+
+

कुलचन्द्र गौतमको आत्मकथा सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १२ गते १२:१४

१२ भदौ, काठमाडौं । संयुक्त राष्ट्रसंघका पूर्वसहायक महासचिव कुलचन्द्र गौतमको आत्मकथा सार्वजनिक भएको छ ।

राष्ट्र संघमा रहँदा विश्वले चिनेका ठूला नेतादेखि राष्ट्र एवं सरकार प्रमुखहरूसँगका वार्तालगायतका दुर्लभ अनुभवहरू समेटिएको ‘कुलचन्द्र गौतमः आत्मकथा’ लाई पब्लिकेशन नेपालयले तयार पारेको हो ।

विश्व इतिहासलाई प्रभावित पारेका महत्वपूर्ण घटनामा गौतमका भोगाइ र संघर्ष समावेश पुस्तक अहिलेको पुस्ताका निम्ति रोचक कथा प्रतीत हुने पब्लिकेशन नेपालयले जनाएको छ ।

एसएलसीलगत्तै अमेरिकी विश्वविद्यालयको छात्रवृत्ति पाएका गौतमलाई पढ्न जानका निम्ति तत्कालीन सरकारले पासपोर्ट दिन मानेन । यो मामला उतिबेला शिक्षा मन्त्रालयको एउटा टेबलबाट माथि उठेर मन्त्रिपरिषद् हुँदै स्वयं तत्कालीन राजा महेन्द्रसम्म पुगेको रोचक जानकारी पुस्तकमा समावेश छ ।

यसरी गौतमले मुलुकभित्रैबाट थालेको संघर्षबाट सुरु भएको यात्रा कालान्तरमा अमेरिकी विश्वविद्यालयहरू हुँदै संयुक्त राष्ट्रसंघको सहायक महासचिव एवं युनिसेफका उप–कार्यकारी निर्देशकसम्म पुगेको छ।

यसअघि पनि पब्लिकेशन नेपालयबाटै अंग्रेजीमा गौतमको जीवनी प्रकाशन भइसकेको छ । ‘कुलचन्द्र गौतमः आत्मकथा’ भने लेखक गिरीश गिरीसँगको सहकार्यमा तयार पारिएको पब्लिकेशन नेपालयले जनाएको छ ।

गौतमले युनिसेफको जागिर सुरुगर्दा पहिलो जिम्मेवारी नै कम्बोडियाको राजधानी नोम्पेन्हबाट थालेका थिए । त्यतिबेला ‘पूर्वको प्यारिस’ भनिने नोम्पेन्हमा एकातिर भर्खर विहेगरेर श्रीमतीसहित पुगेका तन्नेरी गौतमको रोमान्स चलिरहेको हुन्छ भने अर्कोतिर मेकोङ नदीको पारिबाट लगातार विद्रोही खमेररुजले गरिरहेका बम प्रहार ।

यस्तै अवस्थाका बीच गौतमले काम गर्दागर्दै एकदिन नोमपेन्हको पतन हुन्छ । राजधानी विद्रोहीको कब्जामा परेपछि भएभरका विदेशीहरुको भागाभाग चल्छ । गौतम पनि ज्यान जोगाएर भाग्छन् । त्यसपछि पनि लगातार गौतमले एकपछि अर्को संकटग्रस्त मुलुकहरुमा जिम्मेवारी सम्हाल्दै जान्छन् ।

लामो कालखण्डसम्म हामीले सुन्दै आएको संसारकै महत्वपूर्ण घटना र तिनका पात्रबारे हाम्रै नेपालीले गरेको प्रत्यक्षदर्शी वर्णनको रुपमा पनि यो पुस्तक अघि बढेको छ । नेल्शन मण्डेलाजस्ता बितेको शताब्दीकै गिनेचुनेका नायकहरुसँगको व्यक्तिगत अनुभवहरु पुस्तकमा समेटिएका छन् ।

‘मेरो जीवनकथा अब नेपाली पाठकहरु माझ पनि आउँदै गर्दा असाध्यै खुशी छु’ गौतम भन्छन्, ‘मैले पाएका अवसरहरू, सामना गरेका चूनौती र चालेका पाइलाहरू भावी पुस्ताका नेपालीहरुको निम्ति उपयोगी हुने विश्वास छ ।’

४७२ पृष्ठ लामो पुस्तकको मूल्य नेपाली बजारका लागि ७५० रुपैयाँ राखिएको छ साथै पुस्तक देशका सबै प्रमुख पुस्तक पसलहरूमा उपलब्ध रहने पब्लिकेशन नेपालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?