+
+

आरजुका दुःख : पुष्करनाथले साथ नदिई जितिन्न, उनी टसमस छैनन्

जनक विष्ट जनक विष्ट
२०७९ भदौ १५ गते २२:३२

१५ भदौ, धनगढी । प्रधानमन्त्री पत्नी आरजु देउवा कैलालीबाट आउने नेपाली कांग्रेसका नेता कार्यकर्तालाई सोधिरहन्छिन्, कैलाली ५ तिर के छ ? उनी पुष्करनाथ ओझाको कुरा गर्न छुटाउँदिनन् । किनकी आरजु आसन्न प्रतिनिधिसभा चुनावमा कैलाली– ५ मा उम्मेदवारी दिन चाहन्छिन्, पुष्करनाथको साथ नभए चुनाव जित्न सहज छैन ।

कांग्रेस नेताहरुका अनुसार बालुवाटारले केही समयअघि पुष्करनाथसँग सम्वाद गर्न खोजेको पनि थियो । कैलाली ४ बाट प्रतिनिधिसभा चुनाव लड्ने, समानुपातिकतर्फ बस्ने, प्रदेश सभामा जाने वा केन्द्रीय सदस्य हुने सबै विकल्पमा बालुवाटार तयार पनि छ । तर पुष्करनाथ कुनै विकल्प मान्न तयार छैनन् । त्यसैले प्रश्न गर्छन्, त्यही अडानमा छन् भने सम्वाद गरेर के गर्ने ?

कैलालीका कांग्रेस नेता कार्यकर्ता भन्छन्, पुष्करनाथलाई नमिलाई चुनाव जित्न पनि सहज छैन । उनीहरु ३० वैशाखमा भएको स्थानीय चुनावको हिसाब सुनाउँछन् र भन्छन्, ‘धनगढी उपमहानरपालिकामा हाम्रो भोट २२/२३ हजार हो, तर मेयरका उम्मेदवार नृप वडले मुस्किलले हाम्रो ४/५ हजार मात्र पाए ।’

कांग्रेस सत्तारुढ दलहरुसँग गठबन्धनको प्रयासमा छ, तर स्थानीय चुनावले नै कैलालीमा यो पनि असफल देखाएको छ । तालमेल गरेर लड्दा लम्कीचुहामा कांग्रेसले मेयर जित्यो, तर माओवादी केन्द्रले उपमेयर गुमायो । टीकापुर, मोहनन्याय लगायतका पालिकामा पनि यस्तै भयो ।

आरजु कैलाली ५ नछाड्ने, पुष्करनाथले समर्थन नगर्ने अवस्था कायम राखिराख्दा चुनावी परिणाममै असर गर्ने भएपछि कांग्रेस, कैलालीका नेताहरु अप्ठेरोमा परेका छन् । उनीहरुले पार्टी सभापति शेरबहादुर देउवासँग सम्वादका लागि पहल गरौं भनेर पुष्करनाथलाई सोधेका थिए । तर उनले मुखभरी जवाफ फर्काए, शेरबहादुर देउवालाई मैले पनि चिनेको छु, उनले पनि मलाई चिनेका छन् ।’

उनको मुड बझेपछि उनीहरु आफैं पुष्करनाथ ओझासँग सम्वाद गर्न अघि सारे । मंगलबार कैलाली जिल्ला कमिटीका सचिव नृपबहादुर सुनारले फोन गरे, पुष्करनाथले बुधबार विहान आए भेट हुने बताए ।


बुधबार कैलाली जिल्ला सभापति नारायणदत्त भट्ट, कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमेयर नृप वड, प्रदेश सरकारका मन्त्री टेकबहादुर रोका, प्रदेश कमिटीका कोषाध्यक्ष उत्तम कठायत, गोदावरीका मेयर वीरेन्द्र भट्ट लगायतका नेताहरु पुगे र आसन्न चुनावमा पार्टीलाई एकढिक्का बनाउनुपर्ने बताए ।

पूर्वसांसद पुष्करनाथले फरक मत राखेनन् । साथै दलीय व्यवस्था हुनुपर्छ भनेर कांग्रेसमा लागेको र कांग्रेस आफ्नो घर भएकाले त्यहीबाट चुनाव लड्न चाहेको बताए ।

