+
+

कम्युनिस्टको छातीमा ‘वामपन्थ’ को परेड

‘आजको वामपन्थ’ को बहस समकालीन नेपाली राजनीतिक वृत्तमा कम्युनिस्टको छातीमा ‘वामपन्थ’ निर्लज्ज परेडका रूपमा विश्लेषण हुँदैछ ।

खेम थपलिया खेम थपलिया
२०७९ भदौ ९ गते ११:५३

नेपाल अध्ययन केन्द्रद्वारा आयोजित ‘आजको वामपन्थ’ विषयक अन्तरसंवाद कार्यक्रमको तरङ्ग अझै बाँकी छ । यो कार्यक्रम, यसमा उपस्थिति व्यक्तित्व र विषयगत बहसबारे विभिन्न सञ्चारमाध्यममा विभिन्न कोणबाट समाचार पनि आएका छन् ।

पीताम्बर शर्माको ‘वामपन्थीहरूबाटै वामपन्थलाई बचाऔं’ भन्ने पदावली रोचक, अर्थपूर्ण र रणनीतिक लाग्दैछ । क्रान्तिकारी आन्दोलन र परिवर्तनमा ऐंजेरु बन्दै आएको ‘वामपन्थ’ लाई जोगाउन यति धेरै मरिहत्ते किन गर्नुपरेको होला भन्ने पनि हुँदैछ । केही श्रव्यात्मक-दृश्यात्मक प्रस्तुति र सहभागीहरूको टिप्पणीले मनलाई अझै बोझिलो बनाइदिएकै छ ।

कार्यक्रममा समकालीन साहित्यिक तथा राजनीतिक वृत्तका चल्ताफिर्ता, आशालाग्दा र भरपर्दा युवा नेताहरूको उपस्थितिले मनमा झन् धेरै खुल्दुली मच्चाइदिएकै छ । अझ जाने-मानेका केही मित्रहरूले उक्त कार्यक्रमलाई ‘न भूतो न भविष्यति’ जस्तो गरी प्रचार-प्रसार गरेको पनि देखिएकै छ । यसबाट मार्क्सवादी कोणबाट नेपालको राजनीतिक, साहित्यिक, सांस्कृतिक तथा वैचारिक दृष्टिकोणबाट आफूलाई निरन्तर सक्रिय बनाउँदै आएकाहरूको समकालीन मनोविज्ञानलाई नजिकबाट नियाल्ने अवसर पनि पाइएकै छ ।

समकालीनतामा जबर्जस्त यस्तो पार्न खोजिंदैछ कि दुनियाँमा सबैभन्दा महान् कुरा ‘वामपन्थ’ हो, त्यो पनि ‘आजको वामपन्थ’ का रूपमा । कुनै बेला डा. बाबुराम भट्टराईले ‘आजको मार्क्सवाद’ भनेर उधुमै मच्चाएका थिए । उनी त्यही ‘आजको मार्क्सवाद’ को पीङबाट पछारिएर कता-कता पुगेर फेरि उनै प्रचण्डको फेरो समाउन आइपुगेका छन् । मलाई लाग्छ, उतिबेलाको ‘आजको मार्क्सवाद’ र यतिबेलाको ‘आजको वामपन्थ’ को बहसको अन्तर्य एउटै हो भन्ने कुरामा कुनै शंका छैन । ‘आजको वामपन्थ’ को बहस समकालीन नेपाली राजनीतिक वृत्तमा कम्युनिस्टको छातीमा ‘वामपन्थ’ निर्लज्ज परेडका रूपमा विश्लेषण हुँदैछ । यी सबैलाई एकठाउँमा राखेर हेर्दा ठूलो ‘अरिंगाल’ को गोलामा नजिकैबाट ढुंगा हान्दा जस्तो परिवेश बन्दछ, त्यस्तै परिवेश बनिरहेको अनुभूति हुन्छ । यो हामी यहाँ त्यही अरिंगालको भुनभुनाइका बीचबाट कुराकानी गरिरहेका छौं ।

