+
+

वीरेन्द्रनगरमा स्थानीय पाठ्यक्रम ‘हामी र हाम्रो वीरेन्द्रनगर’ सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ९ गते १०:३८

९ भदौ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रम ‘हामी र हाम्रो वीरेन्द्रनगर’ पठनपाठन सुरु भएको छ ।

वीरेन्द्रनगर नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुले कक्षा १ देखि ३ सम्म उक्त विषय पढाउन थालेका हुन् ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा प्रकाशित पाठ्यपुस्तक स्थानीय भाषा, संस्कृति, सीप, प्रविधि र ज्ञानलाई समेटेर तयार पारिएको नगर प्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।

पदमपुरस्थित जनजागृति प्राथमिक विद्यालयका विद्यार्थीलाई बुधबार पुस्तक वितरण गर्दै नगर प्रमुख ढकालले आगामी वर्षदेखि पाठ्यक्रम र पाठ्यवस्तुलाई थप परिस्कृत गर्दै माथिल्ला कक्षामा पनि पठनपाठनको व्यवस्था मिलाइने बताइन् ।

‘आगामी वर्षदेखि कक्षा ८ सम्म पढाउने गरी पाठ्यक्रम निर्माण कार्य भै रहेको छ’ उनले भनिन्, ‘स्थानीय पाठ्यक्रमले विद्यार्थीलाई आफ्नो ठाउँको बारेमा जानकारी दिनुका साथै समाजप्रति थप जिम्मेवार बनाउन मद्दत गर्नेछ ।’

नगरप्रमुख ढकालका अनुसार वीरेन्द्रनगरले बनाएको पाठ्यक्रममा स्थानीय तहको संरचनादेखि उद्योग समेतलाई समेटिएको छ । विज्ञहरूको सुझावका आधारमा कृषि, संस्कृति र पर्यटनजस्ता सवाललाई पनि समावेश गरिएको छ ।

त्यस्तै नगरपालिकासहित जिल्लाको परिचय, भौगोलिक अवस्था, नगरको जनजीवन, मौसम तथा महत्वपूर्ण ऐतिहासिक धार्मिक र पर्यटकीय क्षेत्रहरु समेत पाठ्क्रममा समावेश छ ।

समुदायभित्र रहेका व्याक्तिको चाडपर्व, धर्म, संस्कार संस्कृति, प्राकृतिक स्रोत साधन, भूगोल, भाषा, भेषभूषा, पेसालगायतको दायरमा रहेर स्थानीय पाठ्यक्रम निर्माण गरिएको नगर प्रमुख ढकालले बताइन् ।

स्थानीय पाठ्यक्रम लागूसँगै विद्यार्थीहरुमा स्थानीय वस्तुस्थितिको स्पष्ट जानकारी हुने र स्थानीय ज्ञानआर्जनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।

नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार तथा दायित्व स्थानीय तहलाई सुम्पिएकाले पनि कार्यान्वयनको पाटोमा नगरपालिका लागेको प्रमुख ढकालले बताइन् । ‘लोकतन्त्रका मूल्यमान्यता अबलम्बन गर्न, असल, उदाहरणीय व्यक्तित्व निर्माण गर्न, मौलिक पहिचान र विविधताप्रति गर्व गर्न पाठ्यक्रमले सहयोग पुर्‍याउने अपेक्षा लिएका छौं’ उनले भनिन् ।

वीरेन्द्रनगरभित्र सामुदायिक ६० र संस्थागत विद्यालय ८८ ओटा रहेका छन् । हाललाई सामुदायिक विद्यालयमा लागु गर्ने र विस्तारै संस्थागत विद्यालयमा पाठ्यक्रम कार्यान्वयन गर्ने गृहकार्यमा रहेको नगरकोे शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख धिरेन्द्रप्रसाद शर्माले जानकारी दिए ।

जिल्लाका आठ पालिकामा अझै बनेन पाठ्यक्रम

आधारभूत तहका कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई स्थानीय वा मातृभाषामा पाठ्यक्रम निर्माण गरी अध्यापन गराउनुपर्ने भए पनि वीरेन्द्रनगर बाहेक जिल्लाका आठ वटा स्थानीय तहले अझै पाठ्यक्रम निर्माण गर्न सकेका छैनन् ।

पाठ्यक्रम निर्माणको मुख्य जिम्मेवारी स्थानीय तहलाई दिइएको छ । तर, सम्बन्धित पालिकाले यसलाई प्रथामिक्तामा राखेको पाइँदैन । स्थानीय तहले आफ्नै मौलिक पाठ्यक्रम निर्माण बनाउँन नसकेपछि विद्यालयहरू अन्य विषयहरू पढाउन बाध्य छन् ।

जिल्लाको भेरीगंगा नगरपालिकाको जनज्योति माध्यमिक विद्यालयले स्थानीय पाठ्यक्रमका रूपमा कम्प्युटर विषय अध्यापन गराउने गरेको छ । नगरपालिकाले पाठ्यक्रम निर्माणमा ढिलाइ गर्दा कम्प्युटर विषयलाई नै स्थानीय पाठ्यक्रमका रूपमा पढाउने गरिएको विद्यालयले जनाएको छ ।

पाठ्यपुस्तक निर्माणको काम थालिए पनि त्यसले पूर्णता पाउन नसकेको पञ्चपुरी नगरपालिकाले जनाएको छ । गुर्भाकोट नगरपालिकाले पाठ्यक्रम निर्माणको अन्तिम तयारी थालेको छ ।

कृषि लगायतका विषयलाई समेटेर स्थानीय पाठ्यक्रम निर्माणको तयारी गरिएको उमप्रमुख मैना विकले जानकारी दिइन् ।

हरेक स्थानीय तहले कम्तिमा एउटा विषय स्थानीय पाठ्यक्रममा आधारित निर्माण गरी पालिकाभित्रका विद्यालयमा अध्यापन गराउनुपर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?