+
+

अनेरास्ववियुले तोड्यो त्रिविको ताला, नेविसंघले फेरि लगायो

सम्झना विक सम्झना विक
२०७९ भदौ १२ गते १८:०३
तालाबन्दी खोलेर विश्वविद्यालय सफाइ अभियान गर्दै अखिल । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

१२ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा ४९ दिनदेखि लागेको तालाबन्दी खोल्ने वित्तिकै नेपाल विद्यार्थी संघले फेरि ताला लगाएको छ ।

आइतबार विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले पत्रकार सम्मेलन गर्न खोज्दा नेपाल विद्यार्थी संघको एक समूहले अवरोध गरेको थियो । त्यसको काउन्टरमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले नारावाजी गर्‍यो ।

प्रहरी सुरक्षाका बीच बाँस्कोटाले पत्रकार सम्मेलन गरे, त्यसपछि विभिन्न कार्यालयमा लगाइएको तालाबन्दी पनि खुलेको थियो । त्रिवि अनेरास्ववियुका अध्यक्ष शम्भु भट्टका अनुसार सुरक्षाकर्मी र स्थानीयको रोहबरमा तालाबन्दी खोलिएको थियो ।

तर नेविसंघले आफूहरुको सहमतिबिना ताला खोलिएको भन्दै फेरि तालाबन्दी गरेको छ । नेविसंघका नेता श्याम ओझाले आफूहरुको मञ्जुरीविना तालाबन्दी खोल्नु अनेरास्ववियु र त्रिवि प्रशासनको ठूलो भुल भएको बताए । ‘यसविरुद्ध कडा कदम चाल्छौं’ उनले भने ।

परीक्षाको प्रश्न पत्रमा लापरबाही गरेको भन्दै नेविसंघले २७ असारदेखि त्रिविका विभिन्न कार्यालयमा तालाबन्दी गरेको थियो । उपकुलपति धर्मकान्त बाँस्कोटाले पत्रकार सम्मेलनमा विश्वविद्यालयमा बसेर काम गर्ने वातावरण नरहेको बताए ।

‘विभिन्न समूहले गरेको तालाबन्दी जोड्दा विश्वविद्यालयमा ३ सय दिनभन्दा बढी तालाबन्दी भइसक्यो’ उनले भने, ‘विश्वविद्यालयमा विभिन्न समूहबाट चन्दा, आर्थिक सहयोगको नाममा रकम मागेर हैरान बनाएको गुनासो प्राप्त भइरहेको छ, विभिन्न निकायमा शिक्षक, कर्मचारी कुटिएका छन् ।’

यस्तो अवस्थामा शिक्षक कर्मचारीमा एक किसिमको त्रास रहेको बताउँदै बाँस्कोटाले काम गर्ने वातावरण नभएको जनाएका हुन् । ‘यस्तो परिस्थितिमा स्वत: विश्वविद्यालयले सम्पादन गर्नुपर्ने कार्यहरु समयमा नसकी विद्यार्थीमा नकारात्मक प्रभाव परेको छ’ बाँस्कोटाले भने, ‘जसले विद्यार्थीहरु विदेशिने क्रम बढिरहेको छ ।’

बाँस्कोटाले विश्वविद्यालयमा नेविसंघको एउटा समूह निरन्तर तालबन्दी, धम्की र तोडफोडमा संलग्न रहेका बताए । नेविसंघका कार्यकर्ताहरुले शुक्रबार जमलस्थित एक होटलमा बसेको त्रिवि कार्यकारी परिषद्को बैठकमा पनि जबरजस्ती प्रवेश गरेर कागजातहरु खोसेर लगेका थिए । बेलुकी साढे ४ बजे नेविसंघमा आबद्ध विद्यार्थी हौं भन्दै गएका उनीहरुले उपस्थित पदाधिकारीलाई दुर्व्यवहार गरेको विश्वविद्यालयले जनाएको छ ।

लेखकको बारेमा
सम्झना विक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?