+
+

के सोच्दैछन्, के गर्दैछन् हिजोआज गोपाल किराती ?

दिपेश शाही दिपेश शाही
२०७९ भदौ १३ गते १०:५६

१३ भदौ, काठमाडौं । दशवर्षे माओवादी युद्धमा सहभागी धेरै नेता कार्यकर्ताले प्रयोग गरिरहने एउटा शब्दावली छ- ‘नाफाको जिन्दगी’ । अघिल्लो हप्ता माओवादी नेता गोपाल किरातीले यसलाई एउटा फरक सन्दर्भमा दोहोर्‍याए ।

सर्वोच्च अदालतले उनको पार्टीको नाम खोसेर पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएपछि असन्तुष्ट किरातीले नाफाको जिन्दगीमा घाटा नै नभइहाले पनि अन्याय भएको आशय व्यक्त गरे । ‘जसले पार्टी विघटन गरेर हिंडयो, अदालतले उसैलाई यो तेरै हो भनेर दियो । त्यसले हामी नाफाको जिन्दगी बाँचेकाहरूका लागि घाटा नै भयो भन्ने त होइन तर, अन्याय भयो’, किरातीले भने ।

नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएसँगै विभाजनको यस्तो चपेटामा पर्‍यो कि नयाँ खुल्ने हरेक पार्टीले राख्ने नाम नै चर्चाको विषय भयो । केही समय अघिसम्म पनि ‘नेकपा (माओवादी)’ कै अगाडि-पछाडि केही विशेषणयुक्त शब्द र तानाबाना थपेर नयाँ नाम राख्दै पार्टी खोल्नेको लहर चल्यो । विचार र सिद्धान्तमा जे जसो भए पनि उद्देश्य एउटै हुन्थ्यो, नाममा नेकपा माओवादी कतै छुट्नु भएन ।

जस्तो कि नारायणकाजी श्रेष्ठ नेतृत्वको एकता केन्द्रसँग एकता भएर मूल पार्टीले नाम नेकपा (एकीकृत माओवादी) राखेपछि पार्टी विभाजन गरेका मातृका यादवले नेकपा (माओवादी) राखे ।

उनी पछि गएर प्रचण्डकै पार्टीमा मिसिए । त्यसपछि मोहन वैद्य ‘किरण’ले नेकपा-माओवादी राखे । अहिले उनको पार्टीको नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी (माओवादी) छ ।

किरणबाट फुटेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा -माओवादी) गठन गरे, जसको नाम अहिले नेपाल कम्युनिस्ट पार्टी मात्रै छ ।

अब समय बदलिएको छ । माओवादी युद्धको नेतृत्व गरेका प्रचण्डलाई नै माओवादीसँग उतिविधि मोह रहेन । उनले अघिल्लो पटकको आम निर्वाचनमा ठूलो कम्युनिस्ट पार्टी बनाएर देश चलाउने लालसा देखाएर माओवादी नाम त्यागे । पूर्व घोषणा अनुसार नेकपा (एमाले)सँग पार्टी एकीकरण गराएपछि प्रचण्डको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भयो ।

गोपाल किरातीलाई प्रचण्डको निर्णय चित्त बुझेन । उनले ‘प्रचण्ड एमालेमा विलय भएको’ भन्दै तत्कालीन माओवादी केन्द्रलाई नै पुनर्गठनको घोषणा गरे । उनले नेकपा (माओवादी केन्द्र)लाई निर्वाचन आयोगमा आफ्नै नाममा दर्ता गरे ।

२०७४ सालमा ऋषि कट्टेलले नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा आफ्नो नाममा दर्ता भएको भन्दै दायर गरेको रिटमाथि २०७७ फागुनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले एमालेसँग प्रचण्डले गरेको पार्टी एकतालाई खारेज गरिदियो । परिणामतः कट्टेलले आफ्नो पार्टीको नाम फिर्ता पाए । किरातीले जोगाएको माओवादी केन्द्र नामको पार्टीलाई भने उनकै शब्दमा ‘सर्वोच्चले पुनः प्रचण्डलाई नै भिराइदियो’ ।

माओवादीसँग मोह भंग भइसकेका प्रचण्डले त्यसपछि पनि बेलाबेलामा पार्टीका औपचारिक-अनौपचारिक मञ्चहरूमा पार्टीको नाम परिवर्तन गर्ने बारे कुरा उठाइरहन्छन् । त्यसैले, किराती प्रचण्डलाई ‘अदालतले बनाइदिएका माओवादी’ भनेर व्यंग्य गर्छन् ।