आरजुले पनि यही क्षेत्रबाट चुनाव लड्न चाहेको बुझेका उनले हिजो गिरिजाप्रसाद कोइरालाले छोरी (सुजाता) र स्थानीय चुनावमा प्रकाशमान सिंहले पत्नी (सृजना)लाई अघि सार्दा देशभर कांग्रेसको भोट घटेको चर्चा गर्दै भनिदिए, ‘प्रधानमन्त्री र प्रधानमन्त्री पत्नी एउटै चुनाव लड्ने प्रचलन लोकतन्त्रमा छैन ।’

उनले भेट्न  आएका कांग्रेसका जिल्लानेताहरू यो पनि भनिदिए कि यो पालि पनि चुनाव लडिनँ भने चुनावको राजनीति गर्दिनँ ।

उनी २०७४ मा टिकटका दावेदार थिए ।  कांग्रेसले उनको साटो आरजुलाई टिकट दिएको थियो । आफूले टिकट नपाएपछि उनले खुलेर सहयोग गरेनन्, आरजु, नेकपा एमालेका उम्मेदवार नारदमुनि रानासँग पराजित भए । अब यो पटक आफूले नलड्ने यो क्षेत्रमा आरजु मात्र होइन, उनका छोरा चुनाव लड्न आउने र स्थानीय नेता कार्यकर्ताले कहिल्यै अवसर नपाउने उनको बुझाइ छ ।

बुधबार भएको भेटमा सहभागी एक नेता भन्छन्, आजको सम्वाद सुन्दा उहाँ विश्वास गरेर टिकट दिए पार्टीबाटै, नभए स्वतन्त्र भएपनि चुनाव लड्ने देखियो । उहाँले लड्नुभयो भने चुनाव जित्न (आरजु)लाई गाह्रो छ ।’

कांग्रेसका कैलाली सभापति भट्ट पनि पार्टीमा एकता कायम गर्न आफू ओझाकहाँ गएको बताए । कैलाली ५ बाट आरजु नै उम्मेदवार बन्ने निश्चित रहेको भन्दै उनले अनलाइनखबरसँग भनेका छन्, ‘मिलेर जाउँ भन्ने निवेदन गर्न गएको हुँ, मेरो निवेदनले काम गर्यो गरेन चाहिँ थाहा भएन ।’

घर किनिन्, तर मन जितेकी छैनन्

२०७४ को चुनावमा प्रत्यक्ष लड्दा टुरिस्ट उम्मेदवारको आरोप लागेपछि आरजुले चुनाव क्षेत्रमा घर नै किनेकी छन् । कांग्रेस नेताहरुका अनुसार अहिले पनि देउवा र आरजु सुदूरपश्चिम जाँदा त्यही घरमा बस्छन्फ नेता कार्यकर्तासँग भेटघाट गर्छन् ।

तर मतदाताले अझै पनि उनलाई आफ्नो जनप्रतिनिधि होस् भनेर स्वीकार गरेका छैनन् । ‘मेरो सांसदले टेलिफोन उठाओस्, आफूलाई अप्ठ्यारो पर्दा प्रहरीमा भनिदओस्, सरुवा बढुवामा हेरोस् भन्ने चाहना हुन्छ,’ कांग्रेसका एक नेता भन्छन्, ‘उहाँले आफ्नो क्षेत्रमा आउने, मानिसहरुसँग भेटघाट गर्ने गर्नुभएको छ, तर साच्चै हाम्रो पनि पहुँच हुन्छ भन्ने विश्वास आम मानिसमा बनिसकेको छैन ।’

पार्टीमा पनि आरजुको डडेलधुरा मोहले पनि असन्तुष्टि थपेको छ । ११ फागुन २०७८ मा भएको जिल्ला अधिवेशनमा देउवा समूहबाट भट्ट सभापतिको उम्मेदवार बने । डोटीबाट झरेका प्रकाश बम र डा. शेखर कोइराला समूहबाट रामप्रसाद कलेल पनि उम्मेदवार थिए । पहिलो चरणमा कसैले पनि बहुमत ल्याएन । दोस्रो चरणमा आरजु आफैं मरिमेटेर लागेपछि भट्ट जिल्ला सभापति चुनिए । जिल्ला अधिवेशनमा आरजुको त्यो हदको संलग्नताले कांग्रेसका नेताहरुलाई रुष्ट बनाएको नेताहरु बताउँछन् ।

