+
+

उच्च अदालतका न्यायाधीश थपलियामाथि छानबिन समिति

आचरण, सम्पत्ति र योग्यतामाथि उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १२ गते २०:२६
न्यायाधीश नवराज थपलिया

१२ भदौ, काठमाडौं । न्याय परिषदले उच्च अदालतका न्यायाधीश नवराज थपलियामाथि छानबिन थालेको छ । पदीय हैसियतको दुरुपयोग गरेको, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासमा मुद्दा मिलाउने र मोलाहिजाको काम गरेको आरोपमा उजुरी परेपछि छानबिन थालेको हो ।

नेपाल बार एशोसिएसनले आइतबार संघीय संसदको महाभियोग सिफारिस समितिमा बुझाएको ‘महाअभियोग पुष्टि हुने प्रमाण’को बुदा नम्बर ८ मा यो विषय उल्लेख छ । नेपाल ल क्याम्पसका पूर्वसभापति समेत रहेका थपलियालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको जोडबलमा उच्च अदालतको न्यायाधीश बनाइएको थियो ।

बारले समितिमा बुझाएको पत्रमा भनिएको छ, ‘सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकमार शर्मा र उच्च अदालत जुम्लाका न्यायाधीश नवराज थपलियाबीच प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाट मुद्दामा फैसला गराउने सम्बन्धमा पटक–पटक भए गरिएका सम्वाद मार्फत अनियमितता गरिएको भन्दै सर्वोच्च अदालतका माननीय न्यायाधीश श्री तीलप्रसाद श्रेष्ठद्वारा छानबिन भइरहेकोले ती सम्पूर्ण कल डिटेल र सम्वादमा संलग्न माननीय न्यायाधीशहरुलाई बुझी प्रमाणमा लगाई पाउन अनुरोध गरिन्छ ।’

नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले सर्वोच्च अदालतमा छानबिनका लागि समिति गठन भएको र त्यसबारे आफूहरुले जानकारी पाएपछि संसदलाई बुझाउने ज्ञापनपत्रमा उल्लेख गरेको बताए । ‘हामीले समिति गठन भएको थाहा पायौं, त्यसको पुष्टि पनि भयो’, उनले भने, ‘त्यसैले ज्ञापनपत्रमा त्यो कुरा उल्लेख गरेर संसदीय समितिलाई पठाएका छौं । संसदले अदालतमा भएको छानबिनको विषयलाई समेत हेर्नुपर्छ । छानबिनका कागजात महत्वपूर्ण प्रमाण हुन् ।’

नेपाल बारले सर्वोच्चका न्यायाधीश शर्मा र उच्च अदालतका न्यायाधीश थपलिया दुबैको नाम उल्लेख गरे पनि सर्वोच्च अदालत र न्याय परिषदसम्वद्ध स्रोतले भने थपलियामाथि मात्र छानबिन भइरहेको पुष्टि गरेको छ ।

सर्वोच्च अदालतका एक न्यायाधीशका अनुसार, न्यायाधीश श्रेष्ठको समितिले उच्च अदालतका न्यायाधीश थपलियामाथि छानबिन गर्ने कार्यादेश पाएको छ । तर सर्वोच्चका कुनैपनि न्यायाधीशमाथि छानबिन भने नभएको उनले दावी गरे ।

सर्वोच्च अदालत उच्च स्रोतका अनुसार, थपलियामाथि कतिपय मुद्दाको मोलाहिजा गरेको आरोप छ । साथै प्रधानन्यायाधीश जबरालाई मुद्दाका पक्षसँग भेटाएको र विचौलियाको भूमिका खेलेको भन्दै परेको उजुरीमाथि छानबिन भइरहेको छ । नेपाल बारले महाअभियोग सिफारिस समितिमा बुझाएको पत्रको बुँदा नं. ७ मा उल्लेखित मुद्दामा पनि न्यायाधीश थपलियाकै भूमिका रहेको सर्वोच्च अदालत स्रोतको दावी छ ।

‘अधिवक्ता कैलाश पाण्डेले रिट निवेदन दिनुभएको थियो । कैलाशजी उहाँ (नवराज थपलिया) को पहिलेको ल फर्मको पार्टनर हुनुहुन्थ्यो’ सर्वोच्च अदालत उच्च स्रोतले भन्यो, ‘लेवनानको भेन्राईज सोलुसन्स भन्ने कम्पनीको मुद्दाको फाइल बोक्दै न्यायाधीश थपलिया कतिपय कानून व्यवसायीहरुको ल फर्ममा पुग्नुभएको विस्तृत विवरण छ ।’

नेपाल बारले महाअभियोग सिफारिस समितिमा बुझाएको पत्रको बुँदा नम्बर ७ मा भेनराइज सलुसन नामको कम्पनीले दूरसञ्चार प्राधिकरणविरुद्ध दायर गरेको रिटको फैसलालाई उल्लेख गरिएको छ । नेपाल बार स्रोतका अनुसार भेनराइजले प्रधानन्यायाधीश जबरा र केही विचौलियालाई प्रभावित पारेर दूरसञ्चार सफ्टवेयर र उपकरणसम्बन्धी करिब डेढ अर्ब रुपैयाँको ठेक्का हात पारेको थियो ।

सर्वोच्चसम्वद्ध स्रोतका अनुसार, थपलियामाथि निकै गोप्य रुपमा अनुसन्धान र छानबिन भइरहेकोमा बारले ज्ञापनपत्रमार्फत त्यसको खुलासा गरेको हो । थपलियामाथि अस्वाभाविक सम्पत्ति आर्जनदेखि नियुक्तिको बेलामा न्यूनतम योग्यता नपुगेको भन्दै अरु उजुरी समेत परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?