+
+

प्रत्यक्ष चुनाव लड्न चाहने माओवादी महिला नेतालाई ठूला नेताको छेकबार

२०७४ मा माओवादीले समानुपातिकमा पाएको १७ सिटमा पठाइएका अधिकांश सिनियर महिला नेता थिए । उनीहरुले अब प्रत्यक्ष चुनाव लड्न पाउनुपर्ने माग गरेका छन् । तर चुनावी क्षेत्रको संकट भने उनीहरूलाई छ ।

रामकुमार डिसी रामकुमार डिसी
२०७९ भदौ १५ गते ९:२५

१५ भदौ, काठमाडौं । समानुपातिक सांसदलाई नदोहोर्‍याउने नेपाली कांग्रेस र नेकपा एमालेको निर्णयले संसदको तेस्रो दल नेकपा माओवादी केन्द्र दबाबमा छ ।

माओवादीले पनि नदोहोर्‍याउने औपचारिक निर्णय गरेमा १७ सांसद फेरि समानुपातिकमा बस्न पाउने छैनन् ।

२०७४ को चुनावमा नेकपा एमालेसँग तालमेल गरेको माओवादीले समानुपातिकमा पाएको १७ सिटमा पठाइएका अधिकांश सिनियर महिला नेता थिए । उनीहरुमध्ये केही हालै मात्र स्थायी समितिमा परेका छन् । र, एक पटक प्रत्यक्ष चुनाव जितेकाहरू पनि छन् । उनीहरुले अब प्रत्यक्ष चुनाव लड्न पाउनुपर्ने माग गरेका छन् । तर चुनावी क्षेत्रको संकट भने उनीहरूलाई छ ।

गठबन्धनका कारण धेरैका क्षेत्रमा अरु दलको बलियो दाबी छ । माओवादीले पाइहालेका क्षेत्रमा पनि आफ्नै पार्टीकै ठूला नेताहरुको छेकबार छ ।

ओनसरी घर्ती

पूर्वसभामुख समेत रहेकी ओनसरी घर्तीमगर २०६४ मा समानुपातिकबाट संविधानसभा सदस्य बनेकी थिइन् । २०७० को दोस्रो संविधानसभामा रोल्पा-२ बाट चुनाव जितेकी उनी २०७४ मा भने पुनः समानुपातिकबाटै आइन् ।

घर्ती महिला भनेका समानुपातिकका लागि मात्र हुन् भन्ने मनोविज्ञान निर्माण भएको भन्दै चिन्ता प्रकट गर्छिन् । ‘राजनीतिक पार्टीहरूमा महिलाले आफ्नो पकड निर्वाचन क्षेत्र बनाउन सक्दैनन् भन्ने पनि छ’ उनी भन्छन्, ‘महिला भनेका समानुपातिकका लागि मात्र हुन् भन्ने मनोविज्ञान निर्माण भएको छ ।’

प्रत्यक्षमा महिलाको प्रयाप्त उम्मेदवारी हुने अवस्था बनाउनुपर्नेमा उनको जोड छ । तर उनी आफैं उम्मेदवार बन्न चाहँदा कहाँबाट लड्ने भन्ने प्रश्न उनीसामु आउने छ ।

एउटा मात्रै क्षेत्र रहेको रोल्पामा उनका पति वर्षमान पुन २०७४ मा निर्वाचित भएका थिए । यसपटक पनि पुनले नै उक्त क्षेत्रबाट चुनाव लड्ने सम्भावना छ ।

धर्मशिला चापागाईं

पहिलो संविधानसभा चुनावमा झापा-४ बाट निर्वाचित धर्मशिला चापागाईं २०७४ मै प्रत्यक्ष चुनाव लड्न चाहेकी थिइन् । तर वाम गठबन्धनको भागबण्डामा झापा-२ एमालेले पायो । उनी समानुपतिकमा बसिन् र सांसद पनि भइन् ।

‘मैले २०७४ मा बस्दिनँ, मलाई मेरो झापा-२ दिनुस् भनेकी हुँ’ उनले भनिन्, ‘अध्यक्षलाई पनि भनेकी थिएँ-मेरो नेचर भनेको प्रत्यक्ष लड्ने हो, म जत्तिको मान्छे समानुपातिकमा जान हुँदैन ।’