‘वामपन्थ’ का अनेक परिभाषा छन् । आफू अनुकूलको परिभाषामा चचहुई गरिरहेछन् समकालीन ‘वामपन्थी’ हरू । ‘वामपन्थ’ शब्दको उद्भवभूमि फ्रान्स हो । सन् १७८९ को फ्रान्सेली क्रान्तिपश्चात् त्यहाँ दुईखाले प्रतिनिधि थिए- राजा समर्थक अर्थात् दक्षिणपन्थीहरू र उनका विरोधी अर्थात् गणतन्त्रवादीहरू । सन् १७८९ को मे ५ र जून २३ का दिन फ्रान्सको स्टेट्स जनरलको संयुक्त बैठकको अध्यक्षता गरिरहेका व्यक्तिको दाहिनेतर्फ राजा समर्थक र बायाँतर्फ उनका विरोधीहरू बसेका थिए । यहींबाट लेफ्टिस्ट ‘वामपन्थी’ र राइटिस्ट ‘दक्षिणपन्थी’ को सम्बोधन प्रारम्भ भएको हो ।

समयक्रममा गणतन्त्रवादी तथा तिनले जनाउने राजनीतिक दिशालाई लेफ्ट ‘वामपन्थ’ भन्न थालियो । त्यसपछि निरन्तर सत्ताका विपक्षीलाई वामपन्थीको प्रयोग हुन थाल्यो । यसरी ‘सन् १७८९ को क्रान्तिको भावना’ लाई स्वीकार नगर्ने र गर्ने आधारमा दक्षिणपन्थ र वामपन्थ भनी छुट्याउने प्रचलन सुरु भएको थियो । कुनै बेला चर्च विरोधीहरू पनि वामपन्थी कहलिन्थे ।

वामपन्थीहरूलाई निजी सम्पत्तिको मोह नभएको पनि ठानिन्थ्यो । राजनीतिक क्षेत्रमा दक्षिणपन्थी र वामपन्थी समानान्तर जस्तो दुई धार देखिए पनि सैद्धान्तिक तथा दार्शनिक रूपमा यो एकैधारका रूपमा अघि बढेको थियो । तर, सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र जारी भएपछि अर्थात् दुई सत्ता, दुई वर्ग, दुई विचार, दुई दर्शनको स्पष्ट खाका आएपछि त्यसपूर्व रहेको ‘वामपन्थ’ सम्बन्धी दृष्टिकोणमा क्रमभंगको जरूरी हुन्थ्यो, त्यो हुन सकेन ।

‘वामपन्थ’ पदावली रसियन ‘अक्टोबर समाजवादी क्रान्ति’ जस्तै आदर्शको प्रतीक बन्न नसक्नुले पनि त्यसको क्रमभंगताको अपरिहार्यतालाई नै प्रमाणित गरेको छ । ‘लेफ्ट’ शब्द हाम्रो उपमहाद्वीपसम्म आइपुग्दा ‘वामपन्थ’ बन्यो, जहाँ पनि परिवर्तनका पक्षधरलाई वामपन्थी र यथास्थितिका पक्षधरलाई दक्षिणपन्थी भन्ने शृंखला अझै अगाडि बढ्यो । नेपालमा एक समय राणाविरोधी सबै वामपन्थी मानिन्थे । नेपालमा २००६ सालमा कम्युनिस्ट पार्टी जन्मियो, त्यसलाई पनि ‘वामपन्थी’ नै भनियोÙ खासमा कमजोरी यहीं भयो । ‘वामपन्थ’ का कैयौं मुद्दालाई कम्युनिस्टले स्तस्फूर्त रूपमा सैद्धान्तिक रूपमै अंगीकार गरिदिए, यहाँ पनि अर्को कमजोरी भइदियो ।

साथै, ‘कम्युनिस्ट’ हरू भूमण्डलीकृत पूँजीवादको चक्रव्यूहमा फस्दै निजीकरण, उदारीकरणको फेरो समात्न पुगे । ‘कम्युनिस्ट’ मा पनि भ्रष्टीकरण र माफियाकरण देखियो, जसको कारण कम्युनिस्ट आन्दोलन अल्मलियो । एउटा खुट्टा ‘साम्यवादी डुंगा’ र अर्को खुट्टा ‘दक्षिणपन्थी डुंगा’ मा राखेका नेपालका ‘वामपन्थ’ को मूलधार नवबुर्जुवाकरण भए, कम्युनिस्टीकरण हुन सकेनन् । आज नेपालका कैयौं कम्युनिस्ट मार्क्सवादी दर्शन, कम्युनिस्ट नैतिकता र आचरण, क्रान्तिकारी कार्यदिशा, जनवादी केन्द्रीयता, वैज्ञानिक समाजवाद तथा साम्यवाद जस्ता आधारभूत प्रस्तावनाबाट टाढिंदैछन् ।

