+
+

पाँच महिनापछि टी-२०आई खेल्दै नेपाल

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ भदौ ९ गते १५:१३

९ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले केन्यासँग पाँच टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेल खेल्दैछ । नेपालका लागि करिब पाँच महिनापछि यो पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल हुनेछ । नेपालले पछिल्लो पटक चैतमा कीर्तिपुरमा भएको नेपाल, पपुवा न्यु गिनी र मलेसिया सम्मिलिति टी-२० शृंखला खेलेको थियो ।

त्यसपछि वैशाखमा जिम्बावे एसँग टी-२० खेर्ल खेले पनि त्यो टी-२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त थिएन । नयाँ प्रशिक्षकको आगमन र लिग टुमा राम्रो प्रदर्शन गर्न नसकेको नेपाल केन्या भ्रमणबाट लय लिने प्रयासमा छ ।

केन्यामा नेपालले पाँच टी-२० आई र तीन एकदिवशीय खेल खेल्नेछ । आगामी नोभेम्बरमा नामिबियामा हुने लिग टु को तयारीका लागि पनि केन्या भ्रमण फलदायी हुने विश्वास छ ।

अर्कोतर्फ केन्या विरुद्ध टी-२० शृंखला खेल्दा नेपालले वरीयता सुधारमा पनि नजर राखेको छ । तर नेपालको वरीयता एक स्थान सुधार हुनलाई पनि केन्यालाई पाँच वटै टी-२० मा हराउनुपर्नेछ ।

पहिलो पटक पाँच खेलको टी-२० शृंखला

नेपालले टी-२० मा यसअघि दुई खेल, तीन खेलको द्विपक्षिय शृंखला र त्रिकोणात्मक शृंखला पनि खेलिसकेको छ । यस्तै चार देश र पाँच देश सम्मिलिति टी२० शृंखला पनि खेलिसकेको छ । तर पहिलो पटक एकै देशसँग नेपालले पाँच खेलको शृंखला खेल्न लागेको यो पहिलो पटक हो ।

पहिलो पटक केन्या भ्रमण गएको नेपालले बिहीबार र शुक्रबार लगातार खेलेनछ । शनिवार विश्राम हुनेछ । त्यसपछि आइतबारदेखि मंगलबारसम्म लगातार तीन खेल हुनेछ ।

नेपाल र केन्या दुवै टिमको टी-२० अन्तर्राष्ट्रिय मान्यता भएपछि पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्न लागेको हो ।

भिसा समस्या

नेपाल क्रिकेट संघ (क्यान) ले केन्या भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको थियो । मुख्य प्रशिक्षक र अफिसियल ५ जना गरी कूल २१ जनाको टोली गत मंगलबार केन्या जाने तयारी थियो । तर पहिलो चरणमा ११ खेलाडीसहित १४ जनाको मात्र भिसा आएपछि उनीहरु सोमबार राती नैरोबी उडे ।

बाँकी ५ खेलाडीसहित ७ जनाको भिसा समयमै नआउँदा उनीहरु भने जान पाएनन् । त्यसपछि फेरि भिसाको प्रयास गरियो । मंगलबार बाँकी ७ जनाको भिसा आउने भनिए पनि सबैको आएन ।

म्यानेजर सुनिल महासेठसहित सोमपाल कामी र विवेक यादवको मंगलबार राती भिसा आयो । सोमपाल र विवेक बुधबार बिहान नैरोबी उडे । बुधबार दिउँसोसम्म सबैको भिसा आयो । त्यसमा म्यानेजर सुनिल र खेलाडी आदिल बुधबार राती केन्या प्रस्थान गरे । बाँकी दुई खेलाडी बसिर अहमद र शाहब आलम अनी ट्रेनर अब्दल सतार भने आज मात्र केन्या प्रस्थान गरेका छन् ।

एकैपटक सबैको भिसा अप्लाई गरेपनि अनलाइनमार्फत भएकोले सबैको भिसा एकैपटक नआउँदा नेपाली टिम चार चरणमा केन्या जानुपरेको हो ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?