अदालतको फैसलापछि किरातीले पार्टीको नयाँ नाम रोजे माओवादी, कम्युनिस्ट पार्टी नेपाल । उनले माओवादी छाड्न सकेका छैनन् र छाड्ने मनसाय पनि देखिंदैन । यो पार्टीमा किराती आफैं कार्यकारी भूमिकामा छैनन्, संरक्षकको जिम्मेवारी लिएर बसेका छन् । पार्टी महासचिवको जिम्मेवारीमा रामनारायण पाल छन् भने ५४ जनाको केन्द्रीय समिति छ ।

किरातीलाई पार्टीको नाममा भन्दा सिद्धान्त विकासमा खास चासो छ । अध्ययन र लेखनमा रुचि भएका उनले पछिल्लो समय नयाँ दस्तावेज सार्वजनिक गरेर छलफल चलाइरहेका छन् ।

किरातीले  प्रचण्ड-बाबुरामले एउटै चिहृन लिएर चुनाव लड्ने घोषणालाई विदेशी-प्रजातान्त्रिक समाजवादको नेपाली मतियार र भ्रष्टहरूको मोर्चा भएको आरोप लगाएका छन्

‘ब्रहृमाण्डीय विचारधारा’ शीर्षकमा प्रकाशित एउटा दस्तावेजलाई उनले नयाँ कम्युनिस्ट अन्तर्राष्ट्रियको प्रस्तावित आधार-पत्र भनेका छन् । यो आधार-पत्रमा उनले माक्र्स, लेनिन र माओदेखि वैज्ञानिक अल्बर्ट आइन्स्टाइन तथा स्टिफन हकिङसम्मले प्रतिपादन गरेका सिद्धान्तमाथि विमर्श गरेका छन् ।

प्रचण्ड-बाबुराम दलाल पूँजीवादी, वैद्य-विप्लव विसर्जनवादी

अदालतले पार्टीको नाम खोसेर अन्याय गर्‍यो भन्ने लागे पनि गोपाल किरातीमा पुराना माओवादी धारका सबै शक्तिसँग सहकार्य गर्ने चाहना छ । त्यसका लागि उनले सबै धारसँग प्रयास नगरेका होइनन्, तर अहिलेसम्म कसैसँग पनि कुरा मिलेको छैन ।

नाम खोस्ने अदालतको फैसलापछि उनले प्रचण्डलाई पनि भेटेका थिए । आफूले पार्टी एकताका लागि दुई शर्त राखेको र प्रचण्ड सहमत नभएको उनले बताए ।

उनले प्रचण्डसँग सर्वहारा सांस्कृतिक क्रान्तिको सामूहिक प्रतिबद्धता र समाजवादको स्पष्ट कार्यक्रम हुनुपर्ने दुई प्रस्ताव राखेका थिए ।

भेटको केही दिनपछि कृष्णबहादुर महराले फोन गरेर ‘पार्टी एकतामा कठिनाइ भयो, अहिलेलाई मोर्चा मात्रै गर्ने’ खबर सुनाए ।

माओवादी केन्द्र पुनर्गठन गरेसँगै किरातीले संसद बाहिरका पार्टीहरूसँग एकता र सहकार्यको प्रयास गरेका थिए, तर अहिलेसम्म त्यो पनि सम्भव भएको छैन । बरु उनकै पार्टीबाट कर्णजित बुढाथोकी लगायतको समूह केही समयअघि बाहिरियो । छुट्टै पार्टी गठन गरेको यो समूह विप्लव नेतृत्वको नेकपासँग एकताका लागि प्रयासरत छ ।

विप्लव नेतृत्वको नेकपामाथि केपी ओली नेतृत्वको सरकारले लगाएको प्रतिबन्ध हटाउने माग राखेर किरातीलगायत संसद बाहिरका आधा दर्जनभन्दा बढी कम्युनिस्ट पार्टीहरूले मोर्चा बनाएरै आन्दोलन गरेका थिए ।

विप्लवहरू खुला राजनीतिमा आएपछि सबैका बीचमा एकता गरेर बृहत् कम्युनिस्ट पार्टी बनाउने तयारी उनीहरूका बीचमा थियो । तर, अहिले विप्लवको गतिविधि देखेर किरातीलाई चित्त बुझेको छैन ।

‘विप्लवलाई हामीले बाघ बनाएर सडकमा उभ्याउने सोचेका थियौं, तर मुसो बनेर आउनुभयो’, किराती भन्छन् ।

उनले विप्लवसँग कुरा नमिलेपछि आफूसँगै छुट्टएिका धर्मेन्द्र वास्तोला र हेमन्तप्रकाश वलीसँग छलफल गरेका थिए । वास्तोला र वलीमा पनि उनले शास्त्रीय मार्क्सवादको समस्या देखे । अहिले वास्तोला नेतृत्वको नेकपा (बहुमत) र वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीबीच एकता गर्ने सैद्धान्तिक सहमति भएर संगठनात्मक-राजनीतिक कार्यक्रमबारे छलफल चलिरहेको छ ।

