+
+

सिट बाँडफाटबारे कांग्रेसमा तीन थरी धारणा, गगनको अडान : सय सिट

लिलु डुम्रे लिलु डुम्रे
२०७९ भदौ ९ गते १३:०५

९ भदौ, काठमाडौं । मंसीर ४ गते हुने संघीय तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सत्तारुढ दलमा तालमेलको भागवण्डा गर्दा कांग्रेसभित्र तीन विचार देखिएको छ ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले ८० सिटको हाराहारी कांग्रेसका उम्मेदवार हुने गरी सहमति गर्ने पक्षमा देखिएका छन् । सभापति देउवाको मुख्य चासो गठबन्धन टिकाउनु रहेको छ । त्यसका लागि देउवाले बढी सिट दाबी नगरी कांग्रेस लचिलो हुनुपर्ने पक्षमा छन् । कांग्रेस लचक हुने संकेत उनले केही दिन कांग्रेसकै कार्यक्रममा गरेका थिए ।

साउन ३० र ३१ गते कांग्रेसबाट विजयी जनप्रतिनिधिको अभिमुखीकरणमा बोल्ने क्रममा बढी सिटमा दाबी गर्नुभन्दा जित्नुलाई प्राथमिकतामा राख्नुपर्ने बताएका थिए । उद्घाटन सत्रमा उनले भनेका थिए,‘धेरै सिटमा उम्मेदवार दिनेभन्दा धेरै जित्नु ठूलो कुरा हो ।’

उम्मेदवारको आकांक्षी रहेका नेता कार्यकर्तालाई कांग्रेसले दाबी गरे अनुसारकै क्षेत्र प्राप्त नहुने अप्रत्यक्ष रुपमा जानकारी त्यसै बेला गराइसकेका थिए । सभापति देउवाको बोलीलाई सुदूरपश्चिम सभापति वीरबहादुर बलायर समर्थन गर्छन् । निर्वाचित हुने गरि तालमेलको मोडालिटी बनाउनुपर्ने र प्राप्त क्षेत्रमा जित निकाल्नै पर्ने दबाब गठबन्धनलाई भएको उनी बताउँछन् ।

प्रधानमन्त्री तथा सभापति देउवा ८० क्षेत्रमा उम्मेदवार बनाउन राजी हुने कांग्रेसवृत्तमा चर्चा भइरहेको छ । ‘उहाँलाई गठबन्धन टिकाउनु छ । यता तालमेलमा कुरा मिलेन भने माओवादीलाई तान्न एमाले तयार छ ।’ एक केन्द्रीय नेता भन्छन्,‘मुख्यगरि माओवादी उता जान्छ कि भन्ने उहाँमा डर छ ।’ गठबन्धनका दलहरुलाई बिच्किन नदिनका लागि देउवा कांग्रेसका लागि क्षेत्र घटाउन लचिलो हुने उनको बुझाई छ ।

देउवाको अधिकतम लचकताको उदाहरण ती नेता प्युठान र बागलुङलाई दिन्छन् । ‘२०७४ मा विजयी भएको आधारमा प्युठानमा जनमोर्चाले दाबी गर्न पाउँछ । एक सिट दिँदा त्यो क्षेत्र नै उपयुक्त पनि हो ।’ ती नेता भन्छन्, ‘बागलुङ २ मा माओवादीले जितेको छ । त्यहाँ त्यही दलले पाउला । बागलुङ १ मा अघिल्लोपटक एमालेले जितेको त्यो क्षेत्र कांग्रेसले दाबी गर्नुपर्ने हो । गठबन्धनलाई खुसी बनाउन त्यो क्षेत्र जनमोर्चालाई दिन प्रधानमन्त्री राजी हुनुहुन्छ ।’

सभापति लचक हुँदा त्यसले कांग्रेस तथा तालमेललाई हानि गर्ने नेताहरुको चिन्ता छ । कांग्रेसको सांगठनिक अवस्था र स्थानीय तहको निर्वाचनको मतभारलाई प्रमुख आधार बनाई क्षेत्रको भागवण्डा हुनुपर्ने केन्द्रीय सदस्य डा गोविन्द पोखरेल बताउँछन् ।

गठबन्धनका अन्य दलसँग लत्रिँदा त्यसले कांग्रेसलाई हानि हुने उनको तर्क छ । ‘१०० क्षेत्रलाई कांग्रेसले बटमलाइन बनाउनुपर्दछ । कांग्रेसले आफ्नो शक्ति विर्सिएर तालमेल गर्‍यो भने तालमेलले परिणाम राम्रो दिँदैन ।’ उनले भने, ‘अरु दलको भन्दा कांग्रेसको संगठन बलियो छ । कांग्रेसका उम्मेदवार भएका स्थानमा जिताउन सजिलो पनि छ ।’

कांग्रेसबाट उम्मेदवार बनाएर जित्न सकिने स्थानमा गठबन्धनका अरु दलबाट प्रतिस्पर्धी हुँदा निर्वाचित गराउन कठिन हुने बुझाई कांग्रेसमा छ । मतभार कम रहेका गठबन्धनका अन्य उम्मेदवारलाई कांग्रेसको अत्यधिक मत ट्रान्सफर गराउनु चुनौती हुने नेताहरु बताउँछन् ।

