+
+

मोरङ ४ मा माओवादीका मोदीले थाले घरदैलो, कांग्रेसका ३ दाबेदार

हरि अधिकारी हरि अधिकारी
२०७९ भदौ १५ गते ९:५५
वायाँबाट क्रमशः – नेकपा माओवादी केन्द्रका अमनलाल मोदी, नेपाली कांग्रेसका महेश आचार्य, गुरु घिमिरे र भीम पराजुली ।

१५ भदौ, विराटनगर । मंसिर ४ गतेका लागि तोकिएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा मोरङको क्षेत्र नम्बर ४ मा सत्तारुढ गठबन्धनका दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्रले दाबी गरेका छन् ।

माओवादीबाट एक्लो दाबेदार अमनलाल मोदीले भने चुनावी अभियान सुरु गरिसकेका छन् । कांग्रेसबाट तीन जना दाबेदार भएकाले टिकट कसले पाउला भन्ने चासो छ ।

गत चुनावमा माओवादी केन्द्रबाट अमनलाल मोदी यो क्षेत्रबाट विजयी भएका थिए । मोदीसँग पराजित कांग्रेस उम्मेदवार महेश आचार्यसहित कांग्रेसकै गुरुराज घिमिरे र भीम पराजुली पनि टिकटको दाबेदार छन् ।

फेरि पनि दोहोरिने पक्षमा रहेका मोदीले क्षेत्र नम्बर ४ मा चुनावको तयारीका लागि कार्यकर्ता भेटघाट सुरु गरिसकेका छन् । ‘पहिले पनि चुनाव जितेका कारण मेरो दाबी स्वाभाविक हो,’ मोदी भन्छन्, ‘म चुनावी अभियानमा छु, जनतासँग छु ।’

नेपाली कांग्रेसका नेता आचार्य पनि पार्टीका कार्यक्रमहरुमा सहभागी भइरहेका छन् । तर मोदी जस्तो सक्रिय देखिंदैनन् ।

२०७४ सालको निर्वाचनमा एमाले र माओवादी गठबन्धनबाट माओवादी उम्मेदवार अमनलाल मोदी ३३ हजार ५ सय २९ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी महेश आचार्यले २६ हजार ८ सय मत प्राप्त गरेका थिए ।

माओवादीको जनाधार बलियो भएका कारण टिकट आफूले पाउनुपर्ने मोदीको भनाइ छ । तर नेपाली कांग्रेस मोरङ सचिव मोदराज घिमिरे क्षेत्र नम्बर ४ मा माओवादीको तुलनामा कांग्रेस बलियो भएको बताउँछन् । तालमेल गर्दा केन्द्रले मतदाताको भावना अनुसार गर्नुपर्ने उनको भनाइ छ ।

२०७४ सालको निर्वाचनमा मोरङका ६ मध्ये एमालेले ३, माओवादीले २ र कांग्रेसले एउटा क्षेत्र जितेका थिए । मंसिर ४ का लागि माओवादी केन्द्रले मोरङका दुई वटा क्षेत्र दाबी गरिरहेको छ । माओवादी केन्द्र प्रदेश १ का सचिव गणेश उप्रेतीका अनुसार २०७४ सालमा माओवादीले जितेको क्षेत्र नम्बर ४ र ५ मा माओवादीको दाबी छ । प्रदेश तर्फ ५ वटा क्षेत्र माओवादीले पाउनुपर्ने उनको दाबी छ । ‘स्वभाविक रुपमा हिजो जितेको क्षेत्रमा दाबी रहन्छ,’ उनले भने, ‘हिजो जितेको मोरङको क्षेत्र नम्बर ४ र ५ हो, त्यहाँ नभए अन्य क्षेत्रमा पनि सहमति हुनसक्छ ।’

तर प्रतिनिधिसभाका दुवै क्षेत्र छाड्नलाई नेपाली कांग्रेसले मानिरहेको छैन । क्षेत्र नम्बर ५ मा कांग्रेसबाट अमृत अर्याल दाबेदार छन् । क्षेत्र नम्बर ५ मा माओवादीबाट शिवकुमार मण्डल पनि दाबेदार छन् । २०७४ सालको निर्वाचनमा मण्डलले नै अर्याललाई पराजित गरेका थिए ।

माओवादीका शिवकुमार मण्डल र नेपाली कांग्रेसका अमृत अर्याल

पार्टी सभापति शेरबहादुर देउवा निकट रहेका अर्याल यो पटक टिकट लिने दाउमा छन् । विराटनगरको मेयरमा पनि दाबी गरेका उनले अन्तिम समयमा संघको टिकट लिने भन्दै नागेश कोइरालालाई समर्थन गरेका थिए ।

पार्टीको प्रभाव क्षेत्र रहेका दाबी गर्दै आएको जसपाले पनि क्षेत्र नम्बर ५ आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ । जसपा मोरङ अध्यक्ष राजकुमार यादवले क्षेत्र नम्बर ५ मा आफ्नो पार्टीको स्वाभाविक दाबी रहेको बताए । ‘६ वटा क्षेत्र मध्ये एउटा हामीले पाउनुपर्छ,’ उनले भने, ‘हाम्रो जनाधार भएको  क्षेत्र ५ नम्बर हो, यहाँ हाम्रो दाबी छ ।’

नेकपा एमालेले क्षेत्र नम्बर ४ मा विनोद ढकाललाई उम्मेदवार बनाउने तयारी गरेको छ । क्षेत्र नम्बर ४ मा अन्य दाबेदार नभएका कारण ढकालले टिकट पाउने लगभग निश्चित छ । एमालेले क्षेत्र नम्बर ५ मा जीवन विकास समाज लघुवित्तका संस्थापक अध्यक्ष योगेन्द्र मण्डललाई अघि सारेको छ । औपचारिक निर्णय नभए पनि उनी चुनावी अभियानमा छन् ।

गत स्थानीय तह निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ मा पर्ने वडाहरुमा एमालेले २५ हजार ७३०, नेपाली कांग्रेसले २१ हजार ८९४, माओवादी केन्द्रले ९ हजार ९९०, राप्रपाले ४ हजार ६७४, जसपाले ३ हजार ११२ र नेकपा एकीकृत समाजवादीले १ हजार २५५ मत पएका थिए ।

यसैगरी क्षेत्र नम्बर ५ मा कांग्रेसले १९ हजार ४९८, एमालेले १५ हजार ६८०, जसपाले १३ हजार २४९, माओवादी केन्द्रले  ११ हजार ६२८, राप्रपाले १ हजार ८८७, लोसपाले ७५२ र नेकपा एकीकृत समाजवादी ६०८ मत पाएका थिए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?