किरातीका नजरमा भने वैद्य र विप्लव दुवै वाम विसर्जनवादको बाटोमा छन् । वैद्यले अख्तियार गरेको जनविद्रोहमार्फत सम्पन्न गर्ने भनिएको जनवादी क्रान्ति र विप्लवले भनेको एकीकृत जनक्रान्तिको कार्यदिशामा उनी सहमत हुनसकेका छैनन् । अहिले व्यवस्था दलाल पूँजीवादी भएकाले नयाँ जनवादी क्रान्ति नहुने उनको निष्कर्ष छ । यस्तो व्यवस्थामा राष्ट्रिय पूँजीको विकास नहुने हुँदा पूँजीवादी क्रान्तिको सम्भावना पनि देखेका छैनन्, उनले ।

किराती माओवादी धारका कम्युनिस्ट पार्टीहरूमध्ये विश्वभक्त दुलाल ‘आहुति’को पार्टीसँग बरु अलिकति भए पनि सहमत छन् । आहुतिहरूलाई उनले सबभन्दा नजिकको मित्र शक्ति नै भनेका छन् । ‘आहुतिजीको जमर्को सशक्त छ । उहाँले भनेको कुरामा आधाभन्दा बढी नयाँ चिज नै छ । तर, भुईं छाड्ने हुन् कि भन्ने डर छ’ उनी भन्छन्, ‘मार्क्सवादमा उत्पादन शक्ति मुख्य हुन्छ । त्यसमा प्रविधि र मानवको भूमिकाका विषयमा हाम्रो कुरा मिलेको छैन ।’

आगामी निर्वाचनमा प्रचण्ड र बाबुराम एउटै चिहृन लिएर लड्ने भएपछि माओवादी समर्थितहरूमा खुसी सञ्चार भएको देखिन्छ । तर, किराती त्यसलाई प्रचण्ड-बाबुरामले मञ्चन गरिरहेको नाटक भन्छन् । ‘दुवै अयोग्य नेता हुन् । लेनिनको शब्दमा प्रचण्ड-बाबुरामसँगै वैद्यले पनि नेपाली जनतामा खेलबाड गरेका छन्’ उनी भन्छन्, ‘चाँडै यसको पटाक्षेप हुन्छ ।’

किरातीले जनसंख्या भनेको लोकतन्त्रको निर्णायक आधार हो । त्यसैले, जनसंख्याकै आधारमा प्रतिनिधित्व हुनुपर्ने किराती बताउँछन् । त्यसलाई उनले ‘समाजवादी निर्वाचन प्रणाली’ भनेका छन्

उनले प्रचण्ड-बाबुरामले एउटै चिहृन लिएर चुनाव लड्ने घोषणालाई विदेशी-प्रजातान्त्रिक समाजवादको नेपाली मतियार र भ्रष्टहरूको मोर्चा भएको आरोप लगाएका छन् ।

‘व्यक्तिवादी निर्वाचन प्रणाली’मा हस्तक्षेप गर्न सक्ने नभएसम्म बहिष्कार

स्थानीय निर्वाचन सम्पन्न भएसँगै राजनीतिक दलहरू आगामी ४ मंसिरका लागि तोकिएको संघ र प्रदेश सभाको निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी गर्दैछन् ।

अस्तित्वमा रहेका अधिकांश दल गठबन्धन बनाउने, पार्टीभित्र जिम्मेवारी बाँडफाँट र कार्य विभाजन गरिरहेका छन् ।

कुनै समय माओवादीभित्र हस्तक्षेपकारी भूमिकामा देखिने किराती र उनी नेतृत्वको पार्टीलाई भने न यसअघिको स्थानीय निर्वाचनले छोयो न त आउने संघ र प्रदेश सभाको निर्वाचनसँग नै चासो छ ।

किरातीलाई ‘व्यक्ति पहिलो हुनेले जित्ने’ निर्वाचन प्रणालीले आम नागरिकको प्रतिनिधित्व गर्दैन भन्ने लागेको छ । यो निर्वाचन पद्धति फेर्नुपर्ने र जनसंख्याका आधारमा किसान तथा मजदुरको प्रतिनिधित्वलाई सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ ।

प्रक्रिया पुर्‍याएर निर्वाचन आयोगमा दल दर्ता गरेको भए पनि अहिलेकै व्यवस्थामा हस्तक्षेप सम्भव नदेखेका उनी निर्वाचनमा सहभागी नहुने बताउँछन् ।