‘वामपन्थ’ को मूलधार नवउदारवादको भरिया बनेको छ, जसले भुइँ हेर्न बिर्सिसकेको छ । कथनीमा वामपन्थी तर करनीमा ‘कम्युनिस्ट’ हरू तडक-भडक र हाटहुट-लाटलुटमय बुर्जुवाकरणमा लुटपुटिएका छन् । यसर्थ, कम्युनिस्टलाई वामपन्थी भनेर चिनिने गरिए पनि यथार्थतः सबै वामपन्थी कम्युनिस्ट हुन सक्दैनन् तर सबै कम्युनिस्ट वामपन्थी हुन सक्दछन् । कम्युनिस्टहरू वामपन्थ हुन्छन् तर, सबै वामपन्थ कम्युनिस्ट हुँदैनन् । सही वामपन्थ सही कम्युनिस्टको सहयोगी धारा हो ।

“नेपालमा वामपन्थीहरूको लोकपि्रयता छ तर, वामपन्थी पार्टीहरूको जनतासँग सम्बन्ध रहेन । नेतासँग मात्रै सम्बन्ध रहृयो । अहिलेका वामपन्थी पार्टीहरूको मुख्य यात्रा चुनावदेखि चुनावसम्म मात्र रहृयो । तसर्थ, वामपन्थीहरूबाटै वामपन्थलाई बचाउनुपर्‍यो, (पीताम्बर शर्मा, नेपाल रिडर्स) ।” खासमा वामपन्थी आफैंमा वर्ग होइन । अझ वामपन्थीहरूलाई वामपन्थीहरूबाट बचाउने कुरा झनै भ्रामक छ । बरु ‘कम्युनिस्टरूलाई आजका वामपन्थबाट बचाऔं’ भन्ने कुरा सही हुन्छ । कम्युनिस्टहरूको जनाधारलाई वामपन्थतिर मोड्न र त्यसलाई प्रतिक्रान्तितिर धकेल्नु उक्त अभिव्यक्तिको मकसद हो । कम्युनिस्टहरूको वर्गीय आधार, विश्व दृष्टिकोण र वैज्ञानिक समाजवादी-साम्यवादी लक्ष्य निकै महत्त्वपूर्ण कुरा हुन् ।

“मेरो विचारमा वर्ग विभेद अहिले सैद्धान्तिक मात्रै छ । किनभने कुनै पनि कम्युनिस्ट पार्टीमा हेरौं, त्यहाँ वर्गीय आधार देखिंदैन । त्यहाँ सिद्धान्त र व्यवहारका बीचमा ठूलो अन्तरविरोध छ । यसलाई पनि वामपन्थीहरूले बुझ्न आवश्यक छ, (नेपाल रिडर्स) ।”

यहाँ शर्माले सहायक पक्षलाई प्रधान र प्रधान पक्षलाई सहायक बनाएका छन् । उनले नेपालमा वर्ग विभेद सैद्धान्तिक मात्र देख्नु ठूलो दृष्टिदोष हो । उनले आफूलाई माक्र्सीय दुई वर्ग र वर्गसंघर्षको प्रस्तावनाका विरुद्ध उभ्याएका छन् । मणि थापाको भनाइ छ, “हामीले पार्टीभित्र छुट्टै दस्तावेज र छुट्टै मूल्यसहित आजको वामपन्थलाई उठाएर नयाँ मुद्दा के हो भन्ने कुरामा बहस गर्न सक्छौं कि सक्दैनौं ? हामीले प्रत्येक पार्टीभित्र नयाँ मुभमेन्ट गरेर त्यो पार्टीबाट विद्रोह गरेर नयाँ पार्टी बनाउन सकिन्छ कि सकिन्न ? यो अहिलेको आवश्यकता हो, (नेपाल रिडर्स) ।”