पुष्करनाथ उठे एमालेलाई सहज

स्थानीय निर्वाचन २०७९ मा वडाध्यक्षका उम्मेदवारहरुले पाएको मत हेर्दा कैलाली-५ मा कांग्रेस पहिलो दल हो । उसको २२ हजार बढी मत छ । एमालेको १७ हजार र माओवादी केन्द्रको ८ हजारबढी मत छ भने एकीकृत समाजवादीसँग २ हजार हाराहारी । पाँचदलीय गठबन्धन कायम रहने भने हो आरजुको पक्षमा ३२ हजार मत हुनसक्छ ।

तर यहाँ धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र पुष्करनाथ फ्याक्टर पनि छ । कांग्रेस नेताहरुका अनुसार पुष्करनाथसँग अहिले पनि ५/७ हजार मत छ र उनको पाउने धेरै मत कांग्रेस समर्थक/सुभेक्षुककै हुन् । २६ हजार ८६५ मत पाएर धनगढी उपमहानगरको मेयर चुजिएका हमालको पनि व्यक्तिगत भोट राम्रै छ ।

आसन्न प्रतिनिधिसभा चुनावमा पुष्करनाथ स्वतन्त्र उम्मेदवार बने मेयर हमालले उनलाई नै साथ दिने सम्भावना छ । स्थानीय चुनावमा आफूलाई सघाउने व्यक्तिलाई सहयोग गर्नु स्वभाविक हुने भन्दै मेयर हमाल निकट स्रोतले भन्यो, ‘राजनीतिक घटनाक्रम कसरी विकसित हुन्छ, त्यही अनुसार निर्णय लिनुहुन्छ होला ।’

जिल्ला समन्वय समितिको चुनावमा सत्ता गठबन्धनलाई सघाएका र उपमहानगरमा कांग्रेसको बहुमत भएकाले आरजुलाई समर्थन गर्ने आश कांग्रेसका कतिपय नेताको छ । मेयर हमालले भने यसबारे अहिलेसम्म केही बोलेका छैनन् ।

हमालको चुनावी कमान्डर रहेका दानबहादुर रावल हालै मात्र राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन्, जो आगामी चुनावमा उम्मेदवार बन्ने सम्भावना पनि छ । ‘मेयर साब पनि विगतमा राप्रपासँग नजिक भएका मान्छे हुन्,’ राप्रपा कैलालीका एक पदाधिकारीले भने, ‘उहाँलाई स्थानीय चुनावमा सहयोग गरेका साथीहरु अहिले हाम्रो पार्टीमाप्रवेश गर्नुभएको छ । अगामी चुनावमा हामीले उम्मेदवार उठायो भने स्वभाविक रुपमा उहाँले सहयोग गर्नुहुन्छ ।’

एमाले र राप्रपाबीच तालमेलको प्रयास पनि भइरहेको छ । दुई दलले तालमेल गर्ने र पुष्करनाथ ओझा स्वतन्त्र लड्ने हो भने सत्तारुढ गठबन्धनको साझा उम्मेदवार बन्दा पनि कैलाली ५ मा आरजुका निकै कठिन हुनेछ । ‘पुष्कर दाइले मानिहाल्नुहोला भन्नेमा शंका छ, तर शेरबहादुर देउवाले बोलाएर उन (आरजु)ले जिद्धि गरिहालिन्, एक पटकलाई तपाई बसिदिनुस् भनेर आग्रह गर्नुपर्छ,’ कैलाली कांग्रेसका एक नेता भन्छन्, ‘उहाँ (आरजु) आएर पार्टीका नेता कार्यकर्तासँग सम्वाद गर्ने, मतदातामाझ गएर फस्टलेडी भएर होइन, जनताको सेवक भएर बस्छु भनेर कन्भिन्स गर्ने हो हो भने चुनाव जित्ने सम्भावना छ । समय कम छ, तर घर्किएको चाहिँ छैन ।’

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?