+
+

वैवाहिक अंगीकृतमा ७ वर्षे प्रावधान राख्ने प्रस्ताव मेरै हो : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १३ गते १७:५६

१३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैवाहिक अंगीकृत नागरिकताका लागि ७ वर्षे समयसीमा राख्ने प्रस्ताव आफ्नो भएको दाबी गरेका छन् ।

राज्यव्यवस्था समितिमा सहमति नजुटेपछि बहुमतबाट निर्णय गर्दा पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नमानेका कारण संसदको पूर्ण बैठकमा  ७ वर्षे प्रावधानसहितको विधेयक पेश नै हुन नसकेको उनले बताए । सोमबार राजधानीमा आयोजित पार्टीको कार्यक्रममा प्रचण्डले भने ‘राज्य व्यवस्थामा शशी श्रेष्ठ सभापति भएको बेला वैवाहिक अंगीकृतको सवालमा ७ वर्षे प्रावधान राख्नुपर्छ भनेर जोड गरेको हामीले हो ।’

उनले अघि भने, ‘म पनि राज्य व्यवस्थामा थिएँ । मैले भनेको हो, भारत र नेपालको बराबरी गर्नु रामो हुन्छ ।’ त्यसबेला तत्कालीन एमालेबाट आएका नेताहरु समेत विभाजित देखिएको भन्दै उनले भने, ‘केही हाम्रो पक्षमा आए, केही रिजर्ब बसे । कांग्रेस र अन्य (दल) सहमति भएनन् । सर्वसम्मत हुन नसकेपछि बहुमतले पारित गर्‍यौं । त्यो माओादी केन्द्रले जोड गरेर राखेको प्रावधान हो, अरुले होइन ।’

राज्य व्यवस्थाले बहुमतका साथ पास गरेको प्रतिवेदन संसदको पूर्ण बैठकमा लैजान आफू र श्रेष्ठले पटक-पटक ओलीलाई आग्रह गर्दा पनि नमानेको उनले बताए । ‘पटक-पटक जोड गर्‍यौं, तर सहमत भएनन्’, प्रचण्डले भने, ‘अन्तिममा संसद विघटन गरेर अध्यादेश ल्याए । अध्यादेश के ल्याए, अहिले गठबन्धनले जे ल्याएको छ, त्यही ल्याए ।’ ९ जेठ २०७९ मा ओली सरकारले वैवाहिक अंगीकृत हटाएर अध्यादेश ल्याएको प्रचण्डले बताए ।

उनले ७ वर्ष समयसीमा राख्ने अडान छाडेर नागरिकता विधेयक ल्याउन माओवादी किन तयार भयो भन्ने स्पष्टीकरण समेत दिएका छन् ।

७ वर्षे समयसीमाबारे सत्तारुढ गठबन्धनमा सहमति नभएको र त्यही कारण विधेयक नआउँदा नेपाली आमाबाबुबाट जन्मिएका ६/७ लाख नागरिकले नागरिकता नपाउने स्थिति बनेको उनले बताए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘यदि त्यसो नगर्ने (विधेयक नल्याउने) हो भने ६/७ लाखले नागरिकता नपाउने, भए, जागिर खान नपाउने भए, विदेश नजान नपाउने भए । उनीहरुको हितलाई प्राथमिकता दियौं ।’

साथै यो विधेयक ल्याउने क्रममा सरकारलाई वैवाहिक अंगीकत नागरिकताबारे छिट्टै अर्को विधेयक ल्याउन सहमत गराएको उनको दाबी छ । ‘सरकारले वैवाहिक अंगीकृत वाला पनि राजनीतिक सहमति जुटाएर ल्याउँछौं भनेर कमिटमेन्ट गरेका कारण हामीले सहमति गरेका हौं’ उनले भने ।

तर विगतमा ७ वर्षे समयसीमा राख्न नमानेका एमाले अध्यक्ष केपी ओलीले नाकाबन्दीको बेलामा जस्तै भोट आउँछ भनेर वैवाहिक अंगीकृतको मुद्दा उचालेको प्रचण्डले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?