थापाको यो कुरा नितान्त मनोगत र आवेगात्मक देखिन्छ । उनले एमालेलाई दक्षिणपन्थी भन्ने अनि उही पार्टीको नेता बनिरहने कुरा सिद्धान्ततः सर्वथा गलत छ । उता राम कार्कीको “बाउलाई काटेर सत्ता हत्याउने समाजमा सजिलै पार्टी नेतृत्व फेर्न सकिंदैन” भन्ने गज्जबको प्रस्तुति पनि सुनियो । उनले धेरैपटक रोजाको नाम लिएको पनि सुनियो । माक्र्स र लेनिनविरोधी बहसका टिपोट र ट्राटस्की विचारलाई उनले निकै नै उछालेको देखियो । मार्क्सवाद भनेको संशोधन हुँदै आएको सिद्धान्त भएकोले यसमा संशोधन नगरे यो मर्छ, यसलाई बचाउन पनि संशोधन गरिरहन जरूरी भएको कुरा उल्लेख गरेर उनले नयाँ शिल्पबाट संशोधनवादको पक्षपोषण गरेका थिए ।

यथार्थतः मार्क्सवादमा संशोधन होइन, त्यसलाई समृद्ध गर्दै अघि बढ्ने कुरा सही हुन्छ । माक्र्स स्वयंले यसलाई ‘कार्यको पथप्रदर्शक’ भन्नुभएको छ । नेपालमा यतिबेला अनेक रङका संस्था र मान्छेहरू क्रियाशील छन् । साम्राज्यवादीहरू कुनै पनि रूप र रङका कम्युनिस्टको नाम नै सुन्न चाहँदैनन् । उनीहरू यतिबेला कम्युनिस्ट आवरणका मान्छेहरूलाई प्रयोग गरेर कम्युनिस्ट विरोधी परिवेश बनाउन सक्रिय छन् । उनीहरूले विभिन्न माध्यमबाट राजनीति कमान्डरको पनि कमान्डर हो भन्ने कुरालाई ओझेलमा पार्न खोजेका छन् । संशोधनवादी रुझान भएकाहरूलाई माक्र्सभन्दा अब्बल देखाउन खोजिएको छ, जुन बौद्धिक बेइमानी र धूत्र्याइँ सिवाय अरू केही होइन ।

नेपालमा विजेताहरूको कुरा बढी गरिन्छ । इतिहासलेखन नै यस्तै हुँदै आएको छ । यहाँ उत्पीडित तथा श्रमजीवी जनसमुदायको योगदान र बलिदानको कुरै हुँदैन । एकाध नेताको कमजोरी केलाउने तर व्यवस्थाको असफलताको कुरामा ‘अ’ पनि उच्चारण नगर्ने कुरा अनौठो छ । कुनै पनि विषयको उठान ठूलो कुरा होइन, त्यसको लागि व्यवस्थापकीय मञ्च कसले खडा गरिदियो भन्ने कुरा धेरै महत्त्वपूर्ण हुन्छ ।

समकालीनतामा हामी अलि बढी सतही र आवेगी भएका छौं । नचाहिंदो कुरा पनि ‘हो क्यारे’ भन्ने जस्तो हाम्रो मानसिकता बनेको छ । सो कार्यक्रममा वक्ताहरूले मार्क्सवादको नयाँ परिभाषा खोज्नुपर्छ भन्ने कुरालाई अलि बढी जोड दिएको देखियो । मूल समस्या यहींनेर छ । नयाँ भन्दाभन्दै अर्कै ठाउँमा पुर्‍याइदिने यो बौद्धिक प्रपञ्च हो । घनश्याम भुसालको टाउको हल्लाइचाहिं बेजोड देखियो । उनको नयाँमै जोड थियो ।

