+
+

‘प्रकाश’लाई कम शो दिएको भन्दै प्रदीपको आक्रोश : अपमान महसुस भयो

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १० गते १६:१३

काठमाडौं । प्रदर्शनमा विभेद गरिएको भन्दै फिल्म ‘प्रकाश’ टिमले प्रदर्शकप्रति असन्तुष्टि व्यक्त गरेको छ । रिलिजको पहिलो दिन शुक्रबार दिउँसो रिपोर्टस् क्लबमा पत्रकार सम्मेलन गर्दै निर्माता र अभिनेता हलप्रति आक्रोशित देखिए ।

अभिनेता प्रदीप खड्काले हिन्दीको तुलनामा नेपाली फिल्मलाई कम शो दिएर प्रदर्शकले विभेद गरिएको आरोप लगाए । ‘हामीलाई अपमान महसुस भएको छ,’ उनले भने, ‘हाम्रो फिल्मलाई फ्लप बनाउन खोजियो ।’

बिहीबार रिलिज भएको भारतीय फिल्म लाइगरभन्दा नेपाली फिल्म प्रकाशलाई निकै न्यून शो दिइएको र शोको उचित बाँडफाँट नभएको भन्दै उनी क्रुद्ध सुनिए ।

उनले भने, ‘प्रदर्शकसँग मेरो चित्त दुखाइ र गुनासो केही होइन । कन्फयुजन चाहिं हो । मलाई अचम्म लाग्यो, यो खालको अपमान किन हो ? व्यक्तिगत रुपमा त मेरो कसैसँग रिसइबी छ जस्तो लागेको छैन मलाई । नियतमा खोट देखेको छु मैले । हामीलाई अपमान महसुस भयो ।’

अपमान महसुस भएकैले निर्देशक दिनेश राउत पनि पत्रकार सम्मेलनमा नआएको प्रदीपले बताए । ‘मेरो आवेग होइन, कन्फ्युजन हो फिल्मवाला र प्रदर्शकप्रति,’ उनले भने ।

नेपाली फिल्मलाई संरक्षण गर्नेतर्फ सहयोग नभएको गुनासो उनले गरे । ‘नेपालमा सरकारी कोटा किन छ त ? जो दयनीय अवस्थामा छ र जो अझै पीडित देखिन्छ । उसलाई सपोर्ट होस् भनेर राख्या हो नि त । त्यो सपोर्ट नेपाली फिल्म उद्योगभित्र किन छैन त ?’

कन्नड फिल्म केजीएफ २ प्रति लक्षित गर्दै उनले भने, ‘नेपाली फिल्म पीडित छ भन्ने त सबैले मान्नुहुन्छ होला । त्यहाँ किन आरक्षण कुराहरु छैन होला त ? मेरो भनाइ के हो भने राति १ बजे हाउसफुल हुने फिल्म लाग्दा पनि त ३० शो पाएकै हो ।’

बिहीबार रिलिज भएको भारतीय फिल्म ‘लाइगर’तर्फ लक्षित गर्दै उनले अगाडि भने, ‘हाम्रो फिल्मसँग जुन लाग्दैछ, त्यो फिल्म त रातिको १ बजे त के फ्री शो लगाउँदा पनि मान्छेहरु आउँदैनन् जस्तो लागेको छ मलाई । त्यस्तो रिभ्यु आएको छ । त्यसको बाबजुद पनि हामीलाई दिएको छ कस्तो शो ?’

आफूले निजी स्वार्थभन्दा सामूहिक फाइदाका लागि आवाज उठाएको उनले बताए । ‘कलाकार मात्र भएको भए म मज्जाले सुत्नुपर्ने थियो । तर दुई रात भयो, म तीन घण्टाभन्दा बढी सुतेको छैन । मलाई एक्स्ट्रा एक रुपैयाँ पनि आउनेवाला छैन फिल्मबाट । प्रेमगीत ३ ले कसैले नराखेको रेकर्ड राख्छ भन्ने कुरामा म ढुक्क छु । तर त्यसको बाबजुद पनि किन चिन्तित छु भने यस्तो प्रवृत्तिले धेरैलाई फरक पार्छ,’ उनले भने ।

प्रदीपले नेपाली फिल्मले शो नै नपाउने हो भने चोकचोकमा प्रोजेक्टर राखेर फिल्म देखाउनुपर्ने अवस्था आउने बताए ।

पत्रकार सम्मेलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपाली फिल्मलाई विभेद गरिए हल सञ्चालकलाई कालोमोसो समेत दल्नुपर्ने अवस्था आउने चेतावनी दिए ।

विदेशी फिल्मलाई बढी शो र नेपाली फिल्मलाई कम शो दिएको आरोप नयाँ होइन । यो आरोपबारे प्रदर्शकले भने उपलब्ध गराइएका शो नै भरिएपछि मात्र थप शो उपलब्ध गराउन सकिने तर्क राख्दै आएका छन् ।

पत्रकार सम्मेलनपछि क्यूएफएक्सले ‘प्रकाश’को शोमा वृद्धि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?