+
+

चर्चा साझा घोषणापत्रको, तर एक्लाएक्लै तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते २०:५३

१५ भदौ, काठमाडौं । सत्ता गठबन्धनभित्र नेपाली कांग्रेस बाहेकका दलहरु मिलेर समाजवादी केन्द्र बनाउने प्रयास सफल भएन ।

उपेन्द्र यादवको अरुची र नेकपा एकीकृत समाजवादीको झलनाथ खनाल समूहको विरोधपछि समाजवादी केन्द्र बनाउने प्रयास असफल भएको नेताहरु बताउँछन् ।

समाजवादी केन्द्र नबने पनि चुनावअघि नै नेकपा माओवादी र एकीकृत समाजवादीबीच एकताका लागि संयोजन समिति बनाउने नेताहरुले बताउने गरेका छन् ।

त्यस्तै नेकपा माओवादीको चुनाव चिह्नमा चुनाव लड्ने निर्णयमा पुगेको बाबुराम भट्टराईं नेतृत्वको नेपाल समाजवादी पार्टीसहितले साझा घोषणा पत्र बनाएर जाने समझदारी बनेको नेताहरुले बताउने गरेका छन् ।

तर, माओवादी केन्द्र, एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टी तीनवटै दल आआफ्नै तरिकाले घोषणा निर्माणमा लागेका छन् । उनीहरुले छुट्टाछुट्टै घोषणा पत्र निर्माण समिति बनाएका छन् ।

एकल तयारी

नेकपा माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा घोषणा पत्र निर्माण समिति बनाएको छ ।

सदस्यहरुमा देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, लीलामणि पोखरेल, गणेश साह, परशुराम रम्तेल, अमृता थापा हरि रोका, जाकिर हुसेन, परशुराम तामाङ, कृष्णा चौधरी, भीमा ढुंगाना र जगत शिम्खडा रहेका छन् ।

त्यस्तै एकीकृत समाजवादीले उपमहासचिवहरु प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेल रहेको समिति बनाएको छ ।

नेपाल समाजवादी पार्टीले डा. भट्टराईको संयोजकत्वमा डा. एमपी रिजाल, डा. जनक शाह, नहेन्द्र प्रधान, दुर्गादेवी भट्टराई, गजाधर सुनार र जगदेव चौधरी रहेको समिति बनाएको छ ।

एउटै बनाउन भएन बैठक

साझा घोषणा पत्रका लागि तीन दलबीच अहिलेसम्म साझा छलफल नभएको नेताहरुले बताएका छन् ।

साझा घोषणा पत्र निर्माणका लागि भन्दै माओवादीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले मंगलबार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका थिए । तर, यसबारे कुनै ठोस सहमति भएको छैन । श्रेष्ठले यसबारे छलफलमै रहेको बताए ।

घोषणा पत्र निर्माण गर्न गर्न माओवादीको बनाएको समितिको अहिलेसम्म एउटा समेत बैठक भएको छैन । समितिमा रहेका एक पदाधिकारीले अहिलेसम्म एउटा बैठक पनि नबसेको अनलाइनखबरलाई बताए ।

एकीकृत समाजवादीका उपमहासचिव बिजय पौडेलले घोषणा पत्रको मस्यौदा बनिरहेको तर काम नसकिएको बताए । आफ्नो घोषणा पत्रमा कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता राखिने बताए । ‘हामीले स्थानीय तहको घोषणा पत्रमा धेरै विषय राखेका छौं,’ पौडेलले भने, ‘संघीय घोषणा पत्र पनि त्यसमै आधारित हुन्छ ।’

पौडेलले साझा घोषणा पत्र निर्माणमा अझै काम नभएको बताए । ‘साझा घोषणा पत्र बनाइहाल्ने विषय टुंगिएको छैन’, उनले भने, ‘खाली नेताहरु बोलेका मात्रै छन् । हामी आफ्नो तयारी गर्दै छौं ।’

साझा घोषणा पत्र बनाएर जाने सहमति भए २०७४ मा नेकपा एमाले र माओवादी केन्द्रले बनाए जस्तै हुनसक्ने बताए ।

नेपाल समाजवादी पार्टीका नेता जनक शाहले पनि साझा घोषणा पत्र निर्माणबारे माओवादीसँग अहिलेसम्म छलफल नभएको बताए । ‘माओवादीसँग यसबारे अहिलेसम्म खासै कुरा भएको छैन’, उनले भने ।

अहिले एकल रुपमा घोषणा पत्र निर्माणको काम भइरहेको भन्दै उनले २५, २६ गतेसम्म टुंगिने बताए । शाहले साझा घोषणा पत्र बनाइए पनि नेपाल समाजवादी पार्टीको छुट्टै घोषणा पत्र समेत चुनाव लिएर जाने बताए ।

‘अहिले हाम्रो पार्टीको अलग घोषणा पत्र पनि बन्छ’, शाहले भने, ‘र, त्योमध्यबाट साझा घोषणा पत्र पनि बन्छ । र, चुनावमा जाँदा अलग घोषणा पत्र पनि हुन्छ । चुनावमा दुईवटै लिएर जाने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?