उनले ‘रक्सीले मात्तिएको बाँदरलाई बिच्छीले टोकेपछि के हुन्छ’ भन्दै भरपूर मनोरञ्जन प्रदान गरेका थिए । राजेन्द्र महर्जनको टिप्पणी पढियो, “वामपन्थमाथि बहस केन्द्रीकृत हुनुपर्नेमा मार्क्सवाद र कम्युनिस्ट पार्टीमा मात्रै रुमल्लिरहेका छौं, जुन कुरा ‘बृहत् वामपन्थ’ भित्रको एउटा अंग मात्रै हो । वामपन्थलाई कम्युनिस्ट पार्टीमा मात्रै सीमित गर्नु भनेको संकुचित बुझाइ हो, (नेपाल रिडर्स) ।”

महर्जनको यो धारणा सर्वाधिक उदेकलाग्दो छ । यो हददर्जाको मार्क्सवादको मानमर्दन हो । विषयको यही सेरोफरोमा नरेन्द्रजंग पिटरले भनेका छन्, “घनश्याम भुसालको छत्रछायामा हुर्किरहेको नेपाल अध्ययन केन्द्रले पनौतीको रिसोर्टमा नेपालका सक्रिय वाम-राजनीतिक बुद्धिजीवी एवम् नेताहरूको चिन्तन शिविर सम्पन्न गरेछ । त्यसमा अझ माओवादी जनयुद्धबाट आएका विभिन्न पात्र र प्रवृत्तिको जमघट रहेछ । नेपाली वामपन्थी आन्दोलनको नवीन सोच, अभ्यास र सपनाको एमआरआई गर्ने उक्त शिविरमा गहन चिन्तन-मनन भएछ । नेपाल अध्ययन केन्द्र रोजा लक्जेम्बर्ग फाउन्डेसनबाट दान प्राप्त संस्था हो । शान्ति प्रक्रियाको तुरुन्तै एकपटक त्यस संस्थाका दक्षिण एसिया हर्ताकर्ताले माओवादी बुद्धिजीवी संगठनलाई पनि ‘उम्दा’ प्रशिक्षण दिएको थियो, जुन आफैंमा रहस्यमय र प्रश्नयुक्त रहृयो । अरुन्धती रोयले एनजीओ बारेको एउटा लेखमा रोजा फाउन्डेसनसहित सीआईए सञ्चालित आईएनजीओका नाम उल्लेख गरेकी छन् ।”

एकातिर अमेरिकी लगानीको आयोजक संस्था हुनु ! अर्कोतिर मार्क्सवाद, पार्टी संगठन र प्रतिबद्धताविरुद्ध जनमत सिर्जना गर्न खोजिनुले तिनका ठूलै योजनाबद्धतालाई नकार्न मिल्दैन । ख्याल राखौं, ‘आजको वामपन्थ’ को पिलन्धरे लौरो टेकेर कहीं पुगिन्न । मालेमावादको बाटो हिंड्न गाह्रो भएपछि, रोज्ने बाटो सम्भवतः यस्तै यस्तै त होला

समकालीन कम्युनिस्ट विचार र आचरणमा आएको विचलनले जनतामा नैराश्यता छाउँदै गएको छ । सत्तामा पुगेपछि कम्युनिस्टहरू सम्पूर्ण त्याग र बलिदानलाई बिर्सिएर सुखभोगी बनेका छन् । एनजीओ-आईएनजीओका मालिक बनेका छन् । सुपरमार्केट जस्ता स्कुल-कलेज खोलेर श्रमजीवी अभिभावकलाई ठग्नसम्म ठगेका छन् । उनीहरूमा कम्युनिस्टको त के कुरा, ‘वामपन्थ’ को समेत लक्षण पनि देखिंदैन । उनीहरूका लागि कम्युनिस्टको आदर्श, वैज्ञानिक समाजवाद, आमूल परिवर्तन, शहीद, बलिदान बेकार बन्दै गएका छन् ।

यसैको नकारात्मक परिणाम हो, ‘आजको वामपन्थ’ को बहस । सामाजिक संरचनाले पनि सबै कुरा गर्न पाइने र ‘वामपन्थ’ पनि भन्न पाइने परिवेश बनाउन सघाइरहेको छ । सामाजिक समानता, न्याय, समतामूलक आर्थिक वितरण, धर्मनिरपेक्षता, राजनीतिक र सामाजिक वर्ग संरचनामा आमूल हेरफेर जस्ता विषयले कम्युनिस्ट भनेका वामपन्थी र वामपन्थी भनेका कम्युनिस्ट जस्तो परिस्थिति बनेको छ ।

