+
+

७५ चित्रकारले पोते सय फिट लामो क्यानभास, शिव श्रेष्ठले पनि चलाए कुची

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १७ गते १२:१७

काठमाडौं । विभिन्न देशका डेल्फिक काउन्सिलले सेप्टेम्बर १ मा एकसाथ आयोजना गरेको एकदिने चित्रकला कार्यशाला ‘डेल्फिक आर्ट वाल कोलिसन’ नेपालमा पनि आयोजना गरिएको छ ।

गत वर्ष नेपालमा गठन भएको ‘अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिल’को नेपाल च्याप्टर ‘नेसनल डेल्फिक काउन्सिल नेपाल’को आयोजनामा बिहीबार काठमाडौंको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको हलमा कार्यशाला सम्पन्न गरिएको हो ।

उक्त कार्यशालामा आठ वर्षदेखि ७० वर्षसम्मका ७५ जना विद्यार्थी तथा पेसागत चित्रकारहरुले ५ फिट उचाइ तथा एक सय फिट लम्बाइ रहेको एउटै क्यानभासमा ‘नेपालको कला संस्कृति’ विषयमा आधारित रही विभिन्न चित्रकलाहरु तयार पारेका छन् ।

कार्यशाला उद्घाटन समारोहमा ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले विश्व शान्तिको कामना गर्दै खाली क्यानभासमा स्वयम्भूनाथ स्तुपको चित्र बनाएर कार्यशाला सुरु गरेका थिए । कार्यक्रम नेपालको लागि नौलो रहेको उनले बताए ।

चित्रकला कार्यशालामा सहभागीले एकसाथ तयार गरेको क्यानभास विभिन्न अन्तर्राष्ट्रिय कला प्रदर्शनीहरुमा नेपालको तर्फबाट प्रस्तुत गरिने आयोजक संस्था डेल्फिक काउन्सिल नेपालका अध्यक्ष श्रीदेव बीएलले बताए ।

नेशनल डेल्फिक काउन्सिल नेपालका उपाध्यक्ष जीवनकुमार पराजुलीले कला क्षेत्रमा रुचि रहेका विद्यार्थी तथा कलाकारहरुको क्षमता प्रस्फुटन गरी अन्तर्राष्ट्रिय रुपमा नै पहिचान प्राप्त गर्ने एक खुड्किलोको रुपमा चित्रकला कार्यशालालाई लिएको बताए । उनले नेपालको कला-संस्कृतिको विषयमा आधारित रहेर चित्रकलामार्फत नेपालको कला-संस्कृतिको विरासतलाई विश्वव्यापी बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

नेसनल डेल्फिक काउन्सिल नेपालका सचिव सूर्यबहादुर रास्कोटीले कला-संस्कृति नेपालको सुन्दर धरोहर रहेको र यसलाई विश्वमाझ चिनाउने उद्देश्यले कार्यशाला आयोजना गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?