखरेल पक्षले यादवमाथि लगाउने गरेको छ ।

यादव पक्षले पनि पार्टी अध्यक्षसँग मिलेर संगठनमा आफ्ना मान्छेलाई मात्रै ठाउँ दिने गरेको आरोप पोखरेलमाथि लगाउने गर्छ । हालै सम्पन्न स्थानीय तहको चुनावमा एक पक्षले अर्कोलाई अन्तर्घात गरेको आरोप समेत लगाए । २०७४ को चुनावमा मधेस प्रदेशका २१ पालिका जितेको माओवादी यसपटक ९ वटामा मात्रै खुम्चियो । यसमा दुवै पक्षले एक अर्कालाई जिम्मेवार ठहर्‍याए ।

तर, स्थानीय तहमा बेहोरेको लज्जास्पद हार र नजिकिँदो आम चुनावका कारण दृश्य बदलिन थालेको छ । २२ साउनमा स्थानीय कार्यकर्तासहित केन्द्रीय समितिमा पर्सा जिल्लाबाट प्रतिनिधित्व गर्ने नेताहरुसँग वीरगञ्जमा भएको छलफलपछि पोखरेल र यादवले सामूहिक तस्वीर खिचाए । सार्वजनिक मञ्चमा एकअर्कालाई स्वीकार नै नगर्ने उनीहरुले खिचाएको वीरगञ्जको त्यो (माथिको) तस्वीर बिरलैमध्यको हो ।

भोलिपल्ट सार्लाहीको हरिवनमा जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र स्थानीय नेताहरुसँगको छलफलमा पनि दुवै जना सँगै देखिए । मधेश प्रदेशका केन्द्रीय सदस्यहरुको मंगलबारका लागि तय गरिएको तर स्थागित भएको बैठकका लागि उनीहरुले सँगसँगै थिए ।

चुनावी बाध्यता

तुलनात्मकरुपमा ठिकै रहेको ठाउँमा समेत लज्जास्पद हार बेहोर्नुपरेपछि माओवादी नेताहरु झस्किएका छन् । स्थानीय तहमा जस्तै गुटबन्दीको असर संघीय चुनावमा पनि देखा परे आफूहरुले नै हार्ने भयले उनीहरु अन्तरविरोध थाती राखेर भए पनि सँगै हिँड्न तयार भएका छन् ।

‘हामीहरु अन्तरविरोधलाई थाती राखेर एकतावद्ध भएर जानुपर्छ भन्ने कुरा गर्न गएका हौं,’ सँगै हिँड्न थाल्नुको कारणबारे अनलाइनखबरले राखेको जिज्ञासामा पोखरेलले भने, ‘दुवै ठाउँमा हामीले त्यो कुरा भनेका छौं ।’

मतभेद भए पनि परिस्थितिले माग गरेकाले मिलेर जाने प्रतिवद्धता समेत आफूहरुको भएको उनले बताए । पोखरेले भने जस्तो परिस्थितको माग भनेको आसन्न संघ र प्रदेशको चुनाव भन्ने बुझ्न कठिन छैन ।

‘हामी दुई जना पर्सामा पनि गयौं, अनि सर्लाहीमा पनि गयौं,’ पोखरल भन्छन्, ‘मधेश प्रदेशका सीसीएमको बैठकका लागि हामी सँगसँगै जुटेका थियौं । अहिले बाहिर मिडियाले लेखे जस्तो होइन । मतभेद भए पनि परिस्थितिले माग गरेको आधारमा मिलेर जाने हाम्रो प्रतिबद्धता छ ।’

जिल्लाबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र स्थानीय नेताहरुसँग २३ साउनमा सार्लाहीको हरिवनमा आयोजिक बैठकमा यादव र पोखरेल ।

यादवले पनि आफूहरुको व्यक्तिगत झगडा नभएको भन्दै सबैलाई समान व्यवहार गरेर जानुपर्ने आवश्यकता रहेको बताए । ‘व्यक्तिगत झगडा हाम्रो केही पनि थिएन,’ अनलाइनखबरसित उनले भने, ‘मुख्य कुरा सबैलाई समान व्यवहार गर्नुपर्ने आवश्यकता छ । मातृका भए मातृकाको मात्रै हुनुपर्ने, अरु कोही भए अरुको मात्रै हुनु पर्ने त गर्न भएन ।’

मधेश प्रदेश सह इन्चार्ज विश्वनाथ साहले पनि अध्यक्षको निर्देशनपछि दुवै नेता सँगै हिँड्न थालेको बताए । ‘गिरिराजजी र मातृकाजीको अहिले काममा एकरुपता नै छ,’ उनले अनलाइनखबरसँग भने, ‘अध्यक्षको निर्देशनपछि दुवै जना सँगै हिँड्नु भएको छ ।’

साहले अघिल्लो चुनावबाट पाठ सिकेर अन्तरविरोध थाती राख्दै मिलेर जाने कुरा भएको बताए । ‘अघिल्लो चुनावको परिणाम बिग्रेका कारणले फेरि त्यस्तै गरिरह्यो भने अबको चुनाव पनि बिग्रिन्छ,’ उनले भने, ‘आगामी निर्वाचनमा हामी विगतको अन्तरविरोधलाई हल गर्दै अन्तरविरोध थाती राखेर मिलेर जाने कुरा भएको हो ।’

मधेशको कमाण्ड कसको हातमा ?