यसरी हेर्दा अराजकतावादी, समाजवादी, कम्युनिस्ट र लोकतन्त्रवादीहरू सबै ‘आजका वामपन्थ’ हुन् जस्तो भान पारिएको छ । यथार्थतः कम्युनिस्ट मात्र ‘वामपन्थ’ हुन् भन्ने बुझाइ सही छैन । हरेक युगका सामाजिक जीवनका चिन्तन युगानुकूल नीतिगत एवम् व्यक्तिगत जीवनमा पनि लागू भइरहेका हुन्छन् ।

नेपाली राजनीतिमा यतिबेला एउटा बहस छ- कांग्रेस नेता प्रदीप गिरि वामपन्थ कि एमाले अध्यक्ष केपी ओली वामपन्थ ? माओवादी केन्द्र वामपन्थ कि नेपाल मजदुर किसान पार्टी वामपन्थ ? राजालाई तुरुन्त ल्याउनुपर्छ भन्ने सीपी मैनाली वामपन्थ कि ‘फेरि ज्ञानेन्द्र ल्याउने कुराको अर्थ छैन’ भन्ने अर्जुन ज्ञवाली वामपन्थ ? एमसीसी विरोधीहरू वामपन्थ कि एमसीसी पक्षधर वामपन्थ ? राष्ट्रघाती नागरिकता विधेयकको पक्षमा उभिने वामपन्थ कि त्यसको विपक्षमा उभिने वामपन्थ ? संसदीय दलाल सत्ताको पक्षमा उभिने वामपन्थ कि दलाल सत्ताको विपक्षमा उभिने वामपन्थ ?

खासमा चुनावी राजनीतिमा कम्युनिस्ट र गैरकम्युनिस्टको भोट तान्ने नियतका साथ ‘वामपन्थ’ शब्दलाई उछालिएको छ । नेपालमा ‘वामपन्थ’ को वरिपरि मध्यमवर्ग सक्रिय छ । उसले नै यसलाई सबैभन्दा बढी पृष्ठपोषण गरिरहेको छ । यद्यपि नेपालमा वामपन्थले क्रान्तिकारी कम्युनिस्टदेखि घोर दक्षिणपन्थीका मुद्दाहरू उठाउने सुविधा पाएका छन्, जसका कारण जनतामा कम्युनिस्ट र वामपन्थ एकै रहेछन् भन्ने परेको छ । यो नेपालका कम्युनिस्टहरूले बेलैमा ‘कम्युनिस्ट र वामपन्थ’ सम्बन्धी सैद्धान्तिक निरुपण गर्न नसक्दाको परिणाम हो ।

समकालीन विश्व राजनीतिमा दक्षिणपन्थीहरूकै हालीमुहाली छ । महान् अक्टोबर क्रान्तिपछि विश्वका झन्डै दुई तिहाइ भू-भागमा कम्युनिस्ट-समाजवादी लहर छाए पनि समकालीन परिवेशमा व्यापक फेरबदल आएको छ । नेपालमा जनयुद्धले एउटा परिस्थितिको निर्माण गर्दैथियो, त्यो पनि सम्झौतामा गएर टुंगियो । जनयुद्धको निरन्तरतामा उठेको ‘एकीकृत जनक्रान्ति’ को झन्डा पनि यतिबेला लत्रिन पुगेको छ ।

वैज्ञानिक समाजवादी क्रान्तिको झन्डा उठ्दै गरेको यतिबेला केही सैद्धान्तिक, दार्शनिक, वैचारिक तथा राजनीतिक मुद्दाको छिनोफानो गर्नुपर्ने दायित्व पनि हामीमाथि आइपुगेको छ । सही कुरा यो हो कि दक्षिणपन्थीहरूसित नाभि जोडिएका तर तिनका कतिपय सवालमा असन्तुष्टहरूको जमात हो- ‘आजको वामपन्थ ।’ वामपन्थ सुधारवादी हुन सक्छ तर क्रान्तिकारी कम्युनिस्ट हुन सक्तैन । यिनीहरू समसामयिकताभन्दा माथि उक्लिन सक्तैनन् । यिनीहरूले लोकतन्त्रको जामाभित्र हुने-नहुने सबै काम गर्छन्, जो उदारवादी-नवउदारवादी गर्तमा नराम्ररी जाकिइसकेका छन् ।