उनी यो पटक प्रत्यक्ष चुनाव लड्न चाहन्छिन्, तर चुनाव खर्चले पिरोल्ने गरेको उनले सुनाइन् । भन्छिन्, ‘हामी जस्तो कृषि पृष्ठभूमिबाट आएको चुनावमा करौंडौं खर्च गरेर कसरी लड्नु ? मैले पहिलेदेखि नै भन्दै आएकी हो, चुनाव जनताको खर्चमा जित्नुपर्छ । त्यसो भयो भने जनताको लगानी ममाथि हुन्छ र मैले भ्रष्टाचार गर्न पर्दैन ।’

उनी प्रत्यक्षतर्फ चुनाव लड्ने/नलड्ने टुंगो लाग्नुअघि सत्तारुढ गठबन्धनको भागबण्डामा झापा २ कुन दलले पाउँछ भन्ने टुंगिनुपर्छ । झापा २ मा कांग्रेसको पनि दाबी छ ।

रेखा शर्मा

२०७० र २०७४ मा समानुपातिक सांसद बनेकी रेखा शर्मा यसपटक जसरी पनि प्रत्यक्ष चुनाव लड्न चाहन्छिन् ।

शर्माको क्षेत्र दाङ-२ हो, जहाँबाट माओवादीकै उपाध्यक्ष कृष्णबहादुर महरा चुनाव लड्दै आएका छन् । महरा चुनाव लड्न नचाहेको खण्डमा मात्रै शर्माले पाउने अवस्था हुनसक्छ । ‘यसपालि प्रत्यक्ष चुनाव लड्ने हो,’ शर्मा भन्छिन्, ‘प्रत्यक्षको टिकटका लागि मेरो दाबी छ । टिकट पाए प्रत्यक्ष लड्ने हो, नपाए त्यतिकै बस्ने हो ।’

अमृता थापामगर

२०६४ र २०७४ मा गरी दुई पटक समानुपातिक सांसद बनेकी थापा यसपालि प्रत्यक्ष चुनाव लड्न चाहन्छिन् । भन्छिन्, ‘प्रत्यक्षमा ५० प्रतिशत महिला उम्मेदवार उठाउन जरुरी छ भनेर हामीले संसदमै सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छौं । त्यसैले म यसपालि प्रत्यक्ष लड्ने हो ।’

थापाको क्षेत्र स्याङ्जा-१ हो । २०७४ मा वाम गठबन्धनको भागबण्डामा जिल्लाका दुवै क्षेत्र एमालेको भागमा परेको थियो । यसपटक कांग्रेससँग गठबन्धन गर्ने तयारी छ र दुबै क्षेत्रमा कांग्रेसका प्रभावशाली नेताहरुको दाबी छ ।

पूर्णाकुमारी सुवेदी

पूर्व उपसभामुख समेत रहेकी पूर्णाकुमारी सुवेदी २०६४ मा बाँके-४ बाट निर्वाचित भएकी थिइन् । निर्वाचन क्षेत्र बाँके-२ एमालेले पाएका कारण उनी २०७४ मा समानुपातिक सांसद बनेकी थिइन् ।

आफूले फेरि पनि प्रत्यक्षमै चुनाव लड्न चाहे पनि पार्टीको निर्णय कुरिरहेको बताउँछिन् । ‘मैले व्यक्तिगत रुपमा यसो गर्छु भन्दा राम्रो सन्देश नजाला तर, पनि पछि हट्न हुन्न भन्ने छ,’ सुवेदी भन्छिन् ।

पार्टीका वरिष्ठ महिला नेताहरु प्रत्यक्षमा चुनाव लड्न चाहनु स्वभाविक भएको उनको भनाइ छ । गठबन्धनबाट बाँके-२ माओवादीले पाउने कुराको कुनै टुंगो छैन । त्यसैले सुवेदी चुनाव लड्न चाहे पनि निर्वाचन क्षेत्रको संकट छ ।

अन्जना विशंखे

२०६३ मा अन्तरिम व्यवस्थापिका संसद सदस्य रहेकी अन्जना विशंखे २०७४ मा समानुपातिक सांसद बनिन् । ‘यसपालि म प्रत्यक्ष चुनाव लड्ने हो’ विशंखे भन्छिन्, ‘हामीलाई जसरी पनि टिकट दिनुपर्‍यो, आफ्नो ठाउँमा दिनुपर्‍यो भन्ने मेरो जबरजस्त माग छ ।’