दुवै नेताको टकरावका कारण प्रचण्डले मधेशमा तेस्रो धारको प्रतिनिधित्व गर्ने गणेस साहलाई इञचार्जको जिम्मेवारी दिएका थिए । साह नेकपा संयुक्त हुँदै माओवादीमा आइपुगेका सालिन नेता हुन । दुवै पक्षले साहलाई स्वीकार गर्ने भए पनि मधेशको माओवादी संगठनमा झाँगिएको गुटबन्दीमाथि उनले हस्तक्षेप गर्न सकेनन् ।

गुटकै लडाइँका कारण गत वर्षको २५ मंसिरमा प्रदेश अधिवेशन उद्घाटन भए पनि अहिलेसम्म प्रदेश समिति नै बन्न सकेको छैन् । माओवादीले गत वर्ष मंसिर ११ मा देशभर पालिका सम्मेलन र २५ गते प्रदेश सम्मेलन गरेको थियो ।

सम्मेलनको एक वर्ष पुग्नै आँट्दा समेत मधेश प्रदेशका धेरै जिल्ला पालिका सम्मेलनलाई समेत टुंगोमा पुर्‍याउन सकेका छैनन् । प्रदेश सहइञ्चार्ज साहका अनुसार तराइका धेरै पालिकामा नेतृत्व टुंग्याउन बाँकी छ ।

चुनावअघि नै माओवादीले पालिका सम्मेलन र प्रदेश समितिलाई पूर्णता दिएर जान्छ या भद्रोल नै छाड्छ भन्ने प्रश्नको जवाफ भने मधेशका कुनै पनि माओवादी नेताहरुले दिन सकेका छैनन् । प्रदेश समिति बनाउनेबारे छलफल गर्न मंगलबारका लागि बोलाएको मधेशका केन्द्रीय सदस्यहरुको बैठक पनि प्रचण्डको व्यवस्थताका कारण स्थगन भएको छ । गठबन्धन बैठकले प्रचण्ड व्यवस्था हुनु परेको भन्दै रोकिएको थियो । अब भदौ १५ गतेको आसपासमा त्यो बैठक बस्ने नेताहरुले बताएका छन् ।

‘मधेशमा संगठन जति व्यवस्थित हुनुपथ्र्यो, त्यति गर्न हामीले सकेनौं,’ सह इन्चार्ज साह भन्छन्, ‘अलिकति अन्तरविरोधले गर्दा पार्टी फुट्ने/जुट्ने भयो । यसले गर्दा कमिटी निरन्तर बन्ने, भंग गर्ने भयो । सांगठनिक अस्थिरताले नै हामीलाई असर पारेको हो ।’

अब प्रश्न उठ्छ, यस्तो गञ्जागोलपूर्ण अवस्थामा रहेको माओवादी संगठनलाई कसले सम्हाल्ला ? अर्थात यसका लागि प्रचण्डले मधेशको कमाण्ड कसमा हातमा थमाइदेलान ?

पहिले सुरु गरौं दुई प्रतिष्पर्धी नेताको आकांक्षाबाट । अनलाइनखबरसँगको कुराकानीमा यादवले मधेश प्रदेशको कमाण्डरका लागि आफ्नो दाबी नरहेको बताए । खाली सबैलाई मिलाएर लैजानुपर्छ भन्ने कुरा मात्रै आफ्नो रहेको उनको भनाइ छ ।

पोखरेल भने आफ्नो दाबी रहे–नरहेको बारे खुल्न चाहेनन् । उनले यसबारे अध्यक्ष प्रचण्डले निर्णय लिनुपर्ने बताए । ‘यो पनि माथि अध्यक्षहरुले नै सल्लाह गर्नुपर्छ,’ पोखरेलले भने, ‘जसमा केन्द्रित हुन्छ, त्यही पुग्नुपर्छ । सबैलाई स्वीकार्य हुने उपाय खोजी गर्नुपर्छ ।’

मधेशको गुटगत समस्या कसैगरि पनि समाधान नभएपछि केही समयलाई प्रचण्ड आफैंले त्यहाँको कमाण्ड सम्हाल्न सक्ने चर्चा पनि माओवादी केन्द्रभित्र छ । प्रदेश इञ्चार्ज बनेका गणेश साहले नै कार्यकारी जिम्मेवारीमा रहन नचाहेको बताएका थिए ।

यस्तोमा चुनावसम्म प्रचण्डले मधेशलाई आफैं हेर्न सक्ने नेताहरु बताउँछन् । ‘नयाँ इञ्चार्ज अहिले ठ्याक्कै फलानो हुन्छ त भन्न सकिएन,’ एक नेताले भने, ‘चुनावसम्म मधेशलाई अध्यक्षले नै हेर्ने कि भन्ने कुरा पनि चलेको छ । अब मधेशका केन्द्रीय सदस्यहरुको बैठकबाट केही हुनसक्छ ।’

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?