नेपालमा रवि लामिछाने, बालेन साह, हर्क साङपाङहरू वामपन्थ हुन् । यिनीहरू दक्षिणपन्थीहरूको असफलताको ढाकछोप गर्न उभ्याइएका निमित्त पात्र हुन् । वामपन्थको नारा बोकेका रवीन्द्र मिश्रको नाभि पनि उही दक्षिणपन्थीसँगै जोडिएको छ । अझ उनको ‘विचारभन्दा माथि देश’ भन्ने नाराले उनलाई प्रतिगमनप्रेमी ‘अराजकतावादी दक्षिणपन्थी’ भन्नु उपयुक्त हुन्छ । भारतमा केजरीवालको कुरा पनि त्यही हो । एकजनाले लेखेका थिए, “भारतमा कंग्रेस केन्द्रीकृत वामपन्थी, आम आदमी पार्टी मध्यमस्तरको वामपन्थी हुन् ।”

आजका वामपन्थले लोकतन्त्रको झन्डा बोक्छ र कम्युनिस्टको छातीमा बुट बजार्छ । असली कम्युनिस्ट मात्र असली वैज्ञानिक समाजवादी-साम्यवादी हुन्छन् । अन्य सबै नौटंकी वामपन्थी-समाजवादी हुन् । समाजवाद भन्दैमा हुने कुरा हो र ! जो कोहीले आफूलाई समाजवादी भन्दै त्यो समाजवादी भइहाल्छ र ! नेपालका असली कम्युनिस्ट जनाधारलाई अलमल्याउन जो-कोहीले पनि अहिले समाजवाद भन्न थालेका छन् ।

वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र सामाजिक न्यायप्रधान शोषणरहित समाज बन्दछ । मन लाग्दैमा कोही कसैलाई ‘वामपन्थी’, ‘दक्षिणपन्थी’ र ‘कम्युनिस्ट’ भन्दिने कुरा हुँदैन । अहिले कसैले कांग्रेसलाई वामपन्थी भनिदियो भने मान्छेहरू हाँस्छन् । तर विश्लेषकहरू यो पनि भन्छन् कि कांग्रेस बीपीको पालासम्म वामपन्थी थियो ।

‘२००७ सालमा जनक्रान्ति गरेको र संविधानसभामार्फत देशको कानुन बन्नुपर्छ’ भनेको आधारमा उसलाई वामपन्थी भनिएको थियो ।

जनविद्रोहको जगमा उठेको जनआन्दोलनबाट राजतन्त्रको अन्त्य गरी गणतन्त्र ल्याउने पक्षमा कांग्रेस उभिएको थियो । कांग्रेसमा बीपी वामपन्थी जस्ता र कृष्णप्रसाद भट्टराई दक्षिणपन्थी जस्ताÙ गणेशमान, प्रदीप गिरि एवम् नरहरि आचार्यहरू वामपन्थी जस्ता र खुमबहादुर खड्का, शेखर कोइराला र शशांक कोइरालाहरू दक्षिणपन्थी जस्ता देखिए ।

गुरु घिमिरे भन्छन्, “नेपाली कांग्रेस कम्युनिस्ट होइन, तर यसको धार वामपन्थ नै हो ।” तर पनि आज समग्रतामा कांग्रेस दक्षिणपन्थी पार्टीको रूपमा परिचित छ । दलाल संसदीय व्यवस्थाको रक्षार्थ ज्यान फालेर लाग्ने व्यक्ति तथा राजनीतिक दलहरूको कुरा पनि त्यही हो । रवीन्द्र मिश्र, राजेन्द्र लिङ्देन, कमल थापा, केपी ओलीहरू दक्षिणपन्थी र प्रतिगामी दुवै हुन् । पछाडि फर्किन खोज्नु प्रतिगमन हो ।

कम्युनिस्टहरू आˆनो चेतनालाई नै सर्वाधिक शक्तिशाली हतियार मान्छन् । रोजाको यो अभिव्यक्ति निकै शक्तिशाली रहेको छ, “संसद अवसरवाद कोरल्ने थलो हो र संसदलाई अवसरवादबाट जोगाउने जिम्मेवारी पार्टीको हो ।” रोजाको यो भनाइ नेपालका ‘संसदवादी कम्युनिस्ट’ हरूका लागि महत्वपूर्ण शिक्षा हो ।

वर्गसंघर्षमा जसले आफूलाई सर्वहाराको पक्षमा उभ्याउँछ र एक दिन उत्पीडित तथा श्रमजीवी सर्वहारा जनताको जित निश्चित छ भन्ने कुरामा विश्वास गर्छ, ऊ नै कम्युनिस्ट हो । यथार्थतः कम्युनिस्टहरू मीठो बोल्छन्, साधारण हुन्छन्, परिश्रमी हुन्छन्, सभ्य हुन्छन्, बाँडेर खान्छन्, खूब अध्ययन गर्छन्, जनतालाई माया गर्छन्, भ्रष्टाचार गर्दैनन्, चरित्रवान हुन्छन्, कमिला जस्तै मिल्छन्, सामूहिक हुन्छन्, बलिदानी भावनाका हुन्छन्, देशभक्त हुन्छन्, मानवतावादी हुन्छन्, अन्तर्राष्ट्रियतावादी हुन्छन् ।

दुःखको कुरा, नेपालको समकालीनतामा युरो-कम्युनिजम, नियो-कम्युनिजम र युएस-कम्युनिजमबाट निर्देशित र परिचालितहरूको संख्या बढिरहेको छ । ग्रीसेली नाटककार युरिपाइडिजले भनेका छन्, “एक बफादार मित्र हजार नातेदारभन्दा बढी काम लाग्ने हुन्छ Û” वामपन्थीहरू कम्युनिस्टका बफादार मित्र हुनुपर्ने हो तर नेपालमा उनीहरू कटु आलोचक देखिन्छन् । उनीहरूले कम्युनिस्ट-सर्वहारावर्गको मुक्तिको सिद्धान्तलाई सघाइरहेका हुँदैनन् । बरु उल्टै उनीहरूले अमेरिकनहरूसित हित्तचित्त मिलाइरहेका हुन्छन् ।

अमेरिकामा ट्राटस्कीवादीहरू हाईहाई हुन्छन्, किनभने उनीहरू स्टालिन-माओका विरोधी छन्, जुन कुरा अमेरिका र अमेरिकनहरूलाई असाध्यै मन पर्छ ।

आफूलाई ‘बौद्धिक’ भन्न रुचाउनेहरूले नेपालमा ‘ट्राटस्कीले रूसमा अक्टोबर क्रान्ति गरेका हुन्’ भन्ने जस्तो भाष्य खडा गर्दैछन् । माक्र्स, लेनिन, माओका विरुद्ध ट्राटस्कीपन्थलाई उभ्याउन खोजिंदैछ । अमेरिकी साम्राज्यवादले रोजा फाउन्डेसनलाई लाखौं डलर खर्चनु सामान्य कारण हुनै सक्तैन । हामीले यो कुरा भुल्नुहुँदैन कि नेपालमा साम्राज्यवादीहरूले विभिन्न नाममा ‘कम्युनिस्ट पार्टी’ खोलिदिएका छन्, खर्चपानीको बन्दोबस्त पनि तिनैले गरिदिएका छन् । तिनको काम उत्तर-मार्क्सवाद, नव-मार्क्सवाद र वामपन्थको पाठ्यक्रम अगाडि सारेर भ्रम सिर्जना गर्नु हो ।

एकातिर अमेरिकी लगानीको आयोजक संस्था हुनु ! अर्कोतिर मार्क्सवाद, पार्टी संगठन र प्रतिबद्धताविरुद्ध जनमत सिर्जना गर्न खोजिनुले तिनका ठूलै योजनाबद्धतालाई नकार्न मिल्दैन । ख्याल राखौं, ‘आजको वामपन्थ’ को पिलन्धरे लौरो टेकेर कहीं पुगिन्न । मालेमावादको बाटो हिंड्न गाह्रो भएपछि, रोज्ने बाटो सम्भवतः यस्तै यस्तै त होला !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?