‘अहिले वडा सदस्य जित्न लाखौं र सांसद जित्न करोडौं खर्च भइरहेको भनेर मुख्य दलकै नेताहरू भनिरहेका छन्’ उनी भन्छन्, ‘यस्तो दलाल पूँजीवादी व्यवस्थाको चुनाव प्रणालीमा सहभागी नहुने हाम्रो पार्टीको लाइन हो । यसमा हस्तक्षेप गर्न सकिने अवस्था बनेपछि मात्र हामी चुनावमा भाग लिन्छौं ।’

२००७ सालमा प्रजातन्त्र आएपछि नेपाली कांग्रेसले भनेको प्रजातान्त्रिक समाजवादलाई आधार बनाएर काठमाडौंमा गरिएको निर्वाचन प्रणाली नै अहिलेसम्म कायम रहेको उनी बताउँछन् । त्यो प्रणालीलाई निर्दलीय व्यवस्थामा राजाहरूले, प्रजातन्त्र पुनर्स्थापनापछि कांग्रेस-एमालेले अनि गणतन्त्रमा प्रचण्ड-बाबुरामहरूले पनि पछयाइरहेको उनको तर्क छ ।

उनका अनुसार, केही हजार भोट ल्याएर पहिलो हुने व्यक्तिले लाखौं मतदाताको प्रतिनिधित्व गर्न नसक्ने हुनाले अहिलेको चुनाव ‘राष्ट्रिय चरित्र विरोधी’ छ । जनसंख्यालाई आधार बनाएर प्रतिनिधि चुन्ने/चुनिने व्यवस्था गर्नुपर्ने किरातीको प्रस्ताव छ ।

मार्क्सवादी विचारधारामा मूलभूत हिसाबमा भनिएको वर्गको प्रतिनिधित्व अहिले सम्भव नहुने भन्दै त्यसलाई विकास गरेर नयाँ ढंगले लागू गर्नुपर्ने उनी बताउँछन् ।

उनका अनुसार, मार्क्सवादी विचारधारमा शासक र शासित दुई वर्ग समाजमा हुन्छन् । अहिलेको समयमा किसानलाई ट्रेड युनियन महासंघ र मजदुरलाई किसान संगठनमा राखेर समस्या समाधान नहुने उनी बताउँछन् ।

त्यसका लागि मजदुर, किसान र पूँजीपति गरी तीनवटा वर्ग बनाएर त्यसैको आधारमा निर्वाचन गराउनुपर्ने किरातीको प्रस्ताव छ । ‘पूँजीपति वर्गले अहिलेको प्रतिनिधिसभालाई मजदुर र किसानविहीन बनाइदिएका छन्’ उनी भन्छन्, ‘हामी सर्वहारा वर्गले त्यसो नगरौं, सबैको हुने प्रतिनिधिसभाको निर्वाचनको व्यवस्था गरौं ।’

उनी सरकारी तथ्यांकलाई आधार मानेर नेपालमा रहेको जनसंख्याको प्रतिशतअनुसार वडादेखि संघसम्म प्रतिनिधित्व गराउनुपर्ने बताउँछन् । ‘सरकारी तथ्यांकमा ६५ प्रतिशत किसान र २० प्रतिशत मजदुर छन् । यसलाई जोडेर ८५ प्रतिशत किसान-मजदुरको प्रतिनिधित्व हुनेभयो’ उनी भन्छन्, ‘बाँकी १५ प्रतिशत पूँजीपति वर्गलाई दिऊँ । देशभक्त पूँजीपति भनेरै त्यो दिने हो । तर, अब दलालहरू पनि त्यहाँ घुस्न सक्छन् । त्यो मतदाताले विचार गर्ने कुरा हो ।’

साथै, महिला र पुरुषको ५०-५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने किरातीको मत छ । अहिले संसदमा सांसदहरूले उठाएको महिलाको ५० प्रतिशत उम्मेदवारीलाई उनी अपर्याप्त भएको टिप्पणी गर्छन् । ‘कुरा उठाउनुभएको छ, तर त्यसबाट हुनेवाला केही छैन’ उनी भन्छन्, ‘यो संसदले त्यस्तो व्यवस्था गरेछ भने पनि उम्मेदवार ५० प्रतिशत, प्रतिनिधित्व चाहिं शून्य बनाइदिन्छ । त्यसैले उम्मेदवारी होइन, ५० प्रतिशत प्रतिनिधित्व नै सुनिश्चित गर्नुपर्छ ।’

उनको भनाइमा, जनसंख्या भनेको लोकतन्त्रको निर्णायक आधार हो । त्यसैले, जनसंख्याकै आधारमा प्रतिनिधित्व हुनुपर्ने किराती बताउँछन् । त्यसलाई उनले ‘समाजवादी निर्वाचन प्रणाली’ भनेका छन् । ‘समाजवादी निर्वाचन प्रणाली लागू भयो भने पुराना पार्टी र तिनका नेताहरूबाट मुक्ति मिल्छ’, उनी भन्छन् ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?