उनको दाबी काठमाडौं क्षेत्र नम्बर १० मा छ । २०७४ मा वाम गठबन्धनको भागबण्डामा यो क्षेत्र माओवादीले पाएको थियो । माओवादीबाट उम्मेदवार बनेका हितमान शाक्य कांग्रेसका राजेन्द्रकुमार केसीसँग पराजित भएका थिए ।

यसपालि उक्त क्षेत्र माओवादीले पाउने निश्चित छैन । विशंखे काठमाडौंका अन्य क्षेत्रभन्दा १० नं. मा माओवादीको बढी भोट भएकाले त्यही पाउनुपर्ने दाबी गर्छिन् । ‘काठमाडौंभरि माओवादीको अलि बढी भोट भएको काठमाडौं-१० मै हो’ उनको भनाइ छ, ‘विगतमा भोटको संरक्षण गर्न नसकेर हारिएको हो ।’

जयपुरी घर्ती

जयपुरी घर्ती पहिलोपटक २०६४ मा रोल्पा-१ बाट निर्वाचित भएकी थिइन् । २०६७ मा महिला बालबालिका मन्त्रीसमेत भएकी घर्ती २०७० चुनावका बेला भने बहिस्कार अभियानमा थिइन् । त्यसपछि पुनः माओवादीमै फर्किएकी घर्ती २०७४ मा समानुपातिक सांसद बनिन् । चुनावबारे उनले केही बोलेकी छैनन् ।

उनले प्रत्यक्ष चुनाव लड्न चाहँदा पनि रोल्पामा अरु पनि दाबेदार भएकाले सहज देखिएको छैन ।

शशी श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ २०७४ मा समानुपातिक सांसद बनेकी थिइन् । उनी फेरि समानुपातिकमा दोहोरिने पक्षमा छैनिन् । ‘समानुपातिकमा दोहोर्‍याउनु हुन्न भन्ने मेरो मत छ’ उनले भनिन्, ‘समानुपातिक भनेको महिलाको लागि भनेर छुट्टाएको विषय होइन नि ।’

उनको चुनावी क्षेत्र भने काठमाडौं-२ हो । तर उनले प्रत्यक्ष चुनाव लड्ने/नलड्ने केही बताएकी छैनन् । ‘अहिले मैले केही सोचेकी छैन’ पार्टीको निर्णय अनुसार अघि बढ्ने भन्दै उनले भनिन्, ‘देशको आवश्यकता जस्तो हुन्छ, त्यही अनुसारले गर्ने हो ।’

सत्या पहाडी

सत्या पहाडी २०६४ मा समानुपातिकबाट संविधान सभा सदस्य बनेकी थिइन् । २०६७ मा शान्ति तथा पुनर्निर्माण मन्त्री बनेकी पहाडी २०७४ मा पनि समानुपातिक सांसद बनिन् । उनले पनि यसपालि प्रत्यक्ष चुनाव लड्न चाहेकी छिन् । उनको चुनाव क्षेत्र डोल्पा हो ।

एक मात्रै क्षेत्र रहेको डोल्पामा अघिल्लो पटक माओवादीले एमालेलाई छाडेको थियो ।

यशोदा सुवेदी गुरुङ

यशोदा सुवेदी २०६४ र २०७४ मा गरि दुई पटक समानुपातिक सांसद बनिसकेकी छिन् । सुवेदी आफ्नो चाहना प्रत्यक्ष नै लड्ने भएको बताउँछिन् । ‘मेरो व्यक्तिगत निर्णय अघिल्लो पटक पनि समानुपातिक नदोहोर्‍याउ भन्ने थियो’ उनले भनेकी छन्, ‘पार्टीले आवश्यक ठान्छ भने हामी जत्तिका सिनियर नेताहरुलाई प्रत्यक्ष चुनाव लडाउनुपर्छ । प्रत्यक्षमै जानुपर्छ भन्ने मेरो मत पनि हो ।’

उनले आफ्नो जन्मथलो दाङ वा कर्मथलो गण्डकी प्रदेशमध्ये एक ठाउँमा चुनाव लड्न चाहेको बताइन् । कर्मथलोका हिसाबले उनको क्षेत्र मनाङ हुनेछ । अघिल्लो चुनावमा एमालेले पाएको यो क्षेत्र कसले लिन्छ भन्ने टुंगो छैन ।

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?