‘९५ मतको शक्ति रहेकालाई ५ थपेर १०० बनाउन सजिलो छ ।’ शेखर पक्षीय नेता देवराज चालिसे भन्छन्,‘५ मतको शक्तिलाई ९५ मत खन्याएर १०० पुर्‍याउन धेरै मुस्किल पर्छ ।’ तालमेलको औचित्य जितका लागि हुनुपर्ने चालिसे दाबी गर्छन् ।

उम्मेदवारको दाबी गर्न हैसियत राख्ने र नतिजा पनि आफ्नो पक्षमा पार्नसक्ने व्यक्तिलाई क्षेत्र निर्धारण गरिनुपर्ने तर्क कांग्रेसमा छ । सक्षम व्यक्ति तालमेलकै कारणले उम्मेदवार बन्न नपाउने अवस्था बने त्यसले पार्टीमा असन्तुष्टि बढाउने केन्द्रीय सदस्य पोखरेल बताउँछन् ।

कांग्रेसमा असन्तुष्टि बढ्यो भने तालमेलको प्रभावकारितामा प्रश्न उठ्ने पोखरेल तर्क गर्छन् । ‘कांग्रेसबाट उम्मेदवार बनाएको भए जित्ने तर अरु दलबाट बनाउँदा हार्‍यो भने तालमेल आत्मघाति भएन?’ उनी प्रश्न गर्छन् ।

पार्टी भित्रको असन्तुष्टिले गठबन्धनको परिणाममा असर पर्ने तथ्य महामन्त्री गगन थापाले सत्ताघटकको कार्यदलमा सुनाएका छन् । कांग्रेसका उम्मेदवार कम हुँदा त्यसको नकरात्मक असर परिणाम पर्ने उनको तर्क छ । तालमेलको मोडालिटी तय गर्न बनेको कार्यदलमा कांग्रेसको लागि १०० क्षेत्रलाई बटमलाईन बनाउनुपर्ने प्रस्ताव राखेको उनले सुनाए ।

तालमेलको मोडालिटी तय गर्न बनेको कार्यदलका संयोजक समेत रहेका नेता कृष्णप्रसाद सिटौला ८८ सिटको लागि दाबी सत्तारुढ कार्यदलमा गरेका छन् । प्रधानमन्त्री देउवा र महामन्त्री थापाको भन्दा भिन्न प्रस्ताव उनको छ ।

कांग्रेसले १०० क्षेत्र पनि पाउन नसक्ने तथा ८० भन्दा माथि हुने सम्भावनालाई ध्यानमा राखि उनले मध्यमार्गी प्रस्ताव अघि सारेका हुन् । ८८ बाट केही क्षेत्र थपघट हुने आशय सहित उनको प्रस्ताव आएको छ ।

माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा विजयी सिट सोही दलको भागमा पार्ने र एमालेले जितेका सिटमा ६०/४० को प्रस्ताव ल्याएको छ । प्रत्यक्षतर्फ विजयी गठबन्धनमा हाल कांग्रेसका २३, माओवादीका ३६, एकीकृत समाजवादीका १३, जसपाका १० र जनमोर्चाका एक गरी ८३ सिट छ।

गठबन्धन बाहिरका दलसँग ८२ सिट छ । माओवादीले ल्याएको प्रस्ताव कांग्रेसले स्विकार्‍यो भने ८२ क्षेत्रको ६० प्रतिशतले गर्दा ७२ सिटमा मात्रै कांग्रेसका उम्मेदवार बन्न पाउँछन् ।

‘माओवादी र एकीकृत समाजवादी हामीलाई ७२/७५ क्षेत्रमै राख्न खोजेका छन् ।’ कांग्रेस शीर्ष तहका एक नेता भन्छन्,‘प्रत्यक्ष र समानुपातिकबाट कसैगरि पनि कांग्रेसको बहुमत नपुगोस् भन्ने उनीहरुको चाहना हो ।’

कार्यदलमा तालमेलमा कुनै मोडालिटी तय हुन नसकेपछि विषय प्रवेश शीर्ष तहमा पुगेको छ । हालसम्म कार्यदलको सातपटक बैठक बसिसकेको छ । सहमतिको विन्दु पहिल्याउन नसकेपछि कार्यदलमा विकल्पको खोजी पनि गरिएको छ ।

गठबन्धनका सबै दलबाट दाबी रहने क्षेत्र र व्यक्तिको नाम संकलन गर्ने विकल्पमा छलफल भएको कार्यदलका एक सदस्यले जानकारी दिए । ‘सबैको दाबी धेरै सिटमा छ ।
दाबी गरेको क्षेत्र नघट्ने हो भने अर्को विकल्पमा छलफल जाऔं भनिएको हो ।’

कार्यदलका एक सदस्य भन्छन्,‘कुन कुन नेतालाई जिताउनुपर्ने र कहाँको दाबी हो भनेर संकलन गर्न थालिएको हो । १६५ क्षेत्र भन्दा बढी नाम आउँछ । यो विधिबाट मिलाउन पनि गाह्रो छ ।’

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?