+
+

आत्मविश्वास बढाउन नेपाली खेलाडीलाई चाहिएको छ मनोपरामर्श

नमिता दाहाल नमिता दाहाल
२०७९ भदौ १२ गते १७:४९
च्याम्पियन एकेडेमीमा खेल प्रशिक्षण गर्दै खेलाडी । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

१२ भदौ, काठमाडौं । २०५५ सालमा नेपालकी तेक्वान्दो स्टार संगीना वैद्य करिअरको उत्कर्षमा थिइन् । एसियाली वरीयतामा नम्बर एक स्थानमा रहेकी संगीना नेपालका लागि एसियाडको ऐतिहासिक स्वर्ण दावेदार थिइन् ।

तर एसियाली खेलकुदको तयारीमा रहेकी उनी मोटरसाइकल दुर्घटनामा परेर घाइते भइन् । दुर्घटनामा भाँच्चिएको खुट्टा त शल्यक्रियापछि विस्तारै ठीक भयो । तर मनमा लागेको चोट र निराशालाई शान्त पार्ने औषधि त्यतिबेला नेपाली खेलकुदको कल्पनाभन्दा बाहिर थियो । घरमा दिदीहरुले खेलमा फर्कन सक्छौं भनेर हौसला दिइरहन्थे, तर उनी आफैंमा भने विश्वास थिएन ।

‘आफूले खेल्नुपर्ने प्रतियोगिता टेलिभिजनमा हेरेर बस्नुपर्दा रुन मात्र मन लाग्थ्यो,’ घरका दिदीबहिनी र बीएण्डबी अस्पतालका चिकित्सक बाबुकाजी श्रेष्ठको हौसला सम्झँदै उनी भन्छिन्, ‘पारिवार र उपचारमा संग्लग्न डाक्टरको साथ नभएको भए म फेरि तेक्वान्दोमा फर्किन सक्दिनथें ।’

अब खेल्न सक्दिन भन्ने निष्कर्षमा पुगेकी उनी डाक्टरको मनोपरामर्श र परिवारको दृढ साथले पुनः उदाइन् । आठौं र नवौं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितिन् । छनोट चरण पार गरी ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडीको इतिहास बनाइन् ।

अहिले उनलाई त्यो बेला व्यावसायिक मनोपरामर्शविद्को सल्लाह भएको भए अझ छिटो खेलमा फर्किन सक्थें कि भन्ने लाग्छ । राष्ट्रिय खेलकुद विभागको तालिम तथा प्रशिक्षण विभागमा उपनिर्देशक रहेकी संगीना भन्छिन्, ‘अहिलेको जस्तो अवस्था थिएन । मनोपरामर्शविदको सल्लाह सुझाव पाएको भए अझ छिटो खेलमा फर्किन सक्थें होला ।’

संगीनाले भोगेको जस्तो मानसिक तनावबाट अरु पनि नेपाली खेलाडीहरु गुज्रिएका छन् । चोट बाहेक अन्य कारणले खेललाई केन्द्रित गर्न नसक्नेहरुका लागि पनि मनोसामाजिक र मनोवैज्ञानिक परामर्श चाहिन्छ । किनकी सामाजिक पृष्ठभूमि, आर्थिक अभाव, पारिवारिक तनाव र असफलताका बीच एउटा खेलाडीलाई आफ्नो खेलप्रति अर्जुनदृष्टि बनाइराख्न कठिन हुन्छ ।

संगीना वैद्य ।

‘पहिला हामी कुनै पनि देशको खेलाडीलाई आफ्नो मानसिकतामा हाबी हुन दिंदैनथ्यौं । हामी कोहीभन्दा कमजोर छैनौं भन्ने भावना आउँथ्यो,’ संगीना भन्छिन्, ‘अहिलेका खेलाडीमा पर्याप्त प्राविधिक ज्ञान छ । कमजोर पक्ष भनेको आत्मविश्वास नै हो ।’ घरेलु खेलकुदमा शानदार प्रदर्शन गर्ने खेलाडीहरु पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा कमजोर देखिनुको कारण मनोविज्ञानसँग जोडिएको उनको बुझाइ छ ।

टेवल टेनिसकी पूर्व राष्ट्रिय खेलाडी रीतामैया प्रजापतिको निष्कर्ष पनि यो भन्दा फरक छैन । ‘मनौवैज्ञानिक परामर्शको अभाव र कमजोर मानसिकताका कारण हामी अधिकांश अन्तर्राष्ट्रिय स्पर्धामा हारिरहेका छौं,’ राखेपमा खेल विज्ञका रुपमा कार्यरत रीताको निष्कर्ष छ, ‘हरेक पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन जाँदा नेपालबाट पनि सबभन्दा उत्कृष्ट खेलाडी छानेर लाने गरिन्छ, तर मैदानमा खेल्न सक्दैननन् । त्यहाँको वातावरण, समाज र माहोलमा आफू निकै कमजोर महशुस गर्नाले नै हामी प्रदर्शनमा चुक्छौं ।’

पछिल्लो समय ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताअघि मनोवैज्ञानिक परामर्श कक्षा सञ्चालन गर्न थालिएको छ । १३औं सागअघि पनि राखेपले खेलाडीका लागि यस्तै कक्षा सञ्चालन गरिएको थियो । संगीनाले भनिन्, ‘अहिले परामर्श कक्षा राख्छौं । अहिले सबैलाई मनोवैज्ञानिक प्रशिक्षण दिनुपर्छ भन्छौं ।’

ग्रासरुटदेखि खेलाडीलाई शारीरिकसँगै मानसिक रुपमा बलियो बनाउनुपर्ने भएकाले सरकारी प्रयास पर्याप्त नभएको रीता बताउँछिन् । राष्ट्रिय तहका मात्र खेलाडीलाई परामर्श दिनु पर्याप्त होइन । कतिपय समस्यामा महिला र पुरुषको भोगाई फरक हुनसक्छ,’ उनले अनलाइनखबरसँग भनिन्, ‘व्यक्तिगत समस्या हुनसक्छ । त्यस्तो बेलामा व्याक्तिगत रुपमा पनि परामर्श दिनपर्ने सक्छ । ’

नियमित प्रतियोगिता नहुनु, आर्थिक अभाव र बेरोजगारीबाट सिर्जित मानसिक तनावले भारोत्तोलनकी राष्ट्रिय च्याम्पियन सञ्जु चौधरीलाई आत्महत्याको गलत निर्णयमा पुर्‍याएको अनुमान खेलवृत्तमा सुनिएको थियो ।

रीताका अनुसार महिला खेलाडीले २० वर्ष पश्चात खेल करिअर छोड्ने गरेको एउटा अन्तर्राष्ट्रिय अनुसन्धानले देखाएको छ । खेललाई निरन्तरता दिन परामर्श पुगेको छैन । राखेपसँग पनि मनोवैज्ञानिक समस्यामा परेका खेलाडीहरुको पहिचान गर्ने र उनीहरुलाई आवश्यक परामर्श दिने ठोस कार्यक्रम छैन ।

सन् २०१४ मा डेब्यू गरेकी महिला भलिबल टिमकी मुख्य स्पाइकर प्रतिभा मालीले राष्ट्रिय टोलीमा पाएको मनोवैज्ञानिक परामर्श भनेको १३औं सागका बेला राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा सबै खेलाडीलाई एकै ठाउँमा राखेर दिइएको भाषण । ‘त्यो एक कक्षा थियो, जसमा सबै खेलाडीलाई एकै ठाउँमा बोलाएर मनोवैज्ञानिक परामर्श भनिएको थियो,’ प्रतिभाले अनलाइनखबरसँग भनिन् ।

प्रतिभा माली ।

नेपाली खेलाडीमा आर्थिक अभावले पनि मानसिक स्वास्थ्यमा समस्या आउने गरेको भन्दै उनले अघि भनिन्, ‘खेलाडीलाई टिममा पर्दिन, रिदम घट्छ भन्ने हुन्छ । चोट र त्यसखालको प्रेसर लिएर सकिनसकी खेल्दा झन समस्या हुन्छ ।’

मानसिक रुपमा स्वस्थ्य भएमा मात्र खेलाडीले लक्ष्य पूरा गर्न सक्ने प्रतिभा बताउँछिन् । ‘मनोवैज्ञानिक परामर्शदाता नै चाहिन्छ, कक्षा नै लिनुपर्छ भन्ने छैन । परिवार, साथीहरु, प्रशिक्षक तथा म्यानेजर पनि हुनसक्छन्,’ उनले भनिन्, ‘खेलाडीहरुलाई मानसिक रुपमा आत्मविश्वास बढाउने मान्छेको निकै ठूलो महत्व हुन्छ ।’

२०७६ माघमा क्लब च्याम्पियनसिपका क्रममा चोटग्रस्त बनेपछि स्वयंम प्रतिभाको करिअर नै संकटको स्थितिमा थियो । भन्छिन्, ‘अब त खेल्नै सक्दिन होला भन्ने पनि भयो, त्यो बेलामा अत्तालिने/उकुसमुकुस हुने हुन्थ्यो ।’ परिवारका सदस्य, साथीभाइ, भलिबल संघ, प्रशिक्षकको राम्रो साथ पाएर खेलमा फर्किएकी उनी नेपालले अन्तर्राष्ट्रिय खेलकुदहरुमा राम्रो नतिजा ल्याउन नसक्नुको कारण पनि कतै न कतै मनोवैज्ञानिक कुराले पनि असर पार्ने बताउँछिन् । ‘अन्य खेलाडीको प्रदर्शन देखेपछि आफू निकै तल रहेको अनुभव भएर नै हामी आफूलाई कमजोर ठान्न थाल्छौैं अनि प्रदर्शन बिग्रिन्छ,’ उनले थपिन् ।

राखेपका मनोपरामर्शविद् रमेश खनाल आफैंले आएका खेलाडीलाई मात्र उपचार र परामर्श सेवा प्रदान गर्ने गरिएको बताउँछन् । उनको अनुभवमा पनि खेलाडीहरु क्षमताका कारण नभई मनोवैज्ञानिक समस्याले असफल हुने गरेका छन् । १३औं सागमा नेपाली खेलाडीको प्रदर्शनको दृष्टान्त दिँदै खनालले भने, ‘नेपाली खेलाडीमा क्षमता हुँदा हुँदै विभिन्न किसिमका ‘एन्जाइटी’ले सताउने गर्